राष्ट्रवादको हुटहुटीले घट्दो नेपाल

नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीचमा सुगौली सन्धि भएको पनि आज २ सय २ वर्ष भइसक्यो । सुगौली सन्धिपछि नै नेपाल र भारतको सीमा विवाद भएको मानिन्छ । इस्टइन्डिया कम्पनीसँग भएको सम्झौतामा नेपालले एकतिहाइ जमिन गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्टइन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो । यो सन्धि गरेर ब्रिटिसद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रोपल्ट आक्रमण गरिँदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाली युद्धलाई समाप्त गरियो ।

सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए । सन्धि भएपछि नेपालले गुमाएको सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज–नेपाली युद्धमा ब्रिटिसलाई सघाएका थिए । महाकाली नदीको पश्चिमी भाग कुमाउँ–गढवाल (वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू काँगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू नेपालले गुमाउनुपरेको थियो ।

तर, तराई क्षेत्रका केही भागहरू सन् १८६५ मा नेपाललाई फर्काइयो । सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई नयाँमुलुक भनिन्छ । ब्रिटिसले नेपाललाई फर्काएको नयाँ नेपालसँगै भारतसँग जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लामा सीमा विवाद छ । नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा सीमा जोडिएको छ भने छिमेकी चीनसँग नेपालको १ हजार ४ सय १५ किलोमिटर सीमा जोडिएको छ तर विवाद छैन ।

नेपाली भूमिमाथिको अतिक्रमण आज होइन सन् १८६० को समयदेखि नै सुरु भएको हो । जहानियाँ राणा शासनको पालादेखि राजा त्रिभुवन, राजा महेन्द्र र राजा विरेन्द्रका पालामा पनि नेपाली भूमिमाथिको अतिक्रमण रोकिएन । मुलुकबाट राजतन्त्रको अन्त्य भएर लोकतन्त्र हुँदै गणतन्त्रको स्थापना भए पनि नेपाली भूमि भारतीय पक्षबाट मिचिने क्रम रोकिएन बरु अझै तीव्र गतिमा भई नै रहेको छ ।

भारतले नेपालका २१ जिल्लाका ७१ भन्दाबढी स्थानमा नेपाली सीमा अतिक्रमण गरेको छ । भारतसँग जोडिएका नेपालका चार जिल्ला महोत्तरी, धनुषा, डडेल्धुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमण भएको छैन । अन्य जिल्लाको सीमा हेर्ने हो भने लगभग ६० हजार हेक्टरभन्दा बढी नेपाली भू–भाग भारतले मिचेको विभिन्न तथ्यहरूमा देखिँदै आएको छ । यी मध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा नौ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित हुन पुगेको छ ।

केही दिनअघि पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकाको छप्कैयामा ५० बिघा जमिन भारतमा परेको छ । भारत र नेपालमा सिमाना विवाद मात्र छैन भारतले पूर्व मेचिदेखि पश्चिम माहाकालीसम्म पुग्दा भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतले गायब पारेको छ । नेपाल र भारतको सीमा विवाद नदीनाला सीमा मानिएकोले पनि भएको छ । नदीनालाहरूले आफ्नो धार परिवर्तन गर्दा विवाद हुने गरेको छ ।

नेपालमा ६ हजार नदीनाला रहेका छन् भने ६० ओटा नदीनालाले सीमाको काम गरेका छन् । सीमा विवाद बढ्दै गएपछि १८८२ पछि नेपाल–भारतको संयुक्त सीमा समिति बनाइयो र सन् २००७ सालसम्म यो समितिले काम गरेको थियो । यो अवधिमा १ सय ८२ ओटा नक्सा बनाइए ।

नेपाल र चीनबीच पनि १९६० मा विवाद भएको थियो । सगरमाथाको विवाद र १ हजार ४ सय ३९ किलोमिटर लामो जमिनको विवाद बिपि कोइरालाले सन् १९६२ मा सुल्झाएका हुन् । त्यो वेला नेपालको ३ सय २ वर्गकिलोमिटर जमिन चीनतिर परेको थियो भने ३ सय ७४ वर्ग किलोमिटर जमिन नेपालतिर परेको थियो । यो विवाद भोकाधिकार सिद्धान्तमा रही गरेको कुरा सीमाविद् बुद्धिनारायण श्रेष्टले भन्ने गरेका छन् । नेपालको कुल लम्बाई १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा ६ सय ६ वर्ग किलोमिटर जमिन अतिक्रमण गरेपछि हाल नेपालको लम्बाइ १ लाख ४६ हजार ५ सय ६५ वर्ग किलोमिटर हुन आउँछ ।

भारतले नेपाललाई गर्ने हेपाहा प्रवृत्तिले गर्दा र नेपालको आन्तरिक राजनीतिक द्वन्द्वले गर्दा राणकालदेखि नै नेपाली जमिन जोखिममा पर्दै आएको विभिन्न अध्ययनले देखाएको छ । १८६० मा भारतले नेपालको भूभाग मिच्न सुरुगरेपछि मात्रै १८८० देखि सीमा पिल्लर गाड्नेकाम सुरुभएको हो । तर, अग्रेजहरूले ४ मार्च १८१६ मा भएको सुगौली सन्धी लगत्तै सीमामा लठ्ठा गाड्ने काम र नक्सा बनाउने काम गरेका हुन् । अंग्रेजको पालामा जंगेपिल्लर पाँच माइलको दूरीका गाडिएका थिए । पाँच माइलको बीचको भागमा बांगोटिंगो हुन गई नेपालको भूमि भारततिर पर्ने र भारतको भूमि नेपालतिर पर्ने भएकाले सन् १८८० मा जंगेपिल्लरको बीचमा सहायक पिल्लर गाड्ने र सीमा व्यवस्थापन गर्ने काम गरिएको थियो ।

नेपालमा जति शासन व्यवस्था परिवर्तन भए पनि सीमा मिच्ने काम भने रोकिएन । राजा महेन्द्रको प्रत्यक्ष साशनकाल होस् या भारतसँग सुरुङयुद्ध गर्न खोज्ने माओवादीको प्रधानमन्त्री भएसम्म पनि भारतले नेपालको सिमाना मिचिरहेको छ । माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको वेलासमेत भरतद्वारा ५८ हेक्टर जमिन मिचिएको थियो । भारतले दैनिक रूपमा आफ्नो रवैया देखाउँदै गएको छ भने नेपालले आफ्नो सिमानामा समेत सुरक्षाकर्मीसमेत राख्न सकेको छैन ।

केही महिना पहिले कञ्चनपुरको गोविन्द गौतमलाई गोली हानेको घटना होस् या केही दिन पहिले पर्सा जिल्लाको छप्कैयामा ५० बिघा जमिन भारततिर परेको घटना होस् यी घटनामा नेपाल सरकार मुकदर्शक मात्रै बन्न सक्छ । भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ । नेपाल–भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । औसतमा प्रत्येक तीन किलोमिटरमा एक क्याम्प हुन आउँछ । नेपालले भने सीमा सुरक्षाका लागि ४ हजार ५ सय देखि पाँच हजारको बीचमा सशस्त्र प्रहरी खटाएको छ,त्यो पनि सीमाभन्दा निकै टाढा ।

१८१६ को ब्रिटिस सरकारसँग सुगौली सन्धिगर्दा भारतसँग जोडिएको सिमानामा ८ हजार ५ सय ५३ सीमा स्तम्भ आवश्यक पर्ने भनिएको थियो । तर, ४ हजार ३ सय थान मात्रै जमिनमा गाडिएका थिए । गाडिएका मध्ये ३ सय ७० स्तम्भ खोलाले बगाएका छन् । दुई सय थान सीमास्तम्भ जीर्ण अवस्थामा रहेका छन् भने ७० थान लोप भइसकेका छन् । नेपाल र भारतबीच जारी सीमा विवादलाई स्थायी रूपमा समाधान गर्नका लागि तत्काल सीमा स्तम्भ स्थापना गर्नुपर्ने सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताउँदै आएका छन् ।

सीमाविद् श्रेष्ठको भनाइलाई मान्ने हो भने नेपाल–भारतबीचको सीमा विवाद समाधान गर्न ८ हजार ५ सय ५३ वटा सीमा खम्बा स्थापना तत्काल गर्नुपर्छ । नेपालले पनि आफ्नो सिमानामा सीमा सुरक्षबल तैनाथ गनुपर्छ सीमा व्यवस्थापन गर्नु जरुरी छ । नेपाल–भारत सीमा विवाद र अतिक्रमणका कुरालाई लिएर दुई देशका सरकार प्रमुखहरूले समस्याको समाधान खोज्नु जरुरी छ । राजनीति दलहरूले राष्ट्रवादी नारा जति लगाए पनि सबैको पालामा नेपालको भू–भाग भारतले मिचेको छ र प्रधानमन्त्रीस्तरीय सीमाविवादसम्बन्धी कुरा गर्न कसैले सकेको छैन । सीमासुरक्षाको लागि भनेर केही वर्ष पहिले माओवादीले गरेको अभियानमा प्रचण्ड कालापानी जाने भनेर गएका थिए तर कञ्चनपुरको सदरमुकामभन्दा केही टाढा बनेको टनकपुर ब्यारेज हेरेर काठमाडांै फर्के । यसरी राष्ट्रवादी नारा मात्रै लगाउने हो भने सिमानामा बस्ने नेपालीको हातमा जग्गाधनी लालपुर्जा त होला नेपाली जमिन रहँदैन ।

 

प्रतिक्रिया