मौलिक लोकगीतमा रमेका बिजी

नेपाली सांगीतिक क्षेत्रमा मौलिक भाका र लयलाई जोगाइराख्ने स्रष्टाका रूपमा गीतकार रमेश बिजी परिचित छन् ।

दुई दशकदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहँदै आएका बिजीले रचना गरेका गीतले नेपाली मौलिकतालाई टपक्कै टिपेको पाइन्छ । नेपाली सांगीतिक क्षेत्र पहिलेको तुलनामा निकै परिवर्तन भएको छ । साथै, मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘नेपाली गीत संगीतले नेपालको मौलिकतालाई जर्गेना गर्दै समयसापेक्ष हुनुपर्छ ।’

स्याङ्जा पुतलीबजार नगरपालिका–१४ मा बुवा भिमबहादुर र आमा उमादेवीको कोखबाट ३८ वर्षअघि जन्मिएका गीतकार बिजीको बाल्यकाल गाउँमा नै बित्यो ।

सानैदेखि गीत संगीतप्रति रुचि भएकाले उनी जिल्लामा हुने दोहोरी गीत प्रतियोगितामा स्कुलबाट सहभागी भइरहन्थे । श्रवण प्राविबाट अध्ययन सुरु गरेका उनले पछि सदरमुकामस्थित हिमालयन इंग्लिस बोर्डिङ स्कुलबाट बाँकी पढाइ सके ।

एसएलसी परीक्षा दिएपछि त्यही बोर्डिङ स्कुलमा जागिर गर्न थालेका गीतकार बिजीले ७ वर्षजति पढाए । जब उनी क्याम्पस पढ्नका लागि पोखरा हानिए त्यसपछि भने उनको सांगीतिक यात्रा सुरु भयो ।

उनले २०५५ सालबाट सांगीतिक यात्रा सुरु गरेको बताउँदै भने, ‘गीत संगीतका क्षेत्रमा सानैदेखि लागेको हुँ । तर, औपचारिक रूपमा दुई दशकअघि मात्रै प्रवेश गरेको हुँ ।’ स्याङ्जा जिल्लाको प्रतिनिधि भएर विभिन्न स्थानमा हुने दोहोरी गीत प्रतियोगितामा भाग लिन उनी पुग्थे ।

३८ वर्षीय बिजीले सांगीतिक यात्रा सुरु गरेपछि ‘माछापुच्छ«े फेवा तालैमा’ एल्बम निकाले । गायक भगवान भण्डारी र गायिका सिर्जना विरही थापासँगै मिलेर निकालेको एल्बममा पाँचवटा गीत थिए, जसमा रमेश बिजीले एउटा एकल गीत पनि गाए ।

उनले एक हजारको हाराहारीमा गीत लेखेको बताए । उनलाई चिनाउने गीत ‘लाइछौ बेस्सन चिन्ननी नसक्ने आइछ फेसन’ निकै चर्चित भयो । त्यस्तै उनले चलचित्र परदेशीको कथासमेत लेखेको बताए ।

उनी यतिवेला संगीत रोयल्टी संकलन समाज नेपालको कार्यबाहक अध्यक्ष तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वरिष्ठ उपाध्यक्ष रहेका छन् । उनले गीत संगीतमा केही राम्रा सिर्जना तथा मौलिकताको कदर गर्ने उद्देश्यले स्थापना भएको उक्त संस्थालाई राज्यले भने केही जिम्मेवारी नदिएको गुनासो गरे ।

उनी भन्छन्, ‘विकृति फैलियो भन्दै प्रतिष्ठानमाथि औँला उठाउँछन्, तर कानुनीरूपमा कसैलाई दबाब दिन तथा कारबाही गर्न राज्यले प्रतिष्ठानलाई अधिकार दिएको छैन ।’ उनले विकृति फैलाउने कलाकारलाई प्रतिष्ठानले व्यक्तिगत सुझाव मात्रै दिन सक्ने बताए । उनले थपे, ‘कसैको गीत बन्द गर्नेदेखि जरिवाना गर्न अधिकार प्रतिष्ठानको होइन ।’

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का जागिरे उनले नेपाली गीत संगीतका क्षेत्रमा थुपै्र अध्ययन अनुसन्धान हुन बाँकी रहेको धारणा व्यक्त गरे ।

उनले पछिल्लो समय मन नलाई नलाई गीत सुन्नपर्ने र भिडियो हेर्नुपर्ने बाध्यता भएको बताए ।

प्रतिक्रिया