शिक्षा क्षेत्रमा बढी उजुरी

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी परेको छ । आर्थिक वर्ष ०७४-७५ मा परेका कुल उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी रहेको पाइएको हो ।

कुल १९ हजार ४ सय ८८ वटा उजुरीमध्ये तीन हजार ५ सय ७० उजुरी अर्थात् १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन् । तीमध्ये २ हजार ४ सय ९९ वटा उजुरीको आवश्यक कारबाही भइसकेको आयोगले जनाएको छ । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरीको संख्या ३ हजार ५ सय ११ छन् ।

कुल १८ दशमलव ०२ प्रतिशत उजुरी परेकोमा तीमध्ये २ हजार २ सय ८१ को सुनुवाई भएको छ । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहत निकायका उजुरीको सख्या १ हजार २ सय ६२ छन् । प्रतिशतको हिसाबमा यो सख्या ६ दशमलव ४८ प्रतिशत हो । तीमध्ये ७ सय ३३ वटा उजुरीको सुनुवाइ भएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालय मातहत निकायको ८ सय ७४ वटा उजुरी परेकोमा ६ सय ११ वटाको सुनुवाइ भएको छ । कुल उजुरीमध्ये ४ दशमलव ४८ प्रतिशत उजुरी सो मन्त्रालय मातहत निकायको रहेको जनाएको छ । आयोगका अनुसार स्वास्थ्य मन्त्रालय मातहत ८ सय ५१ उजुरी परेका छन् ।

कुल १९ हजार ४ सय ८८ वटा उजुरीमध्ये तीन हजार ५ सय ७० उजुरी अर्थात् १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन्

त्यसमध्ये ६ सय ४ उजुरीको सुनुवाइ भएको छ । गृह मन्त्रालयको ८ सय ४, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको ५ सय ५०, अर्थ मन्त्रालयको ५ सय ४ तथा अन्य निकायको ७ हजार ५ सय ६२ उजुरी परेका छन् । कुल उजुरीमध्ये १२ हजार ४ सय उजुरीको सुनुवाइ भएको छ ।

यस्तै, आव ०७४-७५ मा सेवाग्राहीको उजुरीका आधारमा ९७ वटा घुस लिएको घटनामा कर्मचारीलाई थलोमा नै पक्राउ गरिएको छ । त्यसरी थलोमा नै पक्राउ पर्नेमा तीन सहसचिव, सात उपसचिव, एक प्रहरी नायब उपरीक्षक, २२ शाखा अधिकृत, १३ इन्जिनियर तथा राजपत्र अंकित र सहायकस्तरका कर्मचारीसहित १ सय ८ कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका १९, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १८, गृह मन्त्रालयका १४, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका १०, स्वास्थ्य मन्त्रालयका ६, अर्थ मन्त्रालयका पाँच, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका पाँच, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका चार, वन तथा भू–संरक्षण मन्त्रालयका चार र अन्यका १२ कर्मचारीलाई थलोमा नै पक्राउ गरिएको छ । आर्थिक वर्ष ०७४-७५ मा प्राप्त भएका उजुरीमध्ये ६ हजार ४ सय ५८ उजुरी प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको छ भने २ सय ६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको राससको समाचारमा उल्लेख छ ।

त्यस्तै, ५ सय ४६ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ भने ५ सय ८७ लाई अन्य उजुरीमा गाभिएका छन् । यस्तै, ४ हजार ५ सय ४७ वटा उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएका छन् । यसरी कुल १२ हजार ४ सय उजुरी फस्र्योट भई बाँकी रहेका ७ हजार ८८ उजुरी भने चालु आवमा सरेर आएका छन् ।

प्रतिक्रिया