न्हुंछेनारायण श्रेष्ठ
संसद्को निर्वाचनबाट वाम गठबन्धनले आमनेपालीको मन जित्दै दुईतिहाइ मत प्राप्त गरेसँगै नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धन अत्तालिन पुगेको छ र सरकारको नाममा मन्त्रिपरिषद्को बैठक बसी आपूmखुसी निर्णय गर्दै भद्रगोल स्थिति पैदा गर्न खोज्दै छ । मन्त्रिपरिषद्ले गरेको निर्णयबारे प्रमुख दल एमालेले पत्रकार सम्मेलन गरी हालैका सरकारले गरेका गलत निर्णयलाई आगामी वाम गठबन्धनको सरकारले सच्याउँदै जाने निर्णय भएको बताएको छ र सरकारलाई कुनै पनि गम्भीर विषयमा निर्णय नगर्नसमेत ध्यानाकर्षण गराएको छ ।
तर, सरकार अझै पनि सरकारको दिन लम्ब्याउनका लागि विभिन्न हत्कण्ठा प्रयोग गरी नै रहेको छ । विश्व परिवेश हेर्ने हो भने निर्वाचनको परिणाम आउँदै गर्दा आफ्नो दल पराजयतिर जाँदै गरेको थाहा पाउने बित्तिकै राजीनामा वा सरकार छोडेर मार्ग प्रशस्त गर्ने चलन रहेको छ तर यहाँ निर्वाचन सम्पन्न भएको महिना दिन बितिसक्दा पनि सत्ता छोड्ने मनस्थितिमा सरकार नरहनुलाई के को संज्ञा दिने ?
‘ढिलै होस् छोरै होस्’ भन्ने उखानजस्तै वाम एकता, एउटै पार्टी बन्नबाट र वाम सरकार बनाई मुलुकमा समृद्घि र विकास गर्नाका लागि अब कसैले छेक्न र रोक्न सक्दैन । माओवादी केन्द्र र एमालेका बीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेको समाचारहरू आइरहँदा लोकतान्त्रिक गठबन्धन भने यो सम्बन्धलाई कसरी तुहाउन सकिन्छ ? र आगामी दिनहरूमा फेरी कसरी अस्थिर सरकार बनाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको भन्ने आरोपहरू बजारमा नआएका होइनन् ।
जे होस् नेपालको समृद्घि र विकासका लागि वाम एकता हुनु अपरिहार्य भइसकेको छ भने वाम सरकार आमनागरिकको चाहना र ईच्छा पनि हो । अतः वाम गठबन्धनका सकारात्मक विषयलाई सबैले बुझ्नुपर्ने जरुरी रहेको छ । तीनै चरणको निर्वाचन सफल हुनु र राष्ट्रिय सभाको निर्वाचन घोषणा हुनु मुलुकको लागि कोसेढुंगा सावित भएको मात्रै छैन ऐतिहासिक उपलब्धी पनि रहेको छ । संविधान जारी भएपछिको दुई वर्षको अवधिमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण कानुनहरू तयार गरी स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु मुलुककै लागि ठूलो उपलब्धी मान्नुपर्दछ ।
०५१ सालदेखि सुरु भएको सशस्त्र द्वन्द्व, ०६२÷०६३ को जनआन्दोलन, त्यसपछिको एकदशक लामो संविधान निर्माणका सकस, संविधानको कार्यान्वयन र संविधानमै व्यवस्था भएबमोजिमको ७ माघ ०७४ भित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधानलाई आत्मसात गर्दै स्थानीय तह, प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन दुई चरणमा सम्पन्न हुनु संविधान कार्यान्वयनको महत्वपूर्ण र ऐतिहासिक उपलब्धि मान्नुपर्दछ । तिनै चरणकोे निर्वाचनपश्चात् मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्दै सामाजिक न्याय, समानताका साथसाथै विकास र समृद्घिको बाटोमा मुलुक अगाडि बढेको छ र संक्रमणकालको अन्त्य गर्दै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । यहाँसम्मको बाटो तय गर्नाका लागि वामपन्थीहरूको महत्वपूर्ण भूमिका रहेकै कारण सफलता हात पर्नसकेको हो ।
संघीय गणतन्त्र संस्थागत भएता पनि मुलुकमा लामो समयदेखि राजनीतिक संक्रमणमा गुज्रिरहँदा देश विकास हुन सकिरहेको थिएन लोकतन्त्र प्राप्तीपश्चात् नेपालले ११ वर्षमा १० वटा अस्थिर सरकार पाए तर नागरिकहरूले सोचेअनुरूप देश विकास हुनसकेन । अब मुलुकमा संविधान अनुरूपका निर्वाचनहरू सम्पन्न भइसकेका छन् र जनताबाट वामपन्थीहरूको वाम गठबन्धनलाई देश हाँक्ने स्थिर सरकार निर्माणका लागि जनादेश दिइसकेको अवस्था रहेको छ ।
सबै क्षेत्रहरूको मतपरिणाम आएपछि मतपरिणाम आएको एक महिनाभित्र राष्ट्रिय सभा, संघीय र प्रादेशिक सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको र २४ माघमा राष्ट्रिय सभाको निर्वाचनमा समेत वामपन्थीहरूको अपार सफलतापछि मुलुकले नयाँ गति लिने विश्वास लिन सकिन्छ । निर्वाचनमा जुनसुकै राजनीतिक दल वा गठबन्धनले विजय हासिल गरी सरकार गठन गरेता पनि नयाँ शासन पद्घतिलाई संस्थागत विकास गर्दै अघि बढाउने जिम्मेवारी सबै पक्षको समान जिम्मेवारी र भूमिका रहनुपर्दछ ।
अहिलेको समयमा मुलुककलाई समृद्घि र विकासको बाटोमा लानको लागि राजनीतिक अस्थिरता हटाउँदै सुशासनको प्रत्याभूति आमनागरिकलाई गराउँदै विकास निर्माणका कार्य र वैदेशिक नीतिमा समेत स्पष्ट खाका कोर्दै मुलुकलाई समृद्घि र विकासका लागि अघि बढाउनसमेत वाम गठबन्धनको सरकार चाँडो बन्नुपर्ने आवश्यकता रहेको छ किनकी वाम गठबन्धनका चुनावी घोषणापत्रमा मुलुकलाई अगाडि बढाउने विभिन्न नीति र कार्यक्रमहरू स्पष्ट पारिएका छन् त्यस्तैगरी देश विकासका लागि सबै दलहरूको सामूहिक साझा ऐक्यवद्घता र धारणा आउनुपर्दछ ।
अहिलेको वर्तमान अवस्थामा कसले जित्यो कसले हा¥यो भन्न्ने भन्दा पनि समग्रमा मुलुकमा शान्ति, स्थायीत्व, विकास र देशलाई समृद्घितर्फ अग्रसर गराउन को अघि सर्ने भन्ने चिन्तन राजनीतिक दल र नेताहरूमा हुनुपर्दछ । अबका दिनहरूमा दलहरू बीच आपसी एकता, संवाद, सहकार्यबाटै मुलुकले काँचुली फेर्नका लागि प्रतिवद्घ हुनुपर्दछ । यो पटकको निर्वाचनले दिएको स्पष्ट मतका आधारमा सरकार बनाउने जिम्मा बहुमत प्राप्त वामपन्थीहरूकै हो र उसको पाँच वर्षे कार्यकालमा चुनावको समयमा गरेको घोषणापत्रमा गरेका प्रतिज्ञा र प्रविद्घताहरू पूरा गर्न नसकेको खण्डमा अर्को निर्वाचनमा नागरिकहरूले अर्को विकल्प खोज्ने र सरकार बनाउनसक्ने ढोका त सधैँ खुल्ला नै रहेको हुँदा कोही पनि जितको उन्मादमा धेरै खुसी र हार्ने दल दुःखी हुनु जरुरी रहेको छैन ।
जित्ने राजनीतिक दल वा गठबन्धनले आममतदाताको भावना, चाहना अनुरूप देश विकासको मर्म र भावनालाई बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता छ भने पराजित हुने दलले आफ्नो दल निर्वाचित हुनबाट किन चुक्यो ? कहाँकहाँ कमीकमजोरी र त्रुटीहरू भए ? घोषणापत्र र प्रतिवद्घतापत्रमा के के त्रुटीहरू भए ? आमनेता कार्यकर्ताहरूमा पैदा भएको वैमनस्यता, गुटबन्दीको अन्त्य अनि बागी उम्मेदवारका कारण चुनावमा पराजय भोग्नुपरेको हो कि ? अथवा आफ्नो दलप्रति आमनागरिकको वितृष्णा नै हो ? यि यावत् विषयमाथि पराजित दलले व्यापक छलफल गर्दै चुनावी समीक्षा गरी अघि बढ्नुपर्दछ । प्रजातन्त्रमा सबैको जित हुन्छ, कुनै व्यक्ति, राजनीतिक दलको मात्रै जित हुन सक्दैन । सबैलाई समेट्ने र उनीहरूको भावना र मर्म बुझ्नसक्ने दल नै सच्चा दल हुन सक्दछन् ।
लोकतन्त्रको नाममा सीमित समूह र व्यक्तिले राज्यको सुविधा उपभोग गर्नु देशमा भ्रष्ट्राचार, नातावाद, कृपावाद र दलगत स्वार्थ चुलिएकाले मुलुकले काँचुली फेर्न नसकिरहेको परिप्रेक्ष्यमा अब चाँडै बन्ने वाम गठबन्धनको सरकारले त्यस्ता विकृति, विसंगतिकोे अन्त्य गर्दै मुलुककलाई विकास र समृद्घिको पथतिर अगाडि बढाउनुपर्ने आवश्यकता छ ।
प्रतिक्रिया