कम्युनिस्ट पार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न

पार्टी अनुशासनलाई सामान्य अर्थमा सैनिक अनुशासन भन्ने गरिन्छ । त्यसलाई लौह अनुशासन पनि भन्ने गरिन्छ । त्यसप्रकारको अनुशासन टुट्यो भने कम्युनिस्ट पार्टी वास्तवमा कम्युनिस्ट पार्टी रहँदैन ।

मोहनविक्रम सिंह
पार्टीभित्रका मतभेदहरूलाई वा पार्टीका स्वीकृत लाइनका विरुद्ध भिन्न मतहरूलाई सार्वजनिक रूपमा बाहिर लैजाने कि नलैजाने ? सामान्यतः यो एउटा व्यावहारिक प्रश्न हो । त्यसका साथै यो एउटा गम्भीर सैद्धान्तिक प्रश्न पनि हो । त्यो प्रश्नमा कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि नै बहस चल्दै आएको छ । माक्र्स–एंगेल्सले स्थापना गरेको प्रथम कम्युनिस्ट अन्तर्राष्ट्रियको कालमा पार्टीका सदस्यहरूलाई आफ्ना मतभेदहरूलाई अनियन्त्रित रूपले बाहिर लैजाने वा बेग्लाबेग्लै गु्रपहरू (फ््रयाक्सन) बनाउने समेत छुट थियो ।

त्यो प्रचलनलाई सामाजिक प्रजातन्त्रवादीहरूले अहिले पनि कायम राखेका छन् । तर, लेनिनले त्यसप्रकारको प्रणालीमा आमूल परिवर्तन गरे र पार्टीभित्र कडा अनुशासन कायम राख्नुपर्ने प्रणाली विकसित गरे ।

त्यो प्रणालीलाई लेनिनवादी संगठनात्मक पद्धति भनिन्छ । पछि स्तालिन र माओले त्यो प्रणालीलाई परिमार्जित र विकसित गर्दै गए र संसारभरका माक्र्सवादी–लेनिनवादीहरूले त्यो प्रणालीलाई अभ्यास गर्दै आएका छन् । त्यसका साथै त्यो प्रणालीलाई अतिक्रमण गर्ने तथा पार्टीभित्र अनुशासनविहीनता र अराजकताका प्रवृत्तिहरूलाई प्रोत्साहित गर्ने प्रवृत्तिहरू पनि देखा पर्दै आएका छन् ।

वास्तवमा भन्ने हो भने विश्वव्यापी रूपमा नै यी दुवै प्रवृत्तिहरूको बीचमा एक प्रकारले दुई लाइनको संघर्ष चल्दै आएको छ । हाम्रो पार्टी पनि अनुशासनसम्बन्धी त्यसप्रकारको दुई लाइनको संघर्षबाट बचेको छैन । हाम्रो पार्टीको इतिहासमा पनि एकातिर अनुशासित पार्टीको निर्माण गर्ने, अर्कोतिर, पार्टी अनुशासनलाई शिथिल र कमजोर पार्ने प्रवृत्तिहरू बारम्बार देखा पर्दै आएका छन् । स्वयं हाम्रो पार्टीमा पनि त्यसप्रकारको दुई लाइनको संघर्षको लामो इतिहास छ ।

लेनिनले यो कुरामा जोड दिएका छन् कि आज साम्राज्यवादीहरूले क्रान्तिकारी शक्तिहरूमाथि जसरी चौतर्फी रूपमा आक्रमण गर्ने काम गरिरहेका छन्, त्यो अवस्थामा एउटा खुकुलो प्रकारको र अनुशासनविहीन पार्टी संगठनले उनीहरूको सामना गर्न सक्दैन । उनले पार्टीको अनुशासन सेनाको जस्तो हुनुपर्ने कुरामा जोड दिएका छन् ।

त्यसैले पार्टी अनुशासनलाई सामान्य अर्थमा सैनिक अनुशासन भन्ने गरिन्छ । त्यसलाई लौह अनुशासन पनि भन्ने गरिन्छ । त्यसप्रकारको अनुशासन टुट्यो भने कम्युनिस्ट पार्टी वास्तवमा कम्युनिस्ट पार्टी रहँदैन । त्यसैले लेनिनले पार्टीमा अत्यन्त उच्च प्रकारको अनुशासन कायम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

लेनिनले यो पनि स्पष्ट गरेका छन् कि कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी हो र त्यसको मुख्य उद्देश्य सबै शोषित, पीडित र मिहिनेतकश जनताको सेवा गर्नु हो । तर, सामान्य जनता उच्चस्तरको अनुशासनमा बस्न सक्दैनन् । त्यसकारण लेनिनले सामान्य जनता होइन, जनता मध्ये अग्रगामी तत्वहरूलाई लिएर नै पार्टीको निर्माण गर्ने कुरामा जोड दिए ।

अर्का शब्दमा उनले पार्टीलाई आमजनताको होइन कार्यकर्ताहरूको पार्टी बनाउने कुरामा जोड दिए । त्यसरी पार्टीमा सामेल हुने कार्यकर्ताहरू आमजनताभन्दा बढी सचेत, अनुशासित र जुझारु हुन्छन् । त्यो आवश्यकता पूरा गर्नका लागि उनले पार्टी सदस्यताको नियमलाई पनि अपेक्षाकृत कडा बनाए । यही विवादमा मेन्शेविक र वोल्शेभिकहरू एक–अर्काबाट अलग भए । त्यसले बताउँछ, लेनिनले पार्टी सदस्यता र अनुशासनको प्रश्नलाई कति गम्भीर अर्थमा लिन्थे ।

लेनिनको त्यसप्रकारको संगठनात्मक पद्धतिको उनको आफ्नो समयमा पनि पार्टीभित्र र बाहिरसमेत कडा प्रतिवाद गरिएको थियो । रोजा लक्जमवर्गले मुठ्ठीभर षड्यन्त्रकारी व्यक्तिहरूको पार्टी बनाउन खोजेको भनेर लेनिनको आलोचना गरेकी थिइन् । मेन्सेभिकहरूले पनि लेनिनले पार्टी सदस्यहरूलाई मेसिनको पूर्जा बनाउन खोजेको भनेर विरोध गरेका थिए र त्यसबारे पार्टीमा तीव्र दुई लाइनको संघर्ष चलेको थियो । विरोधीहरूले त्यसप्रकारको अनुशासनको पद्धतिलाई पार्टी कार्यकर्ताहरूको स्वतन्त्रतामाथिको हमला भनेर विरोध गरेका थिए । त्यसवेला लेनिनले विकसित गरेको संगठन पद्दतिको विरोधको सिलसिला अहिले पनि एक वा अर्को प्रकारले चल्दै आएको छ ।

लेनिनले यो कुरामा जोड दिएका छन् कि छलफलमा स्वतन्त्रता हुनुपर्दछ तर कार्यमा ऐक्यवद्धता हुनुपर्दछ । कुनै कार्यक्रम कसरी सम्पन्न गर्ने ? कुनै विषयमा कुन प्रकारको नीति निर्धारण गर्ने ? त्यसबारे कुनै पनि समितिमा स्वतन्त्रतापूर्वक खुलेर बहस हुन सक्दछ र बहस हुनु पनि पर्दछ । तर, कुनै कार्यक्रम वा नीतिबारे बहुमत वा सहमतिद्वारा निर्णय भइसकेपछि कामको दौरानमा कुनै पनि प्रकारको मतभेद प्रकट गर्नु सही हुँदैन । कुनै पनि विषयमा छलफलको बेलामा बेग्लाबेग्लै मतहरू देखा पर्न सक्दछन् ।

तर, आफ्नो मत स्वीकृत नभएको भनेर मतभिन्नता प्रकट गर्ने, काममा वाधा हाल्ने, असहयोग गर्ने वा विपक्षमा प्रचार गर्ने काम गर्न थालियो भने त्यसबाट कामको सफलतामा बाधा पुग्ने कुरा प्रष्ट छ । कुनै वेला कुनै जुलुस वा सभाको आयोजना गर्ने, हड्ताल गर्ने, सम्मेलन गर्ने, चुनावमा भाग लिने, त्यसलाई बहिष्कार गर्ने आदि विभिन्न प्रश्नहरूमा भिन्न मत राख्ने साथीहरूले निधारित काममा विरोध गर्ने काम गरे भने त्यो कार्यमा वाधा पुग्ने कुरा स्वतः सिद्ध छ । त्यसप्रकारको व्यवहारलाई हामीले अनुशासनविहीनता वा अराजकता भन्छौँ । त्यसप्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि लेनिनले छलफलको स्वतन्त्रता र काममा एकताको सिद्धान्त प्रतिपादन गरेका हुन् ।

समग्र रूपमा लेनिनको संगठन प्रणाली जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित छ । त्यसको अर्थ हुन्छ, तलबाट जनवाद र माथिबाट केन्द्रियता । सबै कमिटीहरू तलबाट निर्वाचित हुँदै जान्छन् । नीति निर्धारणको सिलसिलामा पनि विभिन्न समितिहरूमा छलफल हुने गर्दछ । तल्लो तहका कमिटीहरूबाट माथिल्लो तहका कमिटी वा नेतृत्वको कामको आलोचना हुन सक्दछ । तलबाट गएका प्रतिनिधिहरूका आधारमा नै माथिल्लो तहका कमिटीहरूको निर्वाचन हुन्छ ।

देशभरिबाट गएका प्रतिनिधिहरूका आधारमा नै केन्द्रीय समितिको निर्वाचन हुन्छ र पार्टीका आधारभूत नीतिहरूको निर्धारण हुन्छ । यो जनवाद हो । अर्कातिर, कुनै कमिटीको बहुमतले गर्ने निर्णयलाई सबै सदस्यले मान्नु पर्दछ । माथिल्लो कमिटीको निर्णय वा निर्देशनलाई सबै तल्ला कमिटीहरूले मान्नु पर्दछ । दुई महाधिवेशनका बीचमा केन्द्रीय कमिटी नै पार्टीको सर्वोच्च अंग हो । त्यसैले त्यसका निर्णय वा निर्देशनहरूलाई पार्टीका सबै समिति वा सदस्यहरूले मान्नुपर्दछ । यही नै जनवादी केन्द्रीयता हो । पार्टीको सम्पूर्ण संगठनात्मक प्रणाली त्यही प्रणालीमाथि आधारित हुन्छ ।

पार्टीमा कतिपय वेलामा जनवादको पक्षलाई कमजोर पार्ने प्रवृत्तिहरू पनि देखा पर्ने गर्दछन् । डा. केशरजंग रायमाझीको समयमा दोस्रो महाधिवेशनले पास गरेको गणतन्त्रको प्रस्तावलाई उपेक्षा गर्ने र पछि संविधानसभाको निर्णयको विरोध गर्ने कार्यहरू भए । पाँचौँ महाधिवेशनपछि महाधिवेशनले पास गरेका त्यसका कैयौँ निर्णयहरूलाई तोडमोड वा अतिक्रमण गर्ने काम गरियो । जब पार्टी केन्द्रीय समितिले आधारभूत रूपमा नीतिगत प्रश्नहरूमा नै त्यसप्रकारको व्यवहार गर्दछ, पार्टी सदस्यहरूलाई त्यसका विरुद्ध जाने वा विद्रोह गर्ने अधिकार पनि हुन्छ । त्यसप्रकारको विद्रोह सही हुन्छ वा हुँदैन ? त्यो इतिहासले फैसला गर्ने कुरा हो ।

दोस्रो महाधिवेशन र पाँचाँै महाधिवेशनपछि हामीले विद्रोहको बाटो समातेका थियौँ । अब इतिहासले यो प्रमाणित गरिसकेको छ कि हामीले लिएको विद्रोहको बाटो सही थियो । एकताकेन्द्रसित सम्बन्ध विच्छेद गर्ने हाम्रो निर्णय पनि सही थियो । तर, जुन बेलासम्म पार्टी एउटै रहन्छ, त्यो अनुशासित रूपमा नै रहनुपर्दछ वा विद्रोह भएपछि बन्ने नयाँ पार्टीको पनि अनुशासनका आधारमा नै निर्माण हुनुपर्दछ । त्यसभित्र देखापर्ने कुनै प्रकारको अनुशासनविहीनता र अराजकतालाई सही भन्न सकिन्न ।

माथि हामीले द्वितीय वा पाँचौँ महाधिवेशनपछि महाधिवेशनका निर्णयहरूको उलंघन भएका कतिपय उदाहरणहरूको उल्लेख गर्यौं । तर, कार्यनीतिक रूपमा कतिपय प्रश्नहरूमा महाधिवेशनका निर्णयहरूलाई बदल्ने अधिकार केन्द्रीय समितिलाई हुन्छ । तर केन्द्रिय समितिले गर्ने त्यसप्रकारका सबै निर्णयहरू स्वतः सही हुन्छन् भन्ने होइन । तिनीहरू एकातिर रणनीतिको सेवा गर्ने र, अर्कातिर कुनै खास वेलाको ठोस परिस्थितिसँग मेल खाने प्रकारको हुनुपर्दछ ।

कुनै खास बेलामा त्यसप्रकारका निर्णयहरू पार्टीका क्रान्तिकारी उद्देश्यका विरुद्ध पनि हुन सक्दछन् । संसारका विभिन्न पार्टीहरूमा कार्यनीतिसम्बन्धी प्रश्नहरूमा हुने विवादले नै गम्भीर रूप लिने गरेका वा फुट हुने गरेका पनि कैयौँ उदाहरणहरू पनि पाइन्छन् । हाम्रो पार्टीमा कुनै केन्द्रीय कमिटी गरेका निर्णयहरूलाई अर्को केन्द्रीय समतिले गलत ठह¥याएका वा बदलेका कैयौँ उदाहरणहरू छन् । त्यसप्रकारका प्रश्नहरूबारे बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै निर्णयहरू गरिन्छन् र एउटै नीति एउटा समयमा सही र अर्को समयमा गलत पनि हुन सक्दछ ।
(बाँकी १९ गते शुक्रबारको अंकमा)

प्रतिक्रिया