९ महिने सरकारकै निरन्तरता

-निर्मल भट्टराई   नेपालको राजनीतिक र सामजिक विकासका लागि वाम एकता आवश्यकता हो । यो एकतालाई कसैले रोकेर रोकिने वा विभाजन गर्न सक्ने अवस्थामा छैन । विगत ७० वर्षदेखि नेपाली जनताले वामपन्थीको सरकार वामपन्थीहरूको एकता चाहेका थिए । तर, विभिन्न कारणले वामपन्थीहरूमा एकता र विभाजन भइरह्यो । मूर्त रूपमा दिगो गरी एकता हुन सकेन । यसको पछाडि अनेक कारण रहे । वामपन्थीका बीचमा कैयौँ अवस्थामा वैचारिक र सैद्धान्तिक मतभिन्नता रहे भने कैयौँ अवस्थामा अनावश्यक जुँगाका लडाइँले पनि त्यसमा काम ग¥यो ।

यसका साथै नेपालको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोनलमा आउने गरेका उतारचढावले पनि प्रभाव पर्ने काम ग¥यो । अन्तर्राष्ट्रिय परिवर्तनले नेपालको कम्युनिस्ट आन्दोलनमा प्रभाव पा¥यो । अहिले आएर नेपालको कम्युनिस्ट आन्दोलन शान्तिपूर्ण प्रतिस्पर्धामार्फत जनताको मत प्राप्त गरेर त्यसबाट श्रेष्ठता हासिल गर्दै सत्तामा पुग्ने र प्रतिपक्षसहितको सत्ता सञ्चालन गर्ने अवस्थामा पुगेको छ । यसरी प्राप्त गरेको सत्तामार्फत आफ्ना एजेन्डा, नीति श्रमजीवीका पक्षमा काम गर्ने विन्दुमा पुगेको छ ।विगतको अनुभवलाई हेर्ने हो भने ०५१ सालमा बनेको नौ महिने सरकारले गरेको सकारात्मक कामलाई लिन सकिन्छ ।

पहिलोपटक बनेको कम्युनिस्ट पार्टीको सरकार जसको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए । त्यो वेला सरकारमा बसेर देश र जनताका पक्षमा काम गरेको अनुभूतिका आधारमा आउने दिनमा पनि त्यस्तै लोकप्रिय कार्यक्रममार्फत जनताका बीचमा काम गर्नुपर्छ । अबको वामपन्थी सरकारको काम त्यही मार्गमा अगाडि बढनुपर्छ । अहिले दुवै कम्युनिस्ट पार्टीले अपनाएको संसदीय प्रणाली वा सरकारमा जाने बाटो एकै छ । त्यसकारण पनि यी दुवै पार्टीका बीचमा मिलन वा एकता स्वाभाविक आवश्यकता बनेको छ ।

त्यसैको कारण आज नेपालमा वामपन्थी एकता सम्भव भएको हो । यी सबै कुराहरूले दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकताका आधारहरू बनेका छन् । अबका दिनहरूमा विगतका वैचारिक, सैद्धान्तिक, सांगठानिक र सत्ता सञ्चालनसमेतका अनुभवहरूलाई समेटेर त्यसबाट प्रप्त गरेका शिक्षाका आधारमा त्यसका सकारात्क र नकारात्म पाटोको समीक्षा गर्दे राम्रा पक्षलाई समेट्दै नकारात्मक पाटोलाई न्यूनीकरण गर्दे जानुपर्छ । यसले सामाजवादको बाटो तय गर्ने सवालमा आधारहरू बनाउँछ ।

यो वास्तविकता पनि हो र यसलाई दुवै पार्टीका नेता तथा कार्यकर्ताले बुझेका छन् । अहिले पनि हाम्रा सामु धेरै ठूला–ठूला समस्या र चुनौती छन् । समाजिक विकृतिका रूपमा रहेको जातीय विभेद, वर्गीय विभेद र क्षेत्रीय विभेदका अंशहरू कायमै छन् । ती सबै प्रकारका विभेदलाई अन्त्य गर्दै नेपाली जनताका लागि समानता, आर्थिक समृद्धि र सामाजिक न्यायका पक्षमा अब बन्ने वामपन्थी सरकार र एकीकृत रूपमा बन्ने नयाँ कम्युनिस्ट पार्टीले विशेष योजना बनाएर काम गर्नुपर्छ । त्यसो गर्न सकियो भने मात्र जनताले कम्युनिस्ट पार्टी र तीनका नेतासँग गरको अभिलाषा पूरा हुन सक्नेछ ।

नेपाली जनताको भरोसा अहिले पनि कम्युनिस्ट पार्टी र तीनका नेताहरूसँग छ । त्यही भरोसाका कारण जनताले नेपालका वामपन्थीलाई सत्तामा बसेर राष्ट्रहित र जनताका पक्षमा काम गर्ने म्यान्डेड दिएका हुन् । देशको अग्रगति र राष्ट्रियताको संरक्षणका लागि खास गरेर कम्युनिस्ट पार्टीका नेताहरूले यी कुरामा ध्यान पु¥याउनुपर्छ । र जनताका चाहना र भरोसाअनुसार काम गर्नुपर्छ । विश्वलाई हेर्ने हो भने संसार धेरै अगाडि बढिसकेको अवस्थामा पनि हामी निकै पछि नै छौँ । नेपाल अहिले पनि विपन्न देशहरूको सूचीमा छ । त्यो नेपाल र नेपालीका लागि दुःखको कुरा हो ।

त्यसैले अबको पाँच वर्ष सरकार चलाउने जिम्मा नेपाली जनताले वामपन्थीहरूलाई दिएका छन् । यो पाँच वर्षमा वामपन्थीहरूको स्थिर सरकारले संसारको मानचित्रमा नेपाल सम्पन्न देश, सगरमाथाको देश, स्रोत र साधानले सम्पन्न भएको देश भनेर चिनाउने गरी काम गर्नुपर्छ । त्यो योजनासहित काम गरेर देखाउनपर्छ । यी सबै काम पूरा गर्न व्यक्तिका होइन, पद्धतिको विकास गर्नुपर्छ । असल पद्धतिमार्फत जनतालाई सुशासन, सेवा र वास्तविकमा नेपालको राज्यसत्ता जनताको हो भन्ने अनुभूति हुने गरी काम गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र यो देशलाई अगाडि बढाउन सकिन्छ ।

त्यो जिम्मेवारी वामपन्थीको हो । विगतका वाम विभाजनका अनुभवहरू धेरै छन् । विचार, सिद्धान्त, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमलाई हेर्ने दृष्टिकोण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई हेर्ने दुष्टिकोणजस्ता कुराले पनि नेपालको कम्युनिस्ट अलग–अलग भएका थिए । अहिले पनि एकता हुँदै गरेको एमालेले लिएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवादलाई पार्टी एकतापछि कसरी हेर्ने ? वा यो बीचबाट के सिद्धान्त निस्कन्छ भन्ने सवालमा दुवै पार्टीका नेता, कार्यकर्ता र जनतामा चासो र चिन्ताको विषय बनेको छ । रूपमा वा नाममा जेसुकै भए पनि त्यसको सार जनताको बहुदलीय जनवाद हुनुपर्छ ।  जबजले विकसित गरेका कुराहरू नै अबका दिनमा सत्ता सञ्चालन र पार्टी सञ्चालनका सवालमा प्रमुख विषय हुनुपर्छ ।

नाममा जे सहमति भए पनि फरक पर्दैन । अबको नेपाली वाम आन्दोलन एकदलीय कम्युनिस्ट शासनबाट अघि बढ्न सक्दैन र बुर्जुवा शासनपद्धतिबाट पनि अगाडि बढ्न सक्दैन । यी दुवै बीचमा रहेर क्रान्तिकारी धारबाट अगाडि बढ्दा वाम एकताको सार्थकता हुन्छ । अन्याथा ‘तिमी पनि कोट फुकाल, म पनि कोट फुकाल्छु र नयाँ कोट लगाऔँ’ भनेजसरी वाम एकता हुन सक्दैन । नेपाली जनता र हजारौँ हजार कार्यकर्ताले चाहेको वाम एकता सहमति, सहकार्यका आधारमा जनताको बहुदलीय जनवादलाई मान्दै गरिने एकता हो । त्यो भनाइ र गराइमा एक हुनुपर्छ ।

एकतापछिका दिनमा ठूलो पार्टी भएका कारण एमालेले वामपन्थी आन्दोलनभित्र रहेको सबै प्रकारका व्यक्ति, विचार र प्रवृत्तिहरूलाई समेट्ने सवालमा विशेष ठाउँहरू सिर्जना गर्नुपर्छ । त्यो भनेको पार्टीका नेता कार्यकर्ताको योग्यता क्षमताका आधारमा काम दिने वैचारिक बहस गर्ने अवसर बनाइदिने र त्यो वैचारिक बहसपछिका दिनमा उनीहरूको सरक्षण र अवसर दिने सवालमा एमालेले भूमिका खेल्नुपर्छ । एमालेले कुनै वेला शत्रुवत् व्यवहार गरेका माओवादी केन्द्रका नेता कार्यकर्तालाई हिजोका आग्रह, पूर्वाग्रह वा हिजोका कुनै घटनाक्रमलाई लिएर गरिने व्यवहारमा सकारात्मक भएर जानुपर्छ ।

यसका साथै एमालेले समाजिक रूपान्तरणका वस्तुनिष्ठ एजेन्डा तय गर्नुपर्छ । त्यसका लागि माओवादी केन्द्रका नेता कार्यकर्तालाई दिइने मान र काममा सम्मानपूर्ण व्यवहार हुनु जरुरी छ । यस्तै, माओवादीका साथीहरूको अहिलेको प्रमुख चिन्ता भनेको विगतमा गरिएको जनयुद्धलाई अब बन्ने नयाँ पार्टीले कसरी हेर्ला भन्ने छ । जनयुद्धले गरेका राम्रो कामहरूको सम्मान गर्दै जनयुद्धका क्रममा भएका कमी कमजोरीहरूलाई त्यहीअनुसार समीक्षा गर्दै कमजोरीका रूपमा लिन सक्नुपर्छ ।

त्यसका लागि माओवादीका नेतृत्व वर्गले भूमिका खेल्नुपर्छ । जनयुद्ध शतप्रतिशत ठीक थियो भन्ने चिन्तन अहिले पनि माओवादीका एक तप्कामा जीवितै छ । कुनै पनि चिज, कुनै पनि राजनीतिक घटना, गतिविधि वा विद्रोह शतप्रतिशत ठीक वा शतप्रतिशत बेठीक हुँदैन । त्यसका सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन् । त्यसलाई द्वन्द्ववादी दृष्टिकोणका आधारमा समीक्षा गरिनुपर्दछ । माओवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेर उनीहरूले जुन प्रकारका युद्ध गरेर आए त्यसमा गहन समीक्षा हुनुपर्छ ।

माओवादलाई नेपालको परिवेश यहाँको शासकीय स्वरूपमा वर्ग संघर्षको रूपमा प्रयोग गर्न सकिए पनि शासन सञ्चालनका हिसाबमा माओवालाई त्यही रूपमा लिन सकिँदैन । यो सबैका अघि घामजत्तिकै छर्लंग छ । त्यो बुझाइएमा अलमलिनुहुँदैन ।  त्यसैले, पार्टी एकतापछि हुने महाधिवेशनसम्म पुग्दा दुवै पार्टीका नेतृत्वपंक्तिले आफ्ना कार्यकर्तालाई यो हिजो र आजका कैयौँ विषयमा प्रस्ट पार्नुपर्छ । त्यस्तै, माओवादी केन्द्रले पनि आफ्ना विगतका पूर्वाग्रहलाई त्यागेर जबजमा भएका राम्रा पक्षलाई ग्रहण गर्ने र त्यसका सिलसिलामा भएका कमीकमजोरीलाई पनि निर्ममतापूर्वक समीक्षा गर्नुपर्छ ।

हिजो संसदीय संघर्षका क्रममा एमालेले गरेका कमीकमजोरीलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ र त्यसका कमीकमजोरीलाई छोडेर राम्रा पक्षलाई समेट्दै अगाडि बढ्न दुवै पक्ष तयार हुनुपर्छ । यसो गर्न सकियो भने मात्र वाम एकता सम्भव हुन्छ र यसले भोलिका दिनमा भीमकाय ऊर्जा पैदा गर्नेछ र त्यो भीमकाय ऊर्जाले नै देशको अग्रगामी रूपान्तरण र समाजवादको वास्तविक आधार तयार गर्नेछ ।
कुराकानीको आधारमा तयार गरिएको ।

प्रतिक्रिया