समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह विजेता बन्दै साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बंगलादेशलाई २—० गोल अन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

नेपाललाई जिताउन स्ट्राइकर विमल घर्तीमगर र नवयुग श्रेष्ठले गोल गरे । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको अन्तिम मिनेटमा एक गोल गरेको हो । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबाबमा राख्न सफल भयो ।

करिब आधा–आधा समय आ–आफ्नो पक्षमा बल पोजिसन होल्ड गर्न सफल भए पनि खेलको ३३ औँ मिनेटमा विमलको गोलबाट नेपालले अग्रता लियो । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् र गोलपोस्टमा छिरेको थियो ।

विमलले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा समेत गोल गरेका थिए । विमलको यो नेपाली टोलीका लागि आठौँ गोल हो । सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्री किक पाएको थियो ।

दोस्रो हाफमा पनि नेपालले दबाब बनाइराक्यो । ५४औँ मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।

६० मिनेटको खेल सकिएपछि नेपालले खेलाडी परिर्वतन ग¥यो । ६२औँ मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदानमा प्रवेश गरे भने कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ मैदान आए ।

दोस्रो हाफको ८०औँ मिनेटमा विमलले फेरी बल पोस्टभित्र छिराए पनि लाइन्सम्यानले झण्डा उठाएपछि रेफ्रीले उक्त गोल अफसाइड घोषित गरे । नेपालले खेलको अन्तिम समयमा अग्रता दोब्बर पारेको थियो । सुनील बलको पासमा नवयुगले नेपालको लागि दोस्रो गोल गर्दै जित पक्का गरे । उनले पहिलो बार च्यापेर हानेको बल पोस्टमा लागेर गोल भएको थियो ।

सन् २०१३ पछि नेपाल पहिलोपटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन ।

१९९३ को सार्क गोल्डकपको तेस्रो भए पनि त्यति वेला चार राष्ट्रले मात्र भाग लिएका थिए । सार्कसहित नेपालको यो १२ औँ सस्करण हो ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६–६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ । शनिबार नै भएको अर्को खेलमा पाकिस्तानले भुटानलाई ३—० गोल अन्तरले पराजित गर्न सफल भयो ।

जुन अन्तरले गर्दा पाकिस्तान उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब बुधबार सेमिफाइनलमा समूह ‘बि’ को उपविजेतासँग खेल्नेछ ।

प्रतिक्रिया