लभ स्टेसनमा जसिता र प्रदीप

काठमाडौं । पारिवारिक प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेसन’ बन्ने भएको छ । ‘लिली बिली’ को जोडी प्रदीप खड्का र जसिता गुरुङ फेरि जोडी बनेर यस चलचित्रमार्फत दर्शकमाझ आउने भएका छन् ।

उज्ज्वल घिमिरेले निर्देशन गर्ने यो चलचित्रको आगामी ५ असोजबाट दार्जिलिङबाट छायांकन सुरु गरिँदै छ । कलाकार चयनसँगै निर्माण पक्षले यसको कलाकार सूची सार्वजनिक गरेको हो ।

लभ स्टेसनमा प्रदीप र जसितासँगै अभिनेता सरोज खनाल, अभिनेत्री निरुता सिंह, मिस सिलगुढी श्रद्धा क्षेत्री, प्रकाश शाह लगायतका कलाकार चयन भएका छन् ।

निर्देशक घिमिरेका अनुसार ठाउँको नामको आधारमा चलचित्रको नाम लभ स्टेसन राखिएको हो । उनले भने, ‘चलचित्रको कथामा प्रदीप र जसिताको जोडी सही देखिने भएकाले नै फिल्म गर्न तयार भएको हुँ ।’ चलचित्रको कथा उज्ज्वलकै हो । यसलाई उनले आफ्नो ड्रिम्स प्रोजेक्ट भनेका छन् । उनले थपे, ‘पारिवारिक तथा सामाजिक विषयलाई लिएर मैले फिल्म बनाउन लागेको हुँ । यसले दर्शकलाई भिन्न स्वाद दिनेमा आशावादी छु ।’

यस्तै, अभिनेता प्रदीपले चलचित्रको स्क्रिप्ट साह्रै राम्रो पाएको र सिनियर निर्देशकसँग काम गर्न पाउँदा साह्रै खुसी लागेको बताए । आफू चलचित्रमा काम गर्न निकै उत्साहित भएको बताउँदै उनले भने, ‘यो पारिवारिक प्रेमकथामा आधारित फिल्म रहेकाले विगतका सिनेमाभन्दा केही पृथक् बन्ने विश्वास लिएको छु ।’

अभिनेत्री जसिताले भनिन्, ‘नेपाली सिने जगतमा उज्ज्वल घिमिरे निकै सफल निर्देशक भएकाले उहाँसँग काम गर्ने चाहना थियो । यस चलचित्रमार्फत मेरो उक्त चाहना पूरा हुने भो ।’ काफिया फिल्म्ससँग पहिला पनि लिली बिलीमा काम गरेको र यही ब्यानरले प्रदीपसँग आफूलाई छनोट गरेको हुँदा खुसी लागेको जसिताले बताइन् ।

लभ स्टेसनका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । लिली बिली निर्माण गर्दा नै प्रदीप र जसितासँग दुईवटा सिनेमा निर्माण गर्ने सम्झौता भएबमोजिम यो चलचित्रमा पनि यी दुईलाई जोडीको रूपमा लिएको शाहीले बताए ।

चलचित्रको दार्जिलिङबाट सुरु भएर कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ । ४५ दिनमा छायांकन सक्ने र आगामी फागुनको अन्तिम साता चलचित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ ।

आलोक शुक्लाको छायांकन रहने लभ स्टेसनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेको यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

लभ स्टेसनलाई काफिया फिल्म्सको ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया