न्हुंछेनारायण श्रेष्ठ
१२ वैशाख २०७२ को भूकम्पपछि नेपाली सञ्चारमाध्यमको भूमिका अझ बढ्न पुगेको छ । सर्वसाधारण नागरिकलाई राष्ट्रको चौथो अंगको नाताले समाचार सम्प्रेषण गरी आफ्नो अहं दायित्व पूरा मात्रै गरेन, थप दुर्घटना र मृत्युको मुखबाट समेत जोगाउनु सहज विषय थिएन । वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका परकम्पको असरबाट क्षतिग्रस्त संरचनाहरूको दिगो, दरिलो, योजनाबद्घ र शीघ्र पुनर्निर्माण कार्य सम्पन्न गर्न तथा भूकम्पबाट विस्थापित भएका व्यक्ति र परिवारको स्थानान्तरण तथा पुनर्वास गरी राष्ट्रिय हित प्रर्वद्घन तथा सामाजिक न्यायसहितको पुनरुत्थान गर्ने हेतुले अधिकारसम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको र सोको समाचार भूकम्प पीडितहरको घर, टोल, गाउँ–गाउँसम्म पु¥याउन सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरू अहोरात्र लागिरहेका छन् ।
प्राधिकरणको काम चुस्तदुरुस्त बनाउनसमेत राष्ट्रको चौथो अंग लागिरहेको छ । प्राधिकरणले दुई वर्षसम्म अनवरत रूपमा पीडितका लागि कार्य गरेको जनाए पनि प्राधिकरणमा राजनीतिक नियुक्ति, प्राविधिकहरूको अभाव, आन्दोलन र अन्य कारणहरूले गर्दा अझैसम्म पनि पुनर्निर्माण कार्यले सफलता प्राप्त गर्न सकेको छैन । भूकम्पीय क्षतिपछिको पुनर्निर्माण कार्यलाई हेर्ने हो भने हालसम्म सन्तोषजनक स्थिति देखिँएको छैन् । भूकम्प अति प्रभावित १४ जिल्लामा मात्र निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या २ लाख ७५ हजार पुगेको तथ्यांकले देखाएको छ । त्यसैगरी, आव ०७४÷०७५ मा कुल ३१४ वटा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण कार्य अघि बढेको, २७४१ वटा विद्यालय भवनहरू निर्माण भइसकेका जनाइएको छ ।
हालसम्मको अवधिमा ७९,५१४ निजी आवास पुनर्निर्माण सम्पन्न भएको र १९४,१९६ निर्माणाधीन रहेको, खानेपानी पूर्वाधार ९०४ वटा सम्पन्न भएको, स्वास्थ्य संस्था २५७ वटा, १७७ वटा सरकारी भवन, ७९ वटा पुरातात्विक÷सांस्कृतिक सम्पदा, ४४ वटान सुरक्षा निकायका भवन र ८१६ वटा नमुना घर निर्माण गरिएको विवरण पुनर्निर्माण प्राधिकरणले दिएको छ । प्राधिकरणसमक्ष थुप्रै भूकम्प पीडितहरूको गुनासाहरू र पुनर्निर्माणका लागि सम्झौता पनि गरेको र हालसम्म पनि दोस्रो किस्ता नपाएका पीडितहरू टहरामा रात काट्न बाध्य छन् । भूकम्प पीडितहरूको घाउमा मल्हमपट्टी लगाउने कार्यमा राज्यको चौथो अंग सञ्चारमाध्यम र पत्रकारले सधैँ घचघच्याएकै कारण केही हदसम्म भए पनि पीडितहरूले राहत पाउन सफल भएका हुन् ।
नेपाल सरकारले बर्सेनि माघ २ गतेका दिन भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ । वर्षमा एक दिन मात्रै मनाइने यस्ता कार्यक्रमहरू कति प्रभावकारी भए, यसको महत्व र उद्देश्यसम्म हामी पुग्यौँ कि पुगेनौँ भन्ने समीक्षा कहिल्यै नभएका कारण औपचारिकतामा मात्रै सीमित रहेको आरोपहरू नआएका होइनन् । यस्ता र अन्य आरोपहरूको पछि नलागी नेपाल सरकारले दिगो, स्थायी हुने खालका भूकम्पसम्बन्धी ऐन, नियम, आचारसंहिता निर्माण गरी आगामी दिनमा हुन सक्ने भूकम्पीय क्षतिलाई न्यूनीकरण गर्नाका लागि दत्तचित्त भएर लाग्नुपर्ने अवस्था आएको छ । आमनागरिकले भूकम्प दिवसभन्दा पनि भूकम्प शिक्षा चाहेका छन्, सरकार यसतर्फ गम्भीर बन्नुपर्दछ र भविष्यमा हुने क्षतिलाई न्यूनीकरणको बाटोमा लाग्नुपर्दछ ।
सञ्चारमाध्यम जस्तोसुकै विषम परिस्थितिमा समेत जोखिम मोलेर आत्मबल उँचो राख्दै आमनागरिकको भूकम्प र सरकारी सेवा, सुविधा, स्वास्थ्य लगायतका विषयमा मात्रै बोलेन, सरकारका कमीकमजोरी र पीडितको व्यथालाई जस्ताको तस्तै उतार्न सक्नु पत्रकारहरूको महान् कार्य हो । देश तथा विदेशका पत्रकारहरूको खोज, अनुसन्धानको विषयवस्तु पनि भूकम्प र नेपाल बन्यो । भूकम्पको समयमा समाचार सम्प्रेषण र संकलनको क्रममा केही कलम भाँचिए होलान्, केहीमा दाग लागे होलान्, तर पनि कलमको मसी कहिल्यै सुकेन ।
देश विषम परिस्थिति र जोखिममा परेको अवस्थामा समेत नेपालका टिभी, रेडियो पत्रपत्रिकाहरूले आफ्नो पथ कहिल्यै भुलेनन्, बरु झन् परिस्कृत र फरक शैलीमा आमजनमानसमा रहन सफल रह्यो । भूकम्पसम्बन्धी विभिन्न हल्लालाई समेत चिर्दै समाजलाई सुसूचित गराउँदै अगाडि वढिरह्यो । पत्रकारहरू जस्तोसुकै समयमा पनि संयमित, धैर्य र कुनै पनि दलगत स्वार्थमा नलागी निष्पक्ष, निर्भीक भएर समाचार सम्प्रेषण गरिरहेको दृश्य र आवाजबाट आमनागरिक सचेत र सतर्क मात्रै होइन, राष्ट्रप्रति ओतप्रोत भई सहयोगी हातहरू अगाडि बढाई राहत र उद्घार कार्यमा खटिएका थिए ।
१२ गतेको भूकम्पले कतिपय रेडियो स्टेशनसमेत अवरुद्घ भएका थिए । त्यसैगरी, टिभी च्यानलसमेत प्रभावित भए, तर पनि सूचना दिने कार्यमा नेपाली सञ्चारमाध्यम कहिल्यै पछाडि परेनन् र सूचना, समाचार सम्प्रेषण गरिरहे । कतिपय जिल्लाका पत्रकार घाइते भए, कति घरबारविहीन भए, तैपनि स्थलगत रिपोर्ट र गाउँ, टोल, छिमेककका सही र यथार्थ समाचार सम्प्रेषण गर्न कहिल्यै पनि छुटेनन् । आफ्नो घर, परिवारभन्दा राष्ट्र प्यारो भन्ने ठानेर दिनरात उनीहरू खटिरहे, अक्सिजनरूपी पवनजस्तै ।
आमसञ्चारमाध्यमकै रूपमा पत्रपत्रिकाले पनि उत्तिकै सहयोग गरेको पाइयो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राष्ट्रिय दैनिकदेखि मोफसलका पत्रपत्रिकाहरूले समेत भूकम्प र अपनाउनुपर्ने सावधानीका अलावा सुरक्षाका लागि अपनाउनुपर्ने विषयको उत्थान गरी थप मानवीय क्षति हुनबाट बचाएको थियो । कहालीलाग्दा दृश्यहरू आफ्नो क्यामरामा कैद गर्दै क्यामरा पर्सनहरूले आफ्नो बहादुरी देखाए भने चर्किएको स्टेसन, कार्यालयमा मात्रै होइन, बाटोमै स्टुडियो बनाएर केही टिभी च्यानलहरूले आफ्नो नियमित कार्यक्रमभन्दा फरक भूकम्पलाई प्राथमिकता दिई विज्ञहरूको अन्तवार्ता लिने, जिल्लाहरूमा संवाददाताहरूलाई सम्पर्क गरी लाइभ प्रसारण गर्ने, सर्वसाधारण नागरिकहरूको आवाजलाई जस्ताको तस्तै प्रसारण गर्ने कार्य गरे र आमनागरिक सुसूचित हुने अवसर प्रदान गरे । यस कार्यबाट आमनागरिकहरूले सूचनाबाट कहिल्यै पछि हट्नुपरेन ।
भूकम्पबाट हाम्रा ऐतिहासिक धरोहरहरू, संरचनाहरू भत्किएका तस्बिरहरू, भूकम्पबाट भत्किएका घरहरूबाट जिउँदै निकालिएका नागरिक र उद्घारटोलीको तस्बिर, विभिन्न स्थानमा राहतका सामग्री नपुगेका दृश्यहरू र संविधानसभाका सदस्यहरूले पाल लिँदै गरेको दृश्यसमेत पत्रकारले जस्ताको तस्तै प्रस्तुत गरे, जुन समयसान्दर्भिक र नागरिकलाई सुसूचित गराउने खालको थिए । अर्कोतर्फ कालाबजारी, राहतको नाममा बेचिएका पाल, चामल लगायतका विषयवस्तु र सरकारको सम्बोधन र भूकम्पको समयमा संविधानसभा हलमा भएको बैठकबाट सभासदहरू भागेको, त्रिपाल लिँदै गरेको र सरकारको संकल्प प्रस्ताव पारित भएको समाचार प्रत्यक्षप्रसारण गरेको दृश्यले आमनागरिकलाई देशभित्र के भइरहेको छ भन्ने कुराको स्पष्ट पारेको थियो । अहिले पनि सरकारले पुनर्निर्माणका कार्यका समाचार जस्ताको तस्तै पस्कने काममा सञ्चारमाध्यम लागि नै रहेका छन् ।
सञ्चारमाध्यमले भूकम्पबाट बच्नको लागि पूर्वसावधानीसमेत सार्वजनिक रूपमा समय–समयमा रेडियो, एफएमबाट प्रसारण गरिरहेका छन् भने पत्रपत्रिकाहरूले छाप्दै आएका छन् । सञ्चारमाध्यमले जनचेतना जगाउँदै यस्ता कुराहरू प्रसारण गरिरहेका थिए र आमनागरिकलाई आफू सुरक्षित हुन र अरूलाई समेत सुरक्षित हुन सार्वजनिक अपिल गरिरहेका थिए । खुला ठाउँमा जाने, ठुल्ठूला भौतिक संरचना र पर्खालनिर नबसौँ, घरबाट भाग्ने, दौडने नगरौँ । घरभित्र छौँ भने टेबुल, बेन्चभित्र पसौँ, सवारीसाधनभित्र छौँ भने नआत्तिकन साइड लगाएर रोकौँ र भूकम्पको धक्का कम हुँदै गएपछि मात्र आफ्नो गन्तव्यतिर लागौँ ।
पानी, औषधि, डोरी, पाल, टर्च लाइट, लाइटर, रेडियो, केही पैसा र ड्राई फुड र चप्पल झोलाभित्र घरका परिवारहरूले भेट्ने ठाउँमा राखौँ, कमजोर भूबनोट, कमसलनिर्माण सामग्री, भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण गर्नुका साथै दक्ष प्राविधिकको सरसल्लाहमा भवन निर्माण गर्नको लागि समेत सञ्चारमाध्यमले पुलको रूपमा कार्य गर्दै अघि बढिरहेको छ । भूकम्प गइसकेपछि विशेषगरी वृद्घवृद्घा, बालक र सुत्केरी महिलाहरूलाई पहिलो प्राथमिकता दिई खुला ठाउँमा राख्नको लागि युवालाई राहत र उद्घार कार्यमा खटिनसमेत झक्झकाइरहेका थिए भने सामूहिक रूपमा बस्दा निस्कने फोहोरबाट लाग्न सक्ने रोग र सावधानीका उपायहरू समेत सञ्चारमाध्यमबाट निरन्तर प्रसारण गर्नुले सञ्चारमाध्यमको विश्वसनीयता र पारदर्शिता थप उँचो बनाएको छ र आगामी दिनमा समेत यस्तै र थप नयाँ कुराहरू आमनागरिकमा सुसूचित र सम्प्रेषण गर्ने दायित्वबाट सञ्चारमाध्यम कहिल्यै पनि पछाडि पर्नुहँुदैन । भूकम्प सुरक्षा दिवस सरकारले बर्सेनि मनाउनु स्वाभाविक हो तर सरकारका भूकम्पसित सम्बन्धित त्यस्ता कार्यक्रमहरू कार्यान्वयनका लागि सबैको पहँुचमा पुग्नुपर्ने आवश्यकता छ ।
प्रतिक्रिया