गुलाफ बाँड्दै प्रदीप

धरान । चलचित्र ‘रोज’ को टिम यतिवेला प्रचारप्रसारका लागि देश दौडाहामा निस्किएको छ ।

कलाकार अभिनेता प्रदीप खड्का, अभिनेत्री मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हास्यकलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टोलीले आइतबार इटहरी र धरानमा कन्सर्ट गरे ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्देशन गरेको यो चलचित्रको कन्सर्टमा अभिनेता प्रदीपले स्टेजमै थुप्रै युवतीलाई गुलाफको फूल बाँडे ।

आफूलाई भेट्न आएका युवायुवतीलाई प्रदीपले स्टेजबाटै थुप्रै गुलाफको फूल र चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए । प्रदीपले लगातार केही दिनदेखि देशका विभिन्न स्थानमा गरिएको कन्सर्टभन्दा इटहरी र धरानमा अझ धेरै दर्शकको साथ मिलेको बताए ।

उनले भने, ‘म योभन्दा अघिका चलचित्रका लागि पनि यसैगरी, कन्सर्टका लागि आएको थिए, त्यतिखेर पनि दर्शकले निकै ठूलो साथ दिनुभएको थियो, आज पनि त्योभन्दा ठूलो साथ पाएँ ।’

त्यस्तै, अभिनेत्री मिरुना र परमिताले चलचित्रको विषयमा दर्शकलाई जानकारी गराएका थिए । धरान पुग्दा मिरुनालाई उनका फ्यानले विशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’ लेखेको पोस्टर लिएर उनलाई भेट्न आएका थिए ।

मिरुनाले धरानको स्टेजबाट म धरानकी चेली भनिरहँदा धरानवासीको हुटिङ खुबै सुनिन्थ्यो । गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले चलचित्र ‘रोज’ को ‘फूल हैन’ बोलको गीत गाएका थिए । यस्तै हाँस्य कलाकार दिनेश काफ्ले र सन्ध्या थापाले कार्यक्रम सञ्चालन गरेका थिए । दिनेशका कमेडी संवादले दर्शकले थप मनोरञ्जन लिइरहेका थिए ।

चलचित्र युनिट सोमबार झापा पुगेको छ । झापाका दमक र बिर्तामोडमा कन्सर्ट सकेलगत्तै मोफसलको कन्सर्ट सकिने चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगरले जानकारी दिए । बुद्धिका अनुसार काठमाडौंमा मंगलबार दुई ठाउँमा कन्सर्ट गरेसँगै देशव्यापी कन्सर्ट सकिनेछ ।

केही दिनअघि चलचित्र ‘रोजी’ को नाम परिवर्तन गरेर ‘रोज’ बनाइएको थियो । निर्माण अघिदेखि नै विवादमा फसेको यो चलचित्र रोजी महर्जन हत्याकाण्डसँग जोडिएको भन्दै मृतकका परिवारले नाम परिर्वतन गर्न पटक–पटक दवाब दिएका थिए । काठमाडौं वडा नम्बर १५ वस्ने गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नी मृतक छोरी रोजीको हत्या घटनासँग ‘रोजी’ को कथा र परिवेश मिलेको भन्दै उजुरी दिएपछि चलचित्रको छायांकन केही समय रोकिएको थियो ।

त्यसैगरी, उक्त घटनाकी मुख्य पात्र रोजीको नाम नराख्न पीडित परिवारबाट पटक–पटक दबाब आएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।

अन्त्यमा चलचित्र विकास बोर्डको रोहवरमा प्रदर्शनको संघारमा आएर यो चलचित्रको नाम परिर्वतन गरी रोज बनाइएको हो । नाम परिवर्तनपछि यो चलचित्रलाई रोजी परवारले कुनै पनि बाधा अड्चन नल्याउने सहमति भएको थियो ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्मित यो चलचित्रमा प्रदीपसँग मिरुना र पारमिताले स्क्रिन सेयर गर्दैछन् । रोजमा प्रदीप, मिरुना र पारमिताका साथै कर्मा शाक्य, रविन्द्र खडका, वरुण आरएल राणा, प्राक्षी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

निरक पौडेलले निर्देशन तथा आयरा पौडेल र आरोही केसीको निर्माण रहेको यो चलचित्रमा राजुविक्रम थापाको छायांकन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराज तथा रिशव टोट्लानीको कोरियोग्राफी रहेको छ । चलचित्र यही २२ भदौबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया