अनिल योगी
देशमा प्रजातन्त्र अर्थात् लोकतन्त्र ल्याउन राजनीतिक दलका नेताहरूले राष्ट्र र जनसाधारणको निकै ठूलो बर्बादी गरेका छन् । तर, ती पार्टीहरूभित्र लोकतन्त्र आएको छ त ? छ भनेर मान्न सकिने कुनै आधार छैनन् । हामीले पत्रकार हुन पाएका छौँ, आफ्नो विचार प्रवाह गर्न पाएका छौँ, जनताले भोट हाल्न पाएका छन्, नाराजुलुस गर्न पाएका छौँ, राज्यसत्तामा बसेर पालैपालो दलका नेताहरूले मस्ती गर्न पाएका छन्, चाहिनेनचाहिने मान्छे राज्यको भारका रूपमा मन्त्री हुन पाएका छन्, प्रजातन्त्र अर्थात् लोकतन्त्र भनेको के यति मात्र हो त ? होइन । लोकतन्त्र वा प्रजातन्त्र भनेको शासनको एउटा विधि हो, प्रक्रिया हो ।
त्यो विधिसँग नैतिकताको खोजी हुन्छ, राजनीतिक चरित्र र इमानदारीको खोजी हुन्छ । जनता र आफ्नो राष्ट्रप्रति शासकहरू र शासन व्यवस्था जब उत्तरदायी बन्न सक्छ अनि मात्र त्यो लोककल्याणका लागि काम गर्ने वैधानिक व्यवस्था हो भनेर जनताले भरोसा गर्ने र मान्ने आधार हुन्छ । शासक र शासन व्यवस्थालाई मान्ने आधार सकियो भने जनता आन्दोलित हुन्छन् शासक र शासन व्यवस्थाको एकैसाथ अन्त्य हुन्छ । नेपालको आजको अवस्था त्यही हो ।
देश बनाउनुको सट्टा आफ्नो घर बनाउने, दुनियाँलाई सुख र शान्तिले बाँच्न सक्ने बनाउनुको सट्टा आफ्ना साखासन्तानलाई सुखको जीवन दिन राज्य र दुनियाँलाई दुःखमा पार्ने तत्वहरूले नैतिकतामा आधारित विधिको शासन चलाएनन् भन्नु नै व्यार्थको कुरा हो । माओले यसो भनेका थिए, लेनिनले त्यसो भनेका थिए, गान्धीले यसो भनेका थिए, पुष्पलालले त्यसो भनेका थिए, बिपीले यसो भनेका थिए भन्दै नेताहरूले भाषण गर्दै दशकौँ बिताए । त्यसरी राष्ट्रको विकास हुने थिएन र जनतालाई सुख र शान्ति पनि प्राप्त हुने कुरा थिएन । नेता हुनका लागि कुनै विश्वविद्यालयको सर्टिफिकेट आवश्यक सर्त होइन ।
जो नेता हुन्छ, राष्ट्र र सामजको अगुवाइ गर्छ, त्योसँग दूरदृष्टि र आधारभूत विवेक हुनैपर्छ, त्यो आवश्यक सर्त हो । नेपालमा जो पनि नेता बन्न पाउने र हुने अनैतिक परिपाटीलाई उन्नत खालको लोकतान्त्रिक व्यवस्था हो भन्ने र गुन्डा, आवारा, कानुनले पटक–पटक दण्डित गरेका मानिसहरूलाई राज्य सञ्चालनको केन्द्रमा ल्याउने विवेकहीन राजनीतिक नेतृत्वले जनअनुमोदित मर्यादासहितको शासन व्यवस्था हाँक्न सक्दैन ।
राज्यसत्तामा बसेर आर्थिक भ्रष्टाचार गर्नु मात्र भ्रष्टाचार होइन, विचार भ्रष्ट हुनु, राष्ट्र र जनतासामु गरिएका प्रतिबद्धता पूरा नगर्नु पनि भ्रष्टाचार हो । यो अर्थमा नेपालका राजनीतिक दल र नेताहरू एकाधबाहेक सबै भ्रष्ट छन् । यो कुनै आक्षेप होइन, नेपालका नेताहरूले राष्ट्र र जनतासामु जुन कुरा भनेका थिए, त्यो गर्नै सकेनन् ।
राज्यको सम्पत्तिमा हुने भ्रष्टाचारका विषयमा ठोस कार्यक्रम अगाडि सार्न नसक्ने, जनतालाई दुःख पर्दा बेखवरजस्तै हुने र राज्यबाट मद्दत गर्दा पनि झारा टारेजस्तो गर्ने नेपालका नेताहरूको चरित्रलाई लोकतान्त्रिक भन्न सकिँदैन । राष्ट्रको उन्नति प्रगति र दुर्गतिका विषयमा जनतालाई जवाफ दिन तयार नहुने नेपालका शासकहरूको अराजनीतिक संस्कार र चरित्रले लोकतन्त्रलाई सम्बोधन गर्न सक्दैन । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसले फलाक्ने गरेको समाजवादप्रति कांग्रेसीहरू नै इमानदार छैनन् । एमाले पार्टीले फलाक्ने गरेको जनताको बहुदलीय जनवादप्रति एमाले भन्नेहरू नै इमानदार छैनन् ।
हालको माओवादी केन्द्र अर्थात् सबै पूर्वमाओवादीहरूले नयाँ जनवादी व्यवस्था स्थापना गर्ने भन्दै हजारौँ नेपाली युवाहरूलाई मराए तर उनीहरू पनि आफूले फलाक्ने गरेको जनवादी व्यवस्थाप्रति इमानदार बन्न सकेनन् । सबैको उद्देश्य राष्ट्र र नेपाली जनताप्रति उत्तरदायी बन्न नपर्ने, विदेशीलाई रिझाए पुग्ने, यही झल्लरी व्यवस्थालाई नै बोक्नु थियो भने राष्ट्र र जनताको अकल्पनीय बर्बादी किन गरियो ? यो विषयमा नेताहरूले जनतालाई जवाफ दिने कि नदिने ? राष्ट्र सबै नेपालीको साझा हो र यो राष्ट्रको विकास र जनताको प्रगतिका विषयमा चासो र चिन्ता गर्ने अधिकार राष्ट्रवासी सबैलाई बराबरी हुन्छ ।
राष्ट्रको विकास गर्दै आफ्नो दुनियाँलाई कसरी बचाउने भन्ने बुद्धि र जुक्ति नभएका मान्छेहरू नेताको आवरणमा राज्यको केन्द्रमा पुग्दैमा मात्र राष्ट्र र दुनियाँको उत्थान नहुने रहेछ भन्ने कुरा साबित भइसकेको छ । दलका नेताहरूले देशलाई दलदलमा फसाउने कामबाहेक कुनै त्यस्तो उत्तम काम गरेका छैनन् । हजारौँ जनताको बलिदानबाट एक थान संविधान बनाउनु र केन्द्रकै सरकार राष्ट्रका लागि भार भएको राष्ट्रमा प्रदेशका नाममा अरू सात वटा सरकार बनाएर राष्ट्रलाई आर्थिक रूपले चौपट बनाउने काम गर्नु महान् उपलब्धि हो भन्ने कसैले ठानेको छ भने त्यो अज्ञानताको परिणाम मात्र हो । राष्ट्र र दुनियाँको उत्थानका लागि नेताहरूले सामूहिक विवेकको प्रयोग गर्न नसक्दा र विदेशीको ग्राइन्ड डिजाइनमा काम गर्न राजी हुँदा नेताहरूको राजनीतिक र नैतिक तागत समाप्त हुँदै गएको हो ।
दलका नेताहरूले विवेक प्रयोग नगरी राष्ट्रलाई अगाडि लैजान खोज्दा राष्ट्रको भविष्य सुरक्षित हुँदैन कि भन्ने जनजनका मनमा डर पैदा भएको छ । राष्ट्रिय एकता र सामाजिक सदभाव बिथोलिने त होइन भन्ने सामाजिक रूपमा त्रास पैदा भएको छ । जातीय विखण्डन गर्नका लागि र भुगोलको विखण्डनका लागि सुशुप्त रूपमा केही त्यस्ता तत्व र व्यक्तिहरू नजानिँदो तरिकाले विदेशीको पैसा खाएर राष्ट्र र समाजका विरुद्ध काम गरिरहेका छन् ।
कसका आदेशमा हो, आफूलाई गणतन्त्रवादी भन्नेहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती एक दशकभन्दा बढी समय मनाउन मानेनन् । ०७४ साल पुस २७ गते राष्ट्र निर्माताको जन्मजयन्ती मनाउन बाध्य भए । नेपाल सरकार र आमनेपालीले राष्ट्र निर्मातालाई सम्झिँदै गर्दा र जन्मजयन्ती मनाउँदै गर्दा केही तत्वहरूले राष्ट्र निर्माताको तस्बिरमा आगो लगाए त केहीले अपमानजनक व्यवहार प्रदर्शन गरेको देख्न र सुन्नमा आयो । राज्य बलियो थियो भने ती तत्वहरूलाई कडाभन्दा कडा कारबाही गरिसक्थ्यो । राष्ट्र निर्माताप्रति अपमान गर्नेहरूलाई सत्ता र सरकारले कानुनी दायरामा ल्याउन सकेन र लाचार बन्न बाध्य भयो ।
नेताहरू सज्जन भएको भए राष्ट्रिय लज्जाको जीवन नेपालीले बाँच्नुपर्ने अवस्था किमार्थ सिर्जना हुने थिएन । राष्ट्रको उत्थानका लागि विगत राणा र राजाको जति पनि विवेक प्रयोग गर्न नसक्नेहरू कसरी नेता भए, कसरी राज्यसत्ताको केन्द्रमा आए, पत्तै भएन । ०४७ सालको संविधान सर्वोत्कृष्ट हो भन्नेहरू र त्यो संविधान फाल्नका लागि हतियार उठाउने माओवादीहरूलाई एकै ठाउँमा राखेर परिचालन गर्ने बाह्य तत्वको योजना अझै पूरा भएको छैन । संविधानसभामार्फत जनताद्वारा निर्वाचित जनप्रतिनिधिले संविधान निर्माणपछि देशको उत्थान हुनेछ भनेका थिए । तर, भनेअनुसार हुन सक्ने अवस्था देखिएन र संविधान आएपछि देशको उत्थान हुनुको सट्टा संविधान नै विवादमा परेको छ । चुनाव भएपछि सबै कुरा पूरा हुनेछ भनियो र नेपाली जनताले चुनावमा सहभागिता पनि जनाए, चुनावपछि त झन् महँगी बढाइयो । यस्तो जनविरोधी र गैरजिम्मेवार सत्ता र व्यवस्था चल्यो कि शब्दमा व्यक्त गर्नै सकिँदैन ।
लाखौँ नेपाली विदेशी भूमिमा रगत–पसिना बगाउँदै आफ्नो भविष्य खोज्न बाध्य भएको देशका शासक र सत्ताले आफ्नो देशका जनतालाई देशभित्रै बाँच्ने अवस्था कसरी सिर्जना गर्न सकिएला भन्ने विषयमा भाषणमा बाहेक एक दिन पनि छलफल गरेको सुनिएन र देखिएन । सत्तामा जाने, मन्त्री हुने र गरिब जनताका बीचमा रबाफिलो जीवन बाँच्ने नेताहरूलाई कहिले पनि लज्जाबोध भएको नेपालीले सुन्न र देख्न पाएनन् । लाजसरम भन्ने कुरा नेता हुनेहरूका हकमा लागू नहुने विषय रहेछ । नाम मात्रको लोकतन्त्र अथवा प्रजातान्त्रिक व्यवस्था ल्याउँदैमा आफैँ देश बन्ने होइन भन्ने कुरा हामीले बुझ्न सकेनौँ ।
व्यवस्था सञ्चालन गर्ने मान्छेका चरित्र र चिन्तन कस्ता छन् भन्नेतर्फ हाम्रो ध्यान जानै सकेन । नेताहरूले जताजता जाऊ भन्छन् त्यतैतिर हिँड्नु मात्र हाम्रो जीवनको कर्तव्य हो भन्ने ठानियो । नेताहरूले राष्ट्र र हामीलाई कुन खाडलमा कोच्दैछन् भन्ने कुरा नेपालीले सोच्नसम्म सकेनन् । दलका नेताहरूले थिति र विधिलाई आत्मसात नगर्दा पनि नेपालका गन्ने मान्ने जिम्मेवार नागरिकले त्यसको विरोध गर्न सकेनन् । जुन देशका बुद्धिजीवीहरू स्वार्थी र लोभीपापी हुन्छन्, त्यो देशको राजनीतिक व्यवस्था र राजनीतिक नेतृत्व अनियन्त्रित र भ्रष्ट हुँदै जाँदो रहेछ । भ्रष्ट र बेइमानहरूले चलाएको सत्ता र व्यवस्थासँग लोककल्याणकारी काम गर्ने हैसियत र राजनीतिक क्षमता हुँदैन ।
प्रतिक्रिया