मच्छेगाउँको लाखेनाच चरिकोटमा

दोलखा । लालीगुराँस युवा क्लब चरिकोट र मच्छे नारायण सांस्कृतिक समूह चन्द्रागिरिको समन्वयमा चरिकोटमा लाखे नाच प्रदर्शन गरिएको छ ।

भीमेश्वर नगरपालिकाको समन्वय तथा लालीगुराँस युवा क्लब र चरिकोट गुठीको आयोजनामा भएको लाखेनाच संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी हुन काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँबाट पाँच वटा लाखेनाच लिएर चरिकोट आएको थियो ।

लाखेनाच लिएर चरिकोट आएका मच्छेनारायण सांस्कृतिक समूह मच्छेगाउँका अध्यक्ष रमेश साहीले सार्वजनिक कार्यक्रममा चरिकोटसँग सांस्कृतिक मितेरी गाँसिएको उद्घोष गरेका छन् ।

मच्छेनारायण सांस्कृतिक समूहका अध्यक्ष रमेश साही, समन्वयकर्ता विभीषण गोपाली र धनबहादुर गोपालीको विशेष पहलमा ल्याइएको लाखेनाच सदरमुकाम चरिकोटको विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । साथै चरिकोटको लाखेनाच पनि प्रदर्शन गरिएको छ । मच्छेगाउँ र चरिकोटको लाखेनाच हेर्न चरिकोटमा सयौको भिड लागेको थियो ।

दोलखाको सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने तथा मच्छेगाउँ र चरिकोटको लाखेनाच प्रदर्शनबाट सांस्कृतिक परम्पराको आदानप्रदान र जर्गेनामा टेवा पुग्ने लालीगुराँस युवा क्लब चरिकोटका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए । लाखेनाच संस्कृति आदानप्रदानले दुबै पक्षले नयाँ कुरा सिक्नसक्ने श्रेष्ठ बताउँछन् ।

४१ जना संस्कृतिकर्मीको नेतृत्व गर्दै चरिकोट आएका मच्छेनारायण सांस्कृतिक समूहका अध्यक्ष रमेश साहीले चरिकोटको न्यानो आतिथ्यता र उत्साहजनक सहभागिताले आपूmहरूलाई आनन्दित तुल्याएको र यो क्रमलाई हरेक वर्ष निरन्तरता दिनुपर्ने बताए ।

अध्यक्ष साहीले गतवर्ष चरिकोटको लाखे मच्छेगाउँमा प्रर्दशन गरेर सांस्कृतिक आदानप्रदानको सुरुआत भएको भन्दै लालीगुराँस युवा क्लब र चरिकोट गुठीको प्रशंसासमेत गरे । उनले मच्छेगाउँमा यो वर्ष २९ र ३० भदौमा हुने लाखेनाच प्रदर्शनीमा सहभागिता जनाउन आग्रहसमेत गरे ।

अध्यक्ष साहीले चरिकोटसँग अन्य सांस्कृतिक एवं धार्मिक विषयवस्तुहरूमा समेत जानकारी तथा मान्यताहरू आदानप्रदान हुनसक्ने बताए । उनले यो अभियानले चरिकोट र मच्छेगाउँमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नसक्ने बताए ।

लाखेनाच संस्कृति आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखाको पर्यटन प्रवद्र्धनमा लाखेनाच संस्कृति प्रमुख रूपमा रहने उल्लेख गर्दै दोलखामा पर्यटन आकर्षित गर्ने मुख्य कुरा धार्मिक, सांस्कृतिक एवं जातिगत विशेषता नै रहेको बताए ।

मच्छे नारायण सांस्कृतिक समूहले विभिन्न पाँच वटा भिन्दाभिन्दै लाखेनाच र लालीगुराँस युवा क्लब चरिकोटले एउटा गरी ६ वटा लाखेनाच प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया