एमाले–माओवादी एकताका बाधा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता पूर्वघोषित निर्णय हो । गत १७ असोजमै दुवै पार्टीले एकता गर्ने सार्वजनिक घोषणा गरेका हुन् । तत्काल चुनाव आइलागेका कारण एकता गर्न नभ्याइएको भन्ने कुरा ओली र प्रचण्डले सबैभन्दा धेरैपटक दोहो¥याएको शव्दावली हो । चुनावमा आशातित परिणाम आयो । दुवै दलमा खुसियाली छायो । देशभरका कार्यकर्ता पार्टी एकता भइसकेकोजस्तो मनस्थिति बनाएर बसे । अहिले पनि बसिरहेकै छन् कार्यकर्ता पंक्ति ।

तर, चुनावी नतिजापछि जसरी जुन जुन शक्ति केन्द्रहरू एकता हुन नदिन खेल्नसक्ने आँकलन गरिएको थियो उनीहरूले आफ्नो अभियान सुरु गरिहाले । पाँच वर्ष एक्लै सरकार बनाउने प्रस्तावदेखि ५४ को अंकलाई म्याजिकल नम्बरको भूतसमेत सवार गराइदिए । यस्ता अफवाहलाई व्यावहारिक जवाफ दिन ओली बालकोेटमा कुरिरहेका थिए । तर, प्रचण्ड चितवन नै धेरै दिन अड्केनन् मात्र कि काठमाडौंमा गरिएका म्याजिकल अनुमान र विश्लेषण भइरहँदा चितवन गएर फेरि अर्को केही समय बिताए । ओली र प्रचण्डबीचमा जे विषय सार्वजनिक रूपमा नबोल्ने वाचा कसम गरिएका थिए, ती सार्वजनिक भए । त्यसले निश्चित विचार पद्धतिमा अडिग रहने स्वाभावका ओलीमा गहिरो आशंका जन्मियो । ओलीको मनमा एउटै चुनाव चिन्हबाट चुनाव लड्ने निर्णयबाट पछि हटेदेखिका अनेक क्रियाकलाप फिल्मको रिलका रूपमा घुम्न थाल्यो । जुन स्वभाविकै थियो ।

उता प्रचण्डले जे कुरालाई सहजै हुने अनुमान गरेका थिए, त्यो विषय चुनावपछिको पहिलो वार्तामा ओलीका मुखबाट सुन्न नपाएपछि एक किसिमको हताशाको हाउभाउ देखिन थालेको थियो । दुई जनाको कुरा भएको केही दिन खुसीमै रहने तर सुत्ने बेलामा आँखा बन्द गरेर सोच्दा जे मैले सोचेको छु, त्यो त हुँदैन कि क्या हो भन्ने मनोदशामा प्रचण्ड पुगेका कारण नै एकताको गाँठो कस्नुपर्ने डोरीमा बाटिएका धागाहरूमा समेत भुवा पलाउन थालेको प्रतित भइरहेको छ । चुनाव अभियान चलिरहेको बेला र पुत्र वियोगको पीडा रहेको समयमा प्रचण्डको मनमा त्यति धेरै महत्वाकांक्षाको पहाड थिएन । सम्मानित बाटोबाट योगदान गर्ने मानसिकता प्रभावी बन्दै गएको थियो ।

यति धेरै त गरिसकियो, अब कति लडिरहने भन्ने तहमा प्रचण्ड पुगेकै थिए । तर, प्रचण्डका सहयोगी भनिनेहरूले त्यस्तो कल्पना पनि गर्न सक्दैनथे । चुनावी सभाहरूमा एमालेका स्थानीय नेताहरूले प्रचण्ड राष्ट्रपति, प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष हुनेछन् भनेर भाषण गरिरहेको सुन्दा प्रचण्ड गजक्क परेको सजिलै बुझ्न सकिने भावहरू टेलिभिजन समाचारका अर्काइभमा सुरक्षित छन् । त्यसो त चुनाव जित्नकै लागि ओली पुग्ने सभाका सबैजसो उम्मेदवारले मन्त्री बन्ने आश्वासन दिएर मतदातालाई ती उमेदवारप्रति आशा जगाएकै थिए । ती कुरा चुनावी स्टन्ट नै थिए ।

चुनाव अभियान चलिरहेकै बेलामा एकपटक लामो वार्तालापमा ओलीको चाहना प्रचण्ड राष्ट्रपतिभन्दा पार्टीको नेतृत्व गर्ने भूमिकामा नै रहनुपर्दछ भन्ने थियो । त्यस विषयमा ओलीले मानिसक रूपले तयार मात्र होइन कि केही सांगठानिक योजना पनि बनाएकै थिए । तर, चुनाव लगत्तै जे जस्ता दृश्य देखिए, दुवै जनासँग दक्षिणी दूतहरूले जस्तो तरिकाले कुरा गरे, यसबाट दुवै जनामा रहेको पुरानो विश्वासमा आफैप्रति शंका बढ्न थाल्यो । प्रचण्डको खुलापनलाई दूतहरूले बेस्सरी मलजल गरे । सायद प्रचण्डले म देउवासँगको सहकार्यमा छु वा ओलीसँगको एकतामा भन्ने भुलेर पो दूतहरूसँग मन खेले कि ? दूतहरूलाई चाहिएकै त्यही थियो ।

जसोतसो एक महिनाजति प्रचण्डलाई थेगेका दूतहरूले आश मारेर हाइजम्प गरे । तर, त्यतिका लामो समय प्रचण्ड किन अलमल गरिरहे ? यो बुझ्न नसकिने कुरा हो । प्रचण्ड जत्तिको चातुर्यले भरिपूर्ण नेतालाई एक महिनापछि के हुन्छ ? र दूतवाला किन मसँग लागेका छन् भन्ने अनुमान गर्न सकेनन् कसरी भन्न सकिन्छ ? झनै पछिल्लो समय प्रचण्डको नजिक दाबी गर्नेमध्येका विभिन्न दर्जाका कमान्डरहरूले ओलीको बदनाम अभियान सुरु गरेका छन् । त्यसले एकतालाई मात्र होइन, प्रचण्डको मनोकांक्षामा घात गर्छ कि सघाउँछ ? सहजै अनुमान गर्न सकिन्छ ।

त्यसो त एमालेका पनि कतिपय नेताहरू अन्टसन्ट बोलेकै छन् । तिनले ओलीलाई प्रतिनिधित्व गर्दैनन् भन्ने सबैलाई थाहा छ । अहिले यसभन्दा बढी लेख्नु पनि अन्यथा होला कि ? सांगठानिक र राजनीतिक रूपले कसरी एकता गर्ने भन्ने विषयमा वास्तविक रूपले भन्दा कुनै समस्या नै छैन । राजनीतिक रूपमा चुनावी साझा घोषणापत्रमा ९० प्रतिशतभन्दा बढी कुरा समाधान भएर सहमति भइसकेको छ । न त जनयुद्धलाई हेर्ने विषयमा अब कुनै द्विविधा छ, न त आगामी बाटो जनताको बहुदलीय जनवादकै मूल स्प्रिट भएर समाजवादसम्म हिँड्ने भन्नेमा कुनै भ्रम छ । माओवादी र जबजजस्ता शव्दावली विवादका विषय नै होइनन् । माओवादी केन्द्रले व्यावहारिक रूपमा माओवाद ०६० सालबाटै छाडेको थियो भने एमालेले जबजलाई धर्मशास्त्र बनाउन हुन्न भन्नेमा सबैभन्दा अग्रपंक्तिमा केपी ओली नै छन् ।

चुनावका बेलामा भाइ एमाले र दाइ माओवादीजस्ता अलंकार कुनै एउटा लेखकले नभएर दुवै दलका सबै नेताहरूले आआफ्नै शैलीमा व्यक्त गरेको श्रव्य, दृश्य र अक्षर सबैको स्मरणमा ताजै हुनु पर्दछ । सांगठनिक रूपमा के गर्ने भन्नेमा यस्ता एकता र सांगठनिक समायोजनमा ०४७ देखि नै दुबै दलले सबैभन्दा बढी विशेषज्ञता हासिल गरेका छन् । सम्झनु पर्ने के छ भने विशेषज्ञता पछिल्लो कालखण्डमा माओवादी केन्द्रमा विशृंखलित भएर कुन कमिटी कति सदस्यीय भन्ने समेत हेक्का हुन नसक्ने अवस्थामा पुगेको थियो । त्यस्तो अवस्थाबाट भने जोगिनु पर्दछ भन्नेमा पनि ओली र प्रचण्ड पूरै सचेत छन् । त्यो कुनै विवादको विषय होइन । बरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ निर्वाचनमा पराजित भएपछि अलिकति सन्तुलनमा र व्यवस्थापनमा समस्या परेको हुनसक्छ । तर, जे नुहनु थियो, त्यो त भइसकेको छ ।
प्रचण्ड अध्यक्ष हुन सक्दैनन त ?

अहिले यसरी पनि बहस सुरु हुन थालेको छ । प्रचण्डको नजिक दर्साउने कतिपय नेताहरूले प्रचण्ड अध्यक्ष नभए एकता हुन नसक्ने जस्तो अभिव्यक्ति पनि दिन थालेका छन् । एमालेभित्र पनि अहिल्यै प्रचण्डलाई अध्यक्ष बनाइहाल्ने र ? भन्ने प्रश्न उब्जेकै छ । तर, सुविधा के छ भने यस विषयमा ओली र प्रचण्डका बीचमा सहमत हुनासाथ कसैले तत्कालै चुनौति दिने अवस्था छैन । नाटकीय लाग्ने गरी दुई पार्टीबीच भएको एकता घोषणाको उत्कट अभिलाषामा ओली र प्रचण्डमा एकता भएपछि म प्रधानमन्त्री भइहाल्छु र म पार्टीको अध्यक्ष त भइहाल्छु भन्ने कुरा नै थिएन भन्न सकिन्न । तालमेल र गठबन्धन बढी सजिलो कुरा हो भने पार्टी एकता अलिक अप्ठेरो तर गर्नै पर्ने बाध्यताको पहाड बनेको हुनुपर्दछ यतिबेला दुवै जनालाई ।

एमाले नेतृत्व पंक्तिभित्र प्रचण्डलाई अध्यक्ष बनाउने कि नबनाउने भन्नेमा प्रचण्डको विगत पृष्ठभूमि र अस्थिर वा गतिशील भनिने स्वाभाव र चरित्र निस्सासिँदो गरी उठिरहेको छ । अभिव्यक्त हुन मात्र सकेको छैन । त्यस सन्दर्भमा हेक्का राख्नुपर्ने कुरा के छ भने अहिलेको अवस्थामा एकीकृत पार्टीको मूल नेतृत्व जो भए पनि एकल प्राधिकारजस्तो हुने कुनै सम्भावना छैन । यदि कसैले केही बिगार्नै खोज्दा पनि अकल्पनीय क्षति गराउन सम्भव हुनेछैन । नेतृत्वले जत्तिकै कार्यकर्ता र सदस्यले पनि कुरा बुझिरहेको स्थिति हो अहिले ।
अर्कातिर दुई पार्टीबीचको पार्टी एकता हुँदा अमुक इच्छा वा चाहनाभन्दा नमीठो कुरा हो सांगठानिक शक्ति र त्यसको जग । जुन कुरा भर्खरै र अझै पूरा नभइसकेको चुनावले हिउँदको पारिलो घामजत्तिकै छर्लंग पारिदिएको छ ।

यसका लागि जसरी चुनावी तालमेलका लागि भनेर गरिएको वार्ताले पार्टी एकताको महत्वाकांक्षामा पु¥याएको थियो, त्यही बेला नेतृत्व यसले गर्ने र यसरी गर्ने भन्ने कुरा टुंगिनु पर्दथ्यो । यस मामिलामा दुवै जना चुकेकै हो । त्यो चुकाइले गर्दा मंसिर तेस्रो सातादेखि दुवै दलका कार्यकर्ताले मानसिक हैरानी बेहोरिरहेका छन् । अहिले दुवै दलका कार्यकर्ता र समर्थकलाई पट्यारलाग्दो कुराइजस्तो महसुस भइरहेको होला ।

ओली तयार छैनन् त प्रचण्डलाई अध्यक्ष बनाउन ?
वास्तवमै ओली प्रचण्डलाई पार्टीको अध्यक्ष नै बनाउन चाहन्छन् । ओलीलाई नै सायद सबैभन्दा बढी ज्ञात हुनुपर्दछ कि चुनावी तालमेलका कुरा चलिरहँदा ‘पार्टी नै एकता गर्ने भए तालमेल हुन्छ अन्यथा …’ भन्ने प्रचण्डको अभिव्यक्तिमा उनी एकीकृत पार्टीको अध्यक्ष हुन चाहन्छन् । किनभने स्थानीय चुनावको सन्देशले एमाले सबैभन्दा ठूलो पार्टी बन्ने र माओवादीले आफ्नो पुरानो हैसियत पनि कायम गर्न संकट पर्ने स्पष्ट संकेत गरेको थियो । त्यस्तो अवस्थामा चुनावपछि प्रधानमन्त्रीको हकदार स्वाभाविक रूपमा केपी शर्मा ओली नै हुन्थे । प्रचण्डले पनि प्रधानमन्त्री एमालेबाटै हुने त बताए तर केपी ओली नै हुनुपर्दछ भनेर सुरुमै बताउन तयार भएनन् केवल बामदेव फ्याक्टरका कारण ।
बल्ल १६ मंसिरमा प्रसारित एबिसीको आउटलुक कार्यक्रममा प्रचण्डले अबको प्रधानमन्त्री केपी ओली हुने बताए । यस मामिलामा पनि प्रचण्ड अलिक ढिला भए । यो भनाइ त १५ असोजको दुई पक्षीय बैठकमा नै प्रचण्डले अघिसार्दा जति असर पथ्र्यो, त्यसको जवाफमा ओलीले प्रचण्डका बारेमा बोल्न बाध्य हुनुपर्ने थियो, त्यो हुन सकेन । त्यति मात्र होइन कि ओली बैंकक जानुपहिले बसेको एकता संयोजन समितिको बैठकमा प्रचण्डले नै सांगठानिक र राजनीतिक कार्यदल बनाउन तयार नहुनुले अर्को शंशय जन्माएको हुनुपर्दछ ।

सुन्दा र हेर्दा अचम्म लाग्नेजस्ता अराजनीतिक तर राजनीतिक व्यक्तिको जीवनमा सबैभन्दा बढी असर गर्ने यस्तै मसिना कुराका वरिपरि एकताको बजार गर्माएको छ । जुन अस्वभाविक होइन तर यतिबेला औचित्यहीन अवस्थाको प्रहसन बन्न पुगेको छ । जनताका बीचमा एकताका लागि संसारमा भएजतिका कम्युनिस्टले पुकार्न मिल्ने सबै देवीदेउता भाकेर मत मागेको छ । जनताले पत्याइ पनि दिए । तर, कुरा अहिले अर्कै पर्न थाल्यो भने बेइमानी भएन र ? देवीदेउताका अघिल्तिर पापी भइएन र ?

त्यसकारण अहिले यति भन्न सकिन्छ कि ओली र प्रचण्डका आआफ्नै परस्पर विरोधीजस्ता लाग्ने स्वाभाव, सोहीअनुसार निकालिने अर्थ र भाष्यका बीचमा पार्टी एकताको डोरी अलमलिएको हुनुपर्दछ । तसर्थ ओली र प्रचण्ड दुवै जना १५ असोजको मनको कुनामा रहेको चाहनाभन्दा एक तह माथि उठेर छलफल गर्ने र समाधानको सूत्रमा पुग्नु नै उपयुक्त हुनेछ । अहिले दुई दलका नेताहरूमा हताशा र आशंकाको खेती बन्द गर्नु पर्दछ । प्रचण्ड अध्यक्ष नभए त के को एकता भन्ने हताश मानसिकता र त्यति सानो दलको नेता यति ठूलो पार्टीको अध्यक्ष भएर कसरी हुन्छ भन्नेजस्तो आशंका दुबै घातक कुरा हुन् । प्रचण्डकै शव्दको धरातलीय यथार्थलाई आत्मसात गरेर पार्टी महाधिवेशनसम्मका लागि एउटा अन्तरिम व्यवस्था र महाधिवेशनपछि गरिने सांगठानिक निर्णयकाप्रति नेतृत्व तहमा खुला छलफल गरी दरो प्रतिवद्धतामा अघि बढ्नुको कुनै विकल्प छैन । त्यसभन्दा यताउता गरेर कसैले कसैलाई देखाउँछु वा जे होला भनियो भने त्यो दुवै पक्षबाट जनता र देशलाई गम्भीर धोकाबाहेक केही पनि हुँदैन ।

प्रतिक्रिया