हरि लम्साल
नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने र चुनावमा वाम गठबन्धन गर्ने घोषणा भएपछि मुलुकको राजनीति तरंगित हुन थालेको हो । वाम एकताको घोषणालाई जनताले निर्वाचनमार्फत अनुमोदन गरिसकेका छन् । तर, जनताको चाहना र देशको परिकल्पनाभित्र वाम गठबन्धनको एकता कसरी सुल्झेला ? अहिले अहं प्रश्न उठिरहेको छ । दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीबीच चुनावी गठबन्धन मात्रै भएन घोषणापत्रसमेत एउटै थियो । उम्मेदवार चयनमा पनि आपसी सहमति अपनाइएको थियो । ६० र ४० प्रतिशतको भागवण्डा गरिए पनि उमेदवारी चयनमा वरिष्ठता, निरन्तरता र क्षमतालाई पनि ध्यान दिइयो, जसलाई जनताले पत्याए ।
चुनावी तालमेल एमाले र माओवादीबीच मात्रै सीमित रहेन । गणतन्त्रको संस्थागत विकास चाहने सबैखाले जनमतलाई यो गठबन्धनले आकर्षित ग¥यो । राष्ट्रवादी र देशभक्त शक्तिले यो गठबन्धनलाई समर्थन गरे । चुनावी परिणमले के देखायो भने यो तालमेल वामशक्तिहरूबीच मात्रै सीमित रहेन । राष्ट्रवादी र देशभक्त शक्तिहरू पनि मतदानमार्फत सामेल भए । उदाहरणका लागि राप्रपाले केही सिटमा नेपाली कांग्रेससँग र केही सिटमा वाम गठबन्धनसँग तालमेल गरेको थियो । तर, नेपाली कांग्रेससँगको तालमेल सफल भएन, वाम गठबन्धनसँग गरिएको तालमेल भने सफल भयो । यसले के देखाउँछ भने राप्रपाभित्रको राष्ट्रवादी तथा देशभक्त शक्ति नेपाली कांग्रेसलाई होइन वामपन्थी शक्तिलाई विश्वास गर्छ । यसैगरी, कम्युनिस्ट पार्टीभित्रका ससाना घटक पनि कोही माओवादीसँग त कोही एमालेसँग मिल्न पुगे । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फको निर्वाचनमा अत्यधिक संख्यामा एमाले–माओवादी उम्मेदवार विजयी हुनुको मुख्य कारण यही हो । ओली र प्रचण्ड चुनावी आमसभामा एउटै पार्टीको जस्तो हुन पुगेका थिए ।
जसका कारण चुनावपछि बहुमतको सरकार गठन हुन्छ भन्ने आशा जनतामा जाग्यो । स्थिर सरकार जनताको मुख्य चाहना हो । अस्थिर सरकारका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको जनबुझाई रहँदै आएको थियो । विगतका तीन वटा निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले मत दिएका थिए । तर, तीनै पटक नेपाली कांग्रेसले स्थायी सरकार दिन सकेन । दुई पटक त संसद्समेत नेपाली कांग्रेसकै कारण विघटन भयो । त्यसकारण पनि जनताले नेपाली कांग्रेसको विकल्प खोजेका थिए ।
पूर्वप्रतिबद्धताअनुसार एमाले र माओवादीबीच पार्टी एकीकरण भयो भने मात्रै जनताको चाहना पूरा हुन्छ । तर, एकता कसरी सम्भव हुन्छ भन्नेतिर नै सबैको आँखा गएको छ । आन्तरिक शक्तिले त यो एकता रोक्न सक्म्ने सामाथ्र्य राख्दैन नै । एमाले र माओवादीबीचको एकीकरण तोड्ने उद्घोष नेपाली कांग्रेसका नेताहरूले ािर्वजनिक रूपमा गरेका छन् । तर, बाह्य शक्तिको आड भरोसाविना त्यो सामाथ्र्य नेपाली कांग्रेसले राख्न सक्दैन । किनकि, एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वयुवराज्ञी हिमानी शाहबीच हालै थाइलैन्डमा सम्पन्न भेटघाट अर्थपूर्ण छ । तर, बाह्य शक्तिले केकति चलखेल गर्छन् ? भन्न सकिने अवस्था छैन ।
नेपालमा राजनीतिक अस्थिरता र आर्थिक अवनति हुनुको प्रमुख कारण बाह्य शक्तिहरूको हस्तक्षेपबाट हो भन्ने छर्लंग नै छ, तर सत्तामा वामशक्तिको दह्रो उपस्थितिले मात्रै राजनीतिक स्थिरता प्राप्त हुन्छ र मुलुक समृद्धितर्फ अगाडि बढ्छ भन्नेमा बहुसंख्यक नेपाली विश्वस्त छन् भन्ने चुनावी परिणामले पनि देखाएको छ । एमाले र माओवादी केन्द्रको नेतृत्व कति अगाडि बढेको छ भने पछि फर्कने पुल नै भत्किसकेको छ । अबको १५ दिनभित्रै एमाले र माओवादी केन्द्रको एकता नै हुने भएकाले सम्भवतः एकता हुन्न भन्नेहरू हिस्स पर्ने भएका छन् । शताब्दीऔँदेखि नै नेपाली जनता र नेपाल राष्ट्र आन्तरिक उत्पीडन र बाह्य हस्तक्षेपको चक्रमा पिसिएकाले माथि उठ्न नसकेको हो ।
वर्गीय, जातीय, सांस्कृतिक र लैंगिक विभेदबाट मुक्त हुने गरी सामाजिक–राजनीतिक संरचना बदल्ने गरी आन्तरिक संघर्ष र बाह्य हस्तक्षेपबाट मुक्त हुने गरी राष्ट्रवादी राजनीतिक अडान, कांग्रेसलगायत अन्य दक्षिणपन्थी पार्टीबाट नभई कम्युनिस्टहरूकै नेतृत्वमा सम्भव भएको नेपाली जनताले अनुभूत गरे । सिंगो कम्युनिस्ट आन्दोलन नै राष्ट्रवादी छविमा उभिन पुगेको हो कि भन्ने भान पनि परेको छ । वामपन्थी गठबन्धनको एकतासँगै नेपाली राजनीतिले गोरेटो पक्रन सक्यो भने नेपाली समाज अवश्य नै अगाडि बढ्न सक्छ ।
नेपालजस्तो अर्धविकसित देशको राजनीतिमा बाहिरी शक्तिको सक्रियता भइरहेको सन्दर्भमा राजनीतिक अस्थिरता अन्त्य गरी देशभक्त शक्तिहरूको कर्तव्यलाई नबिर्सिकन षड्यन्त्रमूलक गतिविधिविरुद्धमा सशक्त रूपमा उभिन सक्नुपर्दछ । मुलुकका राजनीतिक शक्तिहरूमा न्यूनतम संस्कार नहुँदा बाहिरी शक्तिले चलखेल गरी आन्तरिक राजनीतिलाई प्रभाव पारिरहेका हुन्छन् । जस्तो, दक्षिण कोरियामा अमेरिकी सेना वर्षौंदेखि तैनाथ छन्, तैपनि त्यो देशका नयाँ निर्वाचित राष्ट्रपतिले अमेरिकालाई समय–समयमा चेतावनी पनि दिएका हुन्छन् । भर्खरै दक्षिण कोरियाले उत्तर कोरियाका नेतालाई २०१८ को नववर्षको उपलक्ष्यमा दिएको सन्देशपछि वार्ता शुरु गर्ने र युद्ध भड्काउने गतिविधि कम गर्ने बचनबद्धता देखाएका छन् ।
यो उदाहरणबाट देशका शीर्षस्थ नेताहरूमा राष्ट्रिय हितप्रति अगाध आस्था र विश्वास भएको खण्डमा ठुल्ठूला विदेशी शक्तिलाई पनि आन्तरिक मामिलामा दख्खल पु¥याउनबाट रोक्न सकिन्छ भन्ने सिक्न सकिन्छ । अहिलेको अवस्थामा वाम गठबन्धन बाहिरी शक्तिका कारणले टुट्यो भने त्यसको प्रमुख दोष यही देशभित्रकै नेताहरूको हुनेछ र जनताले दिएको अभिमतको अपमान हुनेछ । कुनै पनि बहानामा अन्य शक्तिहरूलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट मुक्ति पाउने अवसर हाम्रा नेताहरूलाई हुनेछैन ।
राजनीतिक संस्कार, अर्थात् जनतामाथि विश्वास गर्ने प्रवृत्तिको कमीले अझै पनि देश अन्योलको स्थितिमा छ र औपनिवेशिक अवस्थाको राजनीति देशमा विद्यमान छ । प्रमुख राजनीतिक शक्तिहरूले मुलुक र जनतालाई आभाष हुने गरी परिवर्तन ल्याउन सकेका छैनन् । संसदीय प्रजातन्त्रमा यो वा अर्को पार्टी तथा गठबन्धन सत्तामा आउनु स्वाभाविक विषय हो । सबैले विद्यमान संविधानलाई टेकेर शासन व्यवस्था सञ्चालन गर्ने हो । कांग्रेस–एमाले, माओवादी केन्द्र सबैले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरिसकेकाले एकबाट अर्को आफ्नो अस्तित्वमाथि खतरा भएको अनुभव गर्नुपर्ने अवस्था छैन ।
अहिले वाम गठबन्धनले पाएको बहुमतअनुसार काम गर्न सकेन भने अर्को चुनावमा यो गठबन्धन जनताबाट बहिस्कृत हुन के बेर ? संसदीय व्यवस्थामा सत्तासीन एवं विपक्षी पार्टीहरू उत्तिकै महत्वपूर्ण हुन्छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वपूर्ण विषयमा सकेसम्म राष्ट्रिय सहमति बन्नुपर्दछ र सत्ता हस्तान्तरणको नाममा दुवै पार्टीले बाहिरी हस्तक्षेप निस्तेज पार्नुपर्दछ र जनताको आदेश पालना गर्नै पर्दछ । देशको परिकल्पनासँगै वाम गठबन्धनको एकताले देशमा शान्ति, समृद्धि र स्थिरता ल्याउने विश्वास दिलाउने नै छ ।
प्रतिक्रिया