कम्युनिस्ट पार्टी एकताको कुरा

दलहरू मिलेर देश विकासमा लाग्नुपर्ने आवश्यकता छ । दलहरू एकआपसमा मिल्न नसक्नु भनेको विकासको गतिलाई रोक्न रोज्नु हो । अबको कार्यभार भनेको संविधानलाई कार्यान्वयनमा ल्याउनु र मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनु नै हो । अब कुनै पनि बाहनामा संविधान कार्यान्वयनमा अलमल गर्नु हुँदैन । लोकतन्त्रको संरक्षण र संवद्र्धनका लागि सबै लोकतन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ ।

डिआर उपाध्याय
स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एक वर्ष भित्रमा सम्पन्न हुनु ठूलो उपलब्धिपूर्ण काम हो । संघीय संसद्का दुई सदन मध्ये माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी छ । अब यो निर्वाचन हुने तयारी छ । राष्ट्रिय सभा निर्वाचनका लागि आगामी २४ माघको दिन निर्धारित गरिएको छ । प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फको परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचनतर्फको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।

जसले गर्दा प्रतिनिधिसभाको गठन हुन बाँकी नै छ । प्रतिनिधिसभाको गठन नभई नयाँ सरकार बन्ने सम्भावना छैन । नयाँ सरकार गठनमा केही कानुनी जटिलता देखिएका छन् । अहिले ती सबै कानुनी जटिलता समाधान भइसकेको अवस्था होइन । कानुनी जटिलताको समस्या समाधान हुने बित्तिकै नयाँ सरकार गठनको मार्ग प्रशस्त हुन्छ । अब सबै राजनीतिक दलहरू मिलेर प्रतिनिधिसभालाई पूर्णता दिने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणाली तर्फको परिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा गठन हुनै पर्ने निर्वाचन आयोग भन्दै आएको छ ।

निर्वाचन आयोग कुनै दलको दबाबमा परेर होइन, संविधानको मूल्य र मान्यताअनुसार काम गर्नुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश जारि भइसकेपछि निर्वाचन आयोग चलायमान भएको छ । अध्यादेश प्रमाणीकरणसँगै राष्ट्रिय सभा सदस्य निर्वाचन नयाँ सरकार गठनको बाटो खुलेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रणालीलाई लिएर विवादमा परेको यो अध्यादेश दुई महिनासम्म स्थगनमा रहेको थियो । अध्यादेश प्रमाणीकरण भएपछि मुलुक राष्ट्रिय सभा सदस्य निर्वाचन प्रक्रिया अघि बढेको छ । नयाँ संविधानअनुसार राज्यका तीनै तहका निर्वाचन निर्धारित समय सीमाभित्र सम्पन्न हुनु संविधान कार्यान्वयनमा ठूलो सफलता हो । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै राष्ट्रिय सभा पनि पूर्ण हुने नै छ ।

संविधान कार्यान्वयनको प्रारम्भिक कालमा दलहरू बीच ध्रुवीकरण हुनु खासै राम्रो कुरा होइन । साझा मुद्दामा विभिन्न राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्छ । वाम गठबन्धन एकता प्रक्रियाले अभैmसम्म सार्थकता पाउन सकिरहेको छैन । निर्वाचन सम्पन्न भएपछि पनि राजनीतिक अन्योलता र अनिश्चितताको अवस्था सिर्जना भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा लज्जास्पद पराजय बेहोेरेको नेपाली कांग्रेसले अझैसम्म आत्म समीक्षा गर्न सकिरहेको छैन । लोकतन्त्रमा प्रतिस्पर्धाको राजनीति हुन्छ । यो स्वभाविक प्रक्रिया हो । यो लोकतान्त्रिक अभ्यास हो । संघीयताको सफल अभ्यासका लागि लोकतन्त्रको सुदृढीकरण, संस्थागत विकास नेतृत्व वर्गमा लोकतान्त्रिक संस्कार र आचरण बुझ्न जरुरी छ । अहिले सत्ता पक्ष र प्रतिपक्ष बीच असमझदारी बढ्ने हो कि भन्ने चिन्ता छ ।

दलहरू मिलेर देश विकासमा लाग्नुपर्ने आवश्यकता छ । दलहरू एकआपसमा मिल्न नसक्नु भनेको विकासको गतिलाई रोक्न रोज्नु हो । अबको कार्यभार भनेको संविधानलाई कार्यान्वयनमा ल्याउनु र मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनु नै हो । अब कुनै पनि बाहनामा संविधान कार्यान्वयनमा अलमल गर्नु हुँदैन । लोकतन्त्रको संरक्षण र संवद्र्धनका लागि सबै लोकतन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ । अब हामीले मुलुकलाई सुशासन, विकास र समृद्धिको मार्गमा डो¥याउनु पर्छ ।

यसपालिको चुनावमा वाम गठबन्धनको बहुमत आउनुको मुल कारण भनेको विकास र समृद्धिको मुद्दा हो । नेपाली जनताले स्थायित्वको लागि वाम गठबन्धनलाई मतदान गरेका हुन् । वाम गठबन्धनले अब देश र जनतालाई धोका दिने काम गर्नु हँुदैन । नेपालको राजनीतिक आर्थिक र सामाजिक विकासको गतिलाई अघि बढाउने काममा लाग्नुपर्छ । स्थिर सरकार नभएको कारण अहिलेसम्म राजनीतिले सबै क्षेत्र तहसनहस बन्न पुगेको छ । अराजकताले सीमा नाघ्दै गएको छ । कानुन हातमा लिने प्रकृति बढ्ने छ । नेपालमा संविधान निर्माण पछिका यी दुई वर्षमा नेपालको लोकतान्त्रिक सरकारले संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गर्नुबाहेक अरू खासै उल्लेखनीय कुनै काम गर्न सकेको छैन । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुई धु्रवमा विभाजित छ । यिनीहरू मिलेर देशको आर्थिक समृद्धि गर्लान् भनेर कसरी विश्वास गर्ने ? राजनीतिक दलहरू मुलुकलाई निकास दिने बाटोमा अझै लाग्न सकेका छैन ।

दलहरू मिलेर अगाडि नबढ्ने हो भने देश विकास सम्भव छैन । देश बनाउन सबै एकजुट भएर लाग्नुपर्छ । एक्लो प्रयासले देश निर्माण हुन सक्दैन । अब वाम गठबन्धनका प्रमुख दुई घटकले पार्टी एकतालाई पूर्णता दिएर स्थिर सरकार निर्माण गर्ने काममा लाग्नुपर्छ । पार्टी एकताको सम्बन्धमा अनेक शंका, उपशंका उत्पन्न हुन थालेका छन् । त्यसैले छिट्टै पार्टी एकता गरेर अघि बढ्दा राम्रो हुन्छ । वाम गठबन्धन भत्काउन धेरै तत्वहरू लागिपरेका छन् । यस कुरामा वाम गठबन्धनले राम्रोसँग बुझ्न जरुरी छ ।

नेपालजस्तै अर्ध विकसिल देशको राजनीतिमा बाहिरी शक्तिको चलखेल हुने गर्छ । खास गरेर शक्ति राष्ट्रहरूले आर्थिक पछौटेपनको फाइदा उठाएर गरिब देशका पार्टीहरूलाई एकअर्काको विरुद्धमा भिडाउने गर्छन् । आफ्नो रणनीति स्वार्थ पूरा गर्नका लागि एउटा पार्टीलाई अर्को पार्टीका विरुद्धमा प्रयोग गर्ने औपनिवेशिक प्रवृत्तिले धेरै देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको हुन्छ । त्यसका विरुद्ध लड्नु देशभक्तहरूको कर्तव्य हो । अहिले वाम गठबन्धन टुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने खेलमा पनि केही तत्वहरू लागिपरेका छन् । विगतमा पार्टीगत एवं व्यक्तिगत स्वार्थका लागि गठबन्धन बनाउने र तोड्ने गरेकै कारण उनलाई आफ्नोतर्फ ल्याउने प्रयास विभिन्न शक्तिहरूले गरेका हुन सक्छन् । नेपालको सन्दर्भमा प्रमुख समस्या आन्तरिक हो । हाम्रा नेताहरू विदेशीको दानापानीमा बाँच्नु नै ठूलो समस्या हो । ती राष्ट्रिय स्वाभिमान बचाएर बाँच्न सकेनन् ।

अहिलेको अवस्थामा वाम गठबन्धन बाहिरी शक्तिको कारणले टुट्यो भने त्यसको प्रमुख दोष यही देशभित्रकै नेताहरूको हुनेछ । जनताले दिएको अभिमतको अपमान हुनेछ । नेपालमा राजतन्त्र विस्थापित भई गणतन्त्र स्थापित भइसकेपछि पनि बाह्य हस्तक्षेपको कुरा उत्तिकै उठिरहेको हुन्छ । त्यो त्यति राम्रो कुरा होइन । प्रमुख राजनीतिक दलहरूले मुलुक र जनतालाई अनुभूति हुने गरी परिवर्तन ल्याउन सकेका छैन । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत सबैले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरिसकेकाले एक्ले अर्कोलाई निषेधको राजनीति गर्नु उचित हुँदैन । कांग्रेस, एमाले र माओवादी केन्द्रले एक अर्काप्रति शत्रुवत व्यवहार गर्नुपर्ने आवश्यकता छैन । अहिले वाम गठबन्धनले पाएको बहुमतअनुसार सरकार वाम गठबन्धनकै बन्नुपर्छ । बहुमतअनुसार सरकारमा गएर काम गर्न सकेनन् भने अर्को चुनावमा यो गठबन्धन जनताबाट बहिष्कृत हुनेछ । संसद्मा प्रतिपक्ष दलहरूले रचनात्मक भूमिका खेल्नुपर्छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको लगभग ६०÷६५ वर्ष भयो । तर, कम्युनिस्टहरू एकआपसमा मिल्न नसक्दा चिरा–चिरा विभाजन छ ।

यी सबै कम्युनिस्ट पार्टीहरू मिल्न सक्ने हो भने अर्कै किसिमको अवस्था आउन सक्थ्यो । तर, यी कम्युनिष्ट पार्टीहरू कहिले मिल्न सकेनन् । कम्युनिस्ट जमनत मजबुत र शक्तिशाली हुँदाहँुदै पनि ०४६ साल यताको सबै उपलब्धिमा नेपाली कांग्रेसले शासन चलाउन सफल भएको छ । तर, उसले मुलुक र जनताको पक्षमा केही राम्रा काम भने गर्न सकेको छैन । जसको कारण वाम गठबन्धन विकल्पको रूपमा अघि आएको छ । अहिले माओवादी एमालेबीचको एकतालाई विभिन्न ढंगले विश्लेषण गरिरहेका छन् । विरोधीहरूले माओवादी केन्द्र र एमाले बीचको विगतको तिक्ततालाई आधार बनाएर हेरेका छन् । एमाले र माओवादी केन्द्र बीचमा हुने एकता नयाँ राजनीतिक कार्य दिशा र नयाँ राजनीतिक कार्यभार पूरा गर्न हुनुपर्छ । निर्वाचनमा जनताको बीचमा वितरण र अनुमोदन भइसकेको संयुक्त प्रतिवद्धता पत्रलाई वैचारिक आधारशिला बनाउन जरुरी छ । त्यसो भयो भने मात्र पार्टी एकताको सार्थकता हुनेछ ।

प्रतिक्रिया