-अयोध्याप्रसाद श्रीवास्तव हाम्रो देशका ससाना डुंगाबाट महासमुद्र पार गर्न सकिँदैन भने विशाल पानीजहाज नेपालको नदीमा चल्न सक्दैन । सुनारको हथौडी र लोहारको चिम्टी के काम ? लोहारको घन सुनारको लागि के उपयोग ? सुनको नथुनी र बुलाकी महिलाको नाकको शोभा हो भने पुरुषले नाकमा लगायो भने उपहास र लज्जा मात्र ।
मलामीले सहनाईको तालमा नाच्दै घाट लागे भने पागलपन कहलाउँछ ।यी सबै चीज आवश्यक र उपयोगी भए पनि समय, स्थान, विधि र उपयोगकर्ताको तारतम्य मिल्न नसकेमा अपयश र हानि नै हुन्छ । राजनीतिक व्यवस्था पनि यस्तै हो । कुनै राजनीतिक व्यवस्था स्वयंमा न त राम्रो हुन्छ न त खराब हुन्छ ।
देश को पर्यावरण (माटो, समाज र भू राजनीतिक अवस्था, यसलाई प्रकृति भने हुन्छ), देशभक्त, शौर्यवान, र विवेकी नेतृत्व, तथा राजनीतिक व्यवस्था यी तीनवटा एकै धारको, एकै आमाबाबुका सन्तान सरह हुनुपर्दछ । फ्रान्ससहित कतिपय देशले अमेरिकन व्यवस्था लागू गर्न भएभरको शक्ति लगाए तर सकेनन् । ब्रिटिस कमन ल र रोमन नागरिक कानुन लागू गर्न आज पनि कैयौँ देशको सपना साकार हुन सकिरहेको छैन ।
कम्युनिजम तत्कालीन सोभियत संघ, चीन, उत्तर कोरिया र अन्य कतिपय देशमा एक समान रहेन, नितान्त अलगअलग रूपमा देखाप¥यो । एउटै मूल सिद्धान्तमा उभिए पनि देशको मान्यता, आस्था र विचारले गर्दा तमाम अनुहार भए । नेपालमा ०७ सालपछि एकैचोटि खुल्ला र आयातित विचार र विश्व राजनीतिमा तीव्र परिवर्तनको समय भएकोले हत्या हिंसा र उत्पात बढ्यो, प्रजातन्त्रको अभ्यास सार्थक हुन् सकेन । अर्कोतिर छिमेकी विशाल भारतमा संसदीय लोकतन्त्र र अर्को छिमेकी विशाल चीनमा कम्युनिस्ट शासन रहेको दुई विपरीत व्यवस्थाको बीचमा नेपालमा कुनै एकको व्यवस्था अपनाउँदा अर्कोसँग अनुभवको सम्भावना रहेन अर्कोतिर चीनले तिब्बत र फार्मोसासम्म र भारतले काश्मीर, सिक्किम र भूटानमाथि गिद्धे दृष्टि लगायो ।
तर, नेपाल नेपाली नेताहरूको महत्वाकांक्षाको बलि चढ्न सक्ने विषम परिस्थितिमा ०१९ सालमा राजा महेन्द्रले कसैसँग नमिल्ने तर दुवैसँग मिल्न मिल्न खोजेजस्तो देखिने ‘पंचायती प्रजातन्त्र’ को संविधान जारी गरे । यसमा शक्तिको श्रोत राजालाई भनिए पनि समानताको सिद्धान्तलाई पूर्णता दिइयो भने स्वतन्त्रतालाई सीमित र नियन्त्रित गरियो । न्यायपालिका पूर्ण स्वतन्त्र भयो । तर, न्यायधीशमाथि अंकुश लगाइयो । प्रहरी, स्थानीय प्रशासन र मन्त्रिमण्डल धेरै हदसम्म स्वक्ष रहने भनियो । तर, अञ्चलाधीश राजप्रतिनिधि रहेर अञ्चालाधीशमा कम्युनिस्टहरूलाई प्राथमिकतामा राखियो ।
गाउँ फर्क राष्ट्रिय अभियान, वर्गीय संगठन र पञ्चायत नीति तथा जाँचबुझ समितिजस्ता संस्थाहरूको उपयोग गरेर ‘काम गर–पद लेउ’ भन्ने दर्शनलाई व्यावहारिक बनाउँदै सबै जाति, जनजाति, भाषा, भेषलाई राष्ट्रिय एकीकृत गरियो । कसैलाई थारू, देशी, नेवार, कामी आदि शब्द प्रयोग गरेर हेप्न नपाइने राजाज्ञा प्रचलनमा ल्याइयो । तस्कर, भ्रष्ट, कामचोर र अयोग्य पदाधिकारीलाई ‘दरबारको गोप्यपत्र’ को त्रासले छिमेकीको भन्दा नेपाली राज्यव्यवस्थालाई राम्रो भन्ने आधारहरू बन्दै गए ।
पञ्चशीलको सिद्धान्त, शान्ति क्षेत्रको प्रस्ताव तथा दौत्य सम्बन्धको विस्तार र विदेशमा नेपालको राम्रो छवि र सम्मान अंकित भयो । प्रतिबन्धित पार्टीका धेरैजसो कम्युनिस्ट कतिपय कांग्रेसीले पनि पञ्चायती पदहरू प्राप्त गरे । तर, प्रमुख नेताहरूको दबावमा ०३६ मा भएको जनमत संग्रहमा सुधारसहित को पञ्चायती व्यवस्थाको विजय भएपछि राजा विरेन्द्रबाट तीनपटक संविधान संशोधन भयो र प्रजातन्त्रका सूत्रहरूलाई क्रमश विस्तारित गर्ने अभ्यास भयो । राज्यको शक्ति र आर्थिक, औद्योगिक विकास गतिशील भयो ।
तर, ०४६ मा बनारसमा रहेका असन्तुष्ट कांग्रेसीहरूले कम्युनिस्टहरूको सभागितामा आन्दोलन गरे र ३० वर्षीय पञ्चायतको निधन भयो । दुवैले ०४७ मा संवैधानिक राजतन्त्रसहितको संसदीय लोकतन्त्रको स्थापना गरे । यसलाई उत्कृष्ट भनियो । तर, प्रचण्डको महत्वाकांक्षाले अन्य पार्टीहरूलाइ घुँडा टेकायो र यो संविधान र राजतन्त्र गयो र प्रचण्डको बन्दुकबाट गणतन्त्रात्मक संविधान २०७२ मा आयो । तर, अब यो संविधान पनि चल्न सकिरहेको देखिँदैन । यसको विरोधमा अर्को माओवादी र मधेसमा पनि छिटपुट विरोधका स्वरहरू उठिरहेका छन् । कुनै रंगको चस्मा लगाएर कसैलाई वाह वाह भन्नु अलग कुरा हो ।
निरपेक्ष हेर्ने हो भने पञ्चायतको जीवन अवधि र शान्ति व्यवस्था तथा प्रतिष्ठासँग तुलना गर्दा ०१५, ०४७ र ०७२ का संविधान अर्थात् राजालाई कमजोर या टाढा राखने र नेताहरूले शासन गर्ने, र ०४६ पछिका सबै परिवर्तन र उपक्रमहरू नितान्त अनुपयुक्त र नेताहरू आफना महत्वाकांक्षामा विदेशी षड्यन्त्रको सिकार नै हुने गरेको देखिन्छ । प्रजातन्त्रका आठ वटा सिद्धान्तलाई पञ्चायतले क्रमशः अभ्यासमा ल्याइरहेको दूरदर्शिता बुझ्न नसक्नु र सुनको सबै फूल एकैचोटि झिक्नलाई कुखुरा मारेको उखान चरितार्थ भएको छ ।
पञ्चायत कालमा आफू लाई कांग्रेसभन्दा निकै कमजोर मान्ने गरेका कम्युनिस्टहरूले राजा कांग्रेसका निकट छन् भन्ने भ्रमले गर्दासमेत, जनतामा परिचय, शक्ति र सत्तामा कांग्रेससँग अझै पछि परिन्छ कि भन्ने भयको स्थितिमा कमसेकम लाभांशमा आधा भाग त पाइन्छ भन्ने लोभ समेतले होला । उनीहरू अहिलेसम्म कांग्रेस का साथमा रहन्थे । तर, अब परिस्थिति अर्कै छ । अब उनीहरूले कांग्रेसलाई पछारिसकेका छन् र स्वयं शक्ति सम्पन्न भइसकेकाले कांग्रेसको भार उठाइरहन अनावश्यक ठान्ने स्थिति बनेको छ । विश्वका शक्तिशाली राष्ट्रहरूले नेपालको बारेमा भारतको हेराइलाई नै महत्व दिन्छन् ।
तर, भारतलाई नेपालमा राजाभन्दा विविध मत र निजी स्वार्थमा लागिरहने नेताको शासन बढी हितकर हुने उदाहरणहरू छन् । उसको यो विचार यथावत रहिरह्यो र चीनले पनि यसैलाई ठीक ठहरायो भने र नेपाली नेताहरूले तिब्बत, काश्मीर, र सिक्किमको उदाहरणलाई बेवास्ता गर्दै रहे भने नेपालको बारेमा गम्भीरताका साथ सोच्नुपर्ने अवस्था आउन सक्दछ । चीनले राजालाई नै श्रेष्ठ ठान्यो (परिस्थितिवश ठान्न पनि सक्छ) भने, नेपालमा शक्तिमा आएको कम्युनिस्ट शक्ति किनकि भारतलाई गालीको बौछार गरेर जनतामा लोकप्रिय भएको हो । उसले चीनको प्रभावशाली छाया खोज्नुपर्ने बाध्यता हुन् सक्दछ ।
साथै, हृदयदेखि कसैको पनि पूर्ण माया न पाएको वर्तमान संविधानको अबको कम्युनिस्ट शासनमा यही व्यवस्था, यही रुप र यही व्यवहार रहिरहने स्थिति भने देखिँदैन । अहिले देश संकटमै छ र राजनीतिक एकताको खाँचो छ । तर, वर्तमान व्यवस्था र मानसिकतामा कुनै हालतले पनि राजनीतिक एकता सुदृढ राख्ने कुनै सत्ता देखिँदैन । यो अवस्थामा कम्युनिस्ट नेतृत्व राजापट्टि आकर्षित हुन सक्दछ । कांग्रेसले राजासँग आफूलाई निकट भन्दै गरेको समयमा पनि ऊ राजाको साथमा कहिले हिँडेन र खिचातानीमा देशको प्रगति हुन सकेन । तर, हामी राजासँग हिँड्न सक्छौँ भन्ने कम्युनिस्ट सोच जाग्यो भने के राजतन्त्रको सम्भावना अझ बलियो बन्न सक्दछ ? ज्ञानेन्द्र शाह या बेबी किङ ? यसको निर्णय पछिको कुरा हो ।
अनि पञ्चायतको नियन्त्रित स्वतन्त्रता र कम्युनिस्टको वर्तमान ‘लचिलो तानाशाही’ लगभग मिल्दोजुल्दो भएकोले संविधानको पुनर्लेखनद्वारा पञ्चायती संविधानलाई नयाँ आवरणमा पुनस्थापित गरिएला ? के कम्युनिस्टले यो कु–व्यवस्थाको अन्त्यका लागि कुनै नयाँ साहस देखाउला ? के अब पालो कम्युनिस्ट राजतन्त्रको हो ? कस्तो होला त कम्युनिस्ट राजतन्त्र ? प्लेटोको समाजतन्त्र जस्तो ? कि फ्रान्सको गणतन्त्र ? के आउँदै छ ? राजनीतिशास्त्रका अध्येताहरूका लागि ठूलो जिज्ञासा र कुतूहलको विषय बनेको छ ।
प्रतिक्रिया