पानी उद्योगको अनुगमनमा मन्त्री

झापा । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको अनुगमन गरेका छन् ।

मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गरेका हुन् । पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएको मन्त्री घिमिरेले बताए ।

‘प्रदेश सरकार स्वच्छता र शुद्धताको अभियानमा लागेको छ,’ उनले भने, ‘सार्वजनिक शौचालय र विद्यालय सुधारको लागि अभियान पनि चलाएको छ ।’

अनुगमनका क्रममा झापाका तृष्णा, लाइफलाइन, गोर्खालगायत आधा दर्जन पानी उद्योगको नमुना संकलन गरिएको छ । संकलित नमुनाको नतिजा एक साताभित्र सार्वजनिक गरिने जनाइएको छ । अनुगमन कार्यमा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्र मिश्र, उद्योग वाणिज्य संघका प्रतिनिधि, कर्मचारी, पत्रकारको टोली सहभागी थिए ।

प्रतिक्रिया