कम्युनिस्टपार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न

मोहनविक्रम सिंह
कम्युनिस्ट पार्टीभित्र अनुशासनविहीनता र अराजकता कैयौँ रूपमा देखा पर्ने गर्दछ । प्रथम, कैयौँपल्ट केन्द्रीय समिति, माथिल्लो तहको समिति वा बहुमतको निर्णयप्रति पार्टी सदस्यहरू वा विभिन्न समितिहरूको विरोध हुन सक्दछ । पार्टीका कैयौँ समिति वा सदस्यहरूको त्यसप्रकारका निर्णयहरूप्रति भिन्न मत वा असहमति हुन सक्दछ ।

तर, त्यसप्रकारका भिन्न मत वा असहमतिका बाबजुद बहुमत, उच्च समिति वा केन्द्रीय समितिका निर्णय वा निर्देशनहरूलाई लागू गर्न सबै पार्टी सदस्य वा समितिहरू तयार हुनुपर्दछ । त्यसबारे देखाइने कुनै पनि प्रकारको मतभेद, असहयोग वा पार्टीका नीति, निर्णय वा निर्देशनका विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपले विरोध गर्नु पार्टी अनुशासनका विरुद्धको कुरा हो । पार्टीमा त्यसप्रकारको स्थिति उत्पन्न भयो भने कुनै पनि कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउन मुस्किल पर्दछ । त्यसकारण त्यसप्रकारको स्थिति उत्पन्न हुन नदिन पार्टीले सधैँ सतर्कता र दृढतापूर्वक प्रयत्न गरिरहनु पर्दछ ।

द्वितीय, पार्टीभित्रका भिन्न मतहरूलाई कहाँसम्म, पार्टीभित्र तलसम्म वा बाहिर लैजान मिल्छ वा मिल्दैन ? त्यसबारे पनि पार्टीका खास संगठनात्मक नियमहरू हुन्छन् र हाम्रो पार्टीमा पनि छन् । केन्द्रीय समितिले स्वीकार गरेको अवस्थामा कतिपय विषयहरूमा सार्वजनिक रूपमा नै बहस चलाउन सकिन्छ र त्यससम्बन्धी भिन्नमतहरूलाई सार्वजनिक रूपमा नै लैजान सकिन्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी प्रस्ताव, पार्टी इतिहाससम्बन्धी प्रस्ताव आदि विषयहरूमा सार्वजनिक रूपले नै बहस चलाइएको थियो ।

एकताकेन्द्रसित पार्टी एकता गरिसकेपछि पनि मतभेदका विषयहरूलाई खुला रूपले बाहिर लैजाने निर्णय गरिएको थियो । तर, कुनै खास बेलामा कुनै खास विषयलाई पार्टीभित्र तलैसम्म वा पार्टी बाहिर पनि लैजाने निर्णय गरिएका विषयहरूमा बाहेक सामान्य अवस्थामा आफ्नो समितिभन्दा तल वा बाहिर पनि लैजान मिल्दैन । पार्टीका नै सदस्यहरू भए पनि आफ्नो समितिभन्दा बाहिरका असम्बन्धित पार्टी सदस्यहरूसित त्यसबारे कुनै कुराकानी गर्न मिल्दैन । कुनै विषयमा कुनै असन्तोष भए पनि असम्बन्धित कमिटी, पार्टी सदस्य वा बाहिर त्यसबारे कुनै अभिव्यक्ति प्रकट गर्न पाइँदैन ।

यहाँसम्मकि कोही केन्द्रीय कमिटीको सदस्य भए पनि सम्बन्धित कमिटीसित असम्बन्धित केन्द्रीय कमिटीको कुनै सदस्यसित पनि त्यसबारे विचार आदानप्रदान गर्न मिल्दैन । तर, सम्बन्धित समितिले माथिल्लो तहको सम्बन्धित समितिलाई आफ्ना मतभेदहरूबारे लेखेर पठाउने वा रिपोर्ट गर्न सक्दछ । यी नियमहरूको उल्लंघन पनि अनुशासनविहीनता हुन्छ र कतै त्यसप्रकारको कार्य गरिएमा छानबिन गर्ने, स्पष्टीकरण माग्ने वा कारबाही गर्न सकिन्छ ।

तृतीय, पार्टीमा मतभेद भएका वा असन्तोष भएका विषयहरूमा गोप्य प्रकारले भित्रभित्रै प्रचार गर्नु पार्टी केन्द्र, उच्च कमिटी वा बहुमतका निर्णयहरूका विरुद्ध प्रचार गर्नु वा आफ्ना भिन्न विचारहरूको पक्षमा समर्थन जुटाउने प्रयत्न गर्नु गुटबन्दी हो । कतिपय अवस्थामा कुनै कमिटीका विरुद्ध समान्तर बैठक वा परस्परमा सल्लाह गरेर पनि त्यसप्रकारको गुटबन्दी गर्ने गरिन्छ । त्यसप्रकारको कारबाही पनि गुटबन्दीको एउटा गम्भीर रूप हो । त्यसप्रकारको गुटबन्दी गरेर पार्टीलाई फुटाउन प्रयत्न गरेका कैयौँ उदाहरणहरू पनि हाम्रा अगाडि छन् ।

गतकालमा कैयौँपल्ट हामीले त्यसप्रकारको स्थितिको सामना गर्दै आउनु परेको छ । त्यसकारण पार्टीमा त्यसप्रकारको स्थितिको सिर्जना नहोस् र त्यसको परिणामस्वरूप पार्टीलाई गम्भीर प्रकारको क्षति पुग्न नपाओस् भन्नका लागि पनि हामीमा उच्च प्रकारको सतर्कता हुनुपर्दछ ।

हाम्रो पार्टीमा दोस्रो, तेस्रो, चौथो, पाँचाँै वा छैटौँ महाधिवेशनपछि वा एकताकेन्द्रसित पार्टी एकता गरेपछि बहुमत, उच्च कमिटी वा केन्द्रीय समितिका स्वीकृत नीति वा निर्देशनहरूलाई कार्यान्वयन गर्न अस्वीकार गर्ने, असम्बन्धित पार्टी सदस्यहरूसित खुलारूपले आफ्ना मतभिन्नताहरूबारे कुराकानी गर्ने, सार्वजनिक रूपले नै आफ्ना मतभेदहरूलाई बाहिर लैजाने कार्यहरू प्रसस्त मात्रामा हुने गरेका थिए । त्यसको परिणामस्वरूप कतिपयपल्ट फुट पनि भएका थिए ।

जस्तै कि दोेस्रो, पाँचाँै महाधिवेशनहरूपछि । तेस्रो महाधिवेशनपछि पार्टी कैयौँ टुक्राहरूमा बाँडिएको थियो । पछि केन्द्रीय न्युक्लसद्वारा नै विभाजित पार्टीलाई एकीकृत गरेर चौथो महाधिवेशन गरिएको थियो । मसाल र एकता केन्द्र बीचमा भएको पार्टी एकता पनि टुटेको थियो । त्यसरी पार्टीका संगठनात्मक नियमहरूको उल्लंघन भएर अनुशासन विहीनता र अराजकताको स्थिति उत्पन्न भएपछि त्यसका कैयौँ गम्भीर दुष्परिणामहरू हुने गर्दछन् । त्यसकारण त्यसप्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि हामी सधैँ सतर्क र प्रयत्नशील हुनुपर्छ ।

सातौँ महाधिवेशनपछि पार्टीमा अनुशासनको कुनै गम्भीर समस्या देखापरेको छैन । तैपनि बीचबीचमा त्यो दिशातर्फ प्रयत्न नगरिएको भने होइन । भारतमा कार्यरत केही जिम्मेवार साथीहरूले भित्रभित्रै गुटबन्दी गरेर संगठनलाई टुक्राउन वा माओवादी संगठनमा सामेल गराउन संगठित र योजनावद्ध प्रकारले षड्यन्त्र गरेका थिए । तर, भारतस्थित कार्यकर्ताहरूको सतर्कताका कारणले उनीहरूको त्यो प्रयत्न असफल भएको थियो । त्यो बाहेक पार्टीभित्रका मतभेदहरू वा आफ्ना असन्तोषहरूलाई सार्वजनिक रूपले बाहिर लैजाने केही कार्यहरू अहिले पनि ठाउँठाउँमा हुने गरेका छन् ।

बाहिर वा असम्बन्धित स्थानमा लैजाने केही कार्यहरू कतैकतै हुने गरेका छन् । पार्टीले त्यस्ता विषयहरूमा आवश्यकतानुसार छानबिन गर्ने, स्पष्टीकरण माग्ने वा कारबाही गर्ने गरेको छ । पार्टीभित्रको एकता र अनुशासनलाई कायम राख्नका लागि अपनाइने त्यो सामान्य र आवश्यक कार्य पनि हो । त्यसप्रकारका कारबाहीहरू बढेमा पार्टी संगठन, पार्टीका नीति र कार्यक्रम वा आन्दोलनमा समेत गम्भीर आघात पुग्नेछ । त्यसकारण पार्टीमा त्यस खालका अनुशासनविहीन प्रकारका गतिविधिहरू बढ्न नदिनका लागि सबै पार्टी समिति वा सदस्यहरूमा उच्च प्रकारको सतर्कता आवश्यक हुन्छ ।

पार्टीमा अनुशासनविहीनता वा अराजकताको स्थिति किन पैदा हुन्छ ? यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता हुन्छ । सर्वप्रथमतः यो एउटा वर्गीय समस्या हो । हाम्रा सबैजसो पार्टी सदस्यहरू निम्न पुँजीपतिवर्गबाट आएका हुन्छन् । पार्टी अनुशासन खास गरेर सर्वहारावर्गको चरित्रगत विशेषता हो । निम्न पुँजीपति वर्गलाई आफ्नो चरित्रगत विशेषताका कारणले नै कडा अनुशासनमा बस्न कठिन हुन्छ । कुनै नियममा बाँधिएर बस्न उनीहरूको स्वभाव नै हुन्न । सैद्धान्तिक प्रशिक्षण, जनताका बीचमा कार्य वा लामो पार्टी जीवनको अभ्यासपछि नै उनीहरू अनुशासनका लागि अभ्यस्त हुँदै जान्छन् । वास्तवमा आफ्ना निम्नपुँजीवादी स्वभावका कारणले कतिपय इमान्दार र कत्र्तव्यनिष्ठ पार्टी सदस्यहरूमा पनि अनुशासनका समस्याहरू देखापर्ने गर्दछन् । यसप्रकारका समस्याहरूलाई हामीले सामान्य सैद्धान्तिक र मैत्रीपूर्ण तरिकाले नै हल गर्ने प्रयत्न गर्नुपर्दछ ।

कतिपय अवस्थामा निम्न पुँजीवादी प्रवृत्तिहरू केही विकृत रूपमा पनि देखापर्ने गरेका छन् । निम्न पुँजीवादी प्रवृत्तिको एउटा स्वभावजन्य प्रवृत्ति के हो भने उनीहरूले पार्टीमा काम गर्दा पनि केही व्यक्तिगत लाभलाई प्राप्त गर्ने प्रयत्न गर्दछन् । त्यो व्यक्तिगत लाभको आकांक्षा कुनै कमिटीको सदस्य बन्ने, पदाधिकारी बन्ने व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्ने आदि रूपमा प्रकट हुन्छ । त्यसप्रकारका आकाक्षांहरू पूरा गर्न गुटबन्दी गर्ने पनि गरिन्छ । खास अवस्थामा त्यसप्रकारका प्रयत्न पूरा नभएमा बदला, ईष्र्या वा कुण्ठाका भावनाहरू पनि पैदा हुन्छन् । कतिपय व्यक्तिहरूले आफ्ना त्यसप्रकारका विकृत धारणाहरूका कारणले पार्टीभित्र अराजकताको स्थिति पैदा गर्ने, पार्टीलाई फुटाउने, दलबदल गर्ने पनि गर्दछन् ।

हाम्रो पार्टीमा गतकालका त्यसप्रकारका कैयौँ उदाहरणहरू छन् । त्यसप्रकारका कैयौँ व्यक्तिहरूलाई हामीले कारबाही गर्ने वा पार्टीबाट निष्कासन पनि गर्नुपरेको छ । सामान्य प्रकारले पार्टीभित्र देखापर्ने अनुशासनसम्बन्धी कमजोरीहरूलाई सैद्धान्तिक र मैत्रीपूर्ण प्रकारले हल गर्न सकिन्छ । तर, माथि उल्लिखित विभिन्न प्रकारका विकृति र नियतपूर्ण तरिकाले देखा पर्ने अनुशासनविहीन सोचाइहरूका कारणले पार्टीभित्र कैयौँपल्ट ध्वंसात्मक वा शत्रुतापूर्ण स्थितिको सिर्जना हुन्छ । तैपनि त्यसप्रकारका सोचाइहरू पार्टीका साथीहरूमा भएका निम्नपुँजीवादी सोचाइहरूका कारणले नै पैदा हुने गर्दछन् । त्यसैले त्यसप्रकारका सोचाइहरूले ध्वंसात्मक र शत्रुतापूर्ण रूप लिन नपाउन् भन्नका लागि हामीले विशेष ध्यान दिनुपर्दछ ।

अनुशासनसित जोडिएको एउटा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कैयौँपल्ट विरोधी पार्टीहरूले योजनावद्ध प्रकारले पार्टी फुटाउन पनि घुसपैठ गर्ने गर्दछन् । त्यसप्रकारका तत्वहरूले पार्टीभित्र पैदा गर्ने अनुशासनविहीनता, अराजकता वा गुटबन्दीको प्रकृति स्पष्टरूपले पार्टी विरोधी हुन्छ । हाम्रो पार्टीको एकताकेन्द्रसँग पार्टी एकता भएपछि त्यो दिशामा योजनावद्ध प्रकारले प्रयत्न गरियो । हाम्रो भारतस्थित संगठनलाई फुटाएर माओेवादीमा लैजानको लागि पनि योजनावद्ध प्रकारले गुटबन्दी र षड्यन्त्र गरिएको थियो । कैयौँपल्ट पार्टीलाई फुटाउनका लागि दुश्मन शक्तिहरूले आफ्ना एजेन्टहरूको घुसपैठ गर्ने गर्दछन् ।

तर, हाम्रो पार्टीमा अहिले त्यसप्रकारको कुनै उदाहरण छैन वा त्यसबारे हामीलार्ई कुनै जानकारी प्राप्त भएको छैन । अन्य पार्टी वा संगठनहरूमा दुश्मन शक्तिहरूले घुसपैठ गरेका कैयौँ उदाहरणहरू छन् । हाम्रो पार्टीमा अहिलेसम्म त्यस्तो नभएको भए पनि त्यसप्रकारका सम्भावनाहरूलाई हामीले पूरै अस्वीकार गर्नु हुँदैन र त्यसबारे ठूलो सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । विश्वव्यापी रूपमा साम्राज्यवादको, भारतीय विस्तारवादको नेपालभित्र पनि दुश्मन शक्तिहरूको जुन ठूलो सञ्जाल छ, त्यो अवस्थामा त्यसप्रकारको सतर्कताको आवश्यकता कैयौँ गुणा बढेर जान्छ ।

हामीले जुनसुकै प्रकारको भए पनि अनुशासनविहीनता वा अराजकताबाट पार्टीको रक्षाको लागि जुन जोड दिन्छौँ, त्यसको उद्देश्य पार्टीका कुनै कार्यकर्ता वा सदस्यहरूप्रतिको वैमनस्यता वा पूर्वाग्रह होइन तर पार्टीको वृहत्तर हितमाथि ध्यान दिएर नै त्यसो गरिरहेका हुन्छौँ । पार्टीभित्र बलियो एकता नभइकन पार्टीले कुनै पनि नीति वा कार्यक्रमलाई प्रभावशाली प्रकारले अगाडि बढाउन सक्दैन । अनुशासनका अभावमा एकता कायम रहन सक्दैन । जतिसुकै मतभेद वा अन्तरसंघर्ष भए पनि अनुशासनले नै त्यसप्रकारको मतभेद र अन्तर्संघर्षका बीचमा एकता कायम राख्दछ ।

त्यसप्रकारको अनुशासनको अभावमा देखापर्ने मतभेद वा अन्तरसंघर्षले पार्टीमा गम्भीर अराजकताको स्थिति पैदा गर्दछ र त्यसको परिणामस्वरूप पार्टी कैयौँ टुक्रामा विभाजित हुन्छ (तेस्रो महाधिवेशनपछि जस्तै) वा पार्टीमा गम्भीर प्रकारको फुटको स्थिति सिर्जना हुन्छ (चौथो महाधिवेशन जस्तै) । कुनै एउटा व्यक्तिमा पनि अनुशासनविहीनताको प्रवृत्ति देखा प¥यो भने समयमा त्यसलाई नियन्त्रण गरिएन भने त्यसले विष्फोटक वा विकराल रूप लिन पुग्दछ । त्यस्तो स्थिति पैदा हुन नदिनाका लागि नै हामीले यो प्रश्नमाथि अत्यन्त गम्भीर दृष्टिकोण अपनाउने गरेका छौँ र अपनाउनु पनि पर्दछ ।

अनुशासनको प्रश्न खाली कम्युनिस्ट पार्टीभित्रको मात्र समस्या होइन । बुर्जुवाहरूले पार्टीभित्रको अनुशासनको प्रश्नलाई सिद्धान्ततः नै गलत मान्दछन् र त्यसलाई पार्टीभित्रको अधिनायकवादी प्रणाली बताउँछन् । दक्षिणपन्थी संशोधनवादीहरूले पनि अहिलेको विश्वको परिस्थितिमा लेनिनले प्रतिपादन गरेको संगठनात्मक प्रणालीलाई परिमार्जन गर्नुपर्ने कुरामा जोड दिन्छन् । उनीहरूले केन्द्रीय कमिटीका नीति, निर्णय वा निर्देशनहरूलाई सबै पार्टी समिति वा सदस्यहरूले मान्नुपर्ने, तिनीहरूलाई पूरै पालना गर्नुपर्ने, आफ्ना मतभेदहरूलाई सार्वजनिक रूपमा व्यक्त गर्न नपाइने जस्ता नियमहरू आजको युगमा उपयुक्त नभएको बताउँछन् । उनीहरूको जोड अनुशासनमाभन्दा अभिव्यक्ति स्वतन्त्रतामा बढी हुन्छ ।

त्यस प्रकारका बुर्जुवा वा दक्षीणपन्थी संशोधनवादी विचारहरूको असर हाम्रा साथीहरूमा पनि अंशतः पर्ने गर्दछ । खास गरेर निम्न सैद्धान्तिक स्तर भएका र अपरिपक्व साथीहरूमा त्यसप्रकारको असर बढी पर्ने गर्दछ । कतिपय साथीहरू शिक्षाको दृष्टिकोणले माथिल्लो स्तरका भए पनि माक्र्सवादी–लेनिनवादी दृष्टिकोणको कम विकास भएका कारणले उनीहरूलाई पार्टी अनुशासन पालन गर्न मुस्किल पर्दछ । उनीहरूमा माक्र्सवादी–लेनिनवादी दृष्टिकोणको विकासका लागि हामीले प्रयत्न गर्नुपर्दछ । आमनिम्नपुँजीपति वर्ग र किसानहरूको बीचबाट आएका कार्यकर्ताहरूलाई पनि उच्चप्रकारको सैद्धान्तिक प्रशिक्षण दिएर नै क्रान्तिकारी कार्यकर्ताको रूपमा बदल्ने प्रयत्न गर्नुपर्दछ ।
त्यसरी अनुशासनलाई स्थायी र ठोस रूप दिनको लागि माक्र्सवादी–लेनिनवादी शिक्षा, कार्यकर्ताको सर्वहाराकरण र सर्वहारा दृष्टिकोणको विकासमा नै मुख्य जोड दिनुपर्दछ ।

त्यसले नै अनुशासनको समस्यालाई पनि मूलभूत रूपमा समाधान गर्दछ । तर, त्यसप्रकारको दृष्टिकोण र अनुशासनको निर्माणको समस्या सधँै नै एउटा जटिल प्रक्रिया हो र पार्टीमा देखापर्ने नयाँनयाँ अवस्थाअनुसार त्यसमा नयाँनयाँ समस्याहरू देखापर्ने गर्दछन् । त्यसैले बेग्ला–बेग्लै समयमा देखापर्ने नयाँप्रकारको स्थिति, जटिलता र आवश्यकताअनुसार त्यसलाई ठोस रूपमा विकसित गर्ने प्रयत्न गरिरहनुपर्दछ । त्यस प्रकारको प्रक्रियाको बीचबाट हामी लामो समयदेखि अगाडि बढ्दै आएका छौँ तर त्यो दिशामा हाम्रा प्रयत्नहरू पर्याप्त नभएको कुरा अहिले पनि नयाँनयाँ रूपमा त्यसप्रकारका समस्याहरू पैदा हुने गरेको कुराबाट प्रष्ट छ । त्यसैले हामीले गतकालका सकारात्मक र नकारात्मक दुवै प्रकारका अनुभवहरूबाट शिक्षा लिँदै पार्टी अनुशासनलाई ठोस रूप दिन र पार्टीको संगठनात्मक प्रणालीलाई सही माक्र्सवादी–लेनिनवादी पद्धतिमा विकसित गर्न प्रयत्न गरिरहनुपर्दछ ।

प्रतिक्रिया