फेरि हुन्छन् ओली अध्यक्ष–प्रधानमन्त्री

केपी ओली साच्चै अयोग्य थिए कसैको नजरमा । हिजो निरंकुश राजतन्त्र र पञ्चायत ढाल्न झापा विद्रोह गरी १४ जेलजीवन बिताउँदा राजतन्त्र र पञ्चायतका लागि अयोग्य थिए । तर, सबै मोह त्यागेर देशलाई समृद्धिको यात्रामा हिँडाउने यतिवेलाका ओली अयोग्य हुन् भन्ने अभिव्यतिm देशद्रोही, संविधानद्रोही, लोकतन्त्रद्रोही, राष्ट्र, राष्ट्रियता र अखण्डताद्रोही, स्वाधीन आत्मनिर्भर अर्थतन्त्र र सम्बृद्धिविरुद्ध झुसिलो डकारसिवाय केही होइन । ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भइसके । अब पनि अध्यक्ष र प्रधानमन्त्री हुनेछन् । यही नै यथार्थ हो, यही नै वाम गठबन्धन भित्रको तथ्य हो

आनन्दप्रसाद पोखरेल

केही दिनयता सामाजिक सञ्जालमा छ्यापछ्याप्ती केही व्यक्तिको नाममा ‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न अयोग्य’ भन्ने अभिव्यक्तिको समाचार देखिन्छ । एक अधिवक्ताले राजनेता केपी ओलीले डा. गोविन्द केसीको विपक्षमा बोले रे भन्दै उनीविरुद्घमा आगो ओकल्दै आक्षेपको क्षेप्यास्त्र प्रहार गरेको पाइयो ।

त्यहाँ प्रयोग भएका भाषा र ललकार सुनियो, पढियो । नेपाली जनताको हितमा संविधान जारी गराउने कार्यान्वयनको नेतृत्वकर्ता ओलीविरुद्ध अत्यन्त आपत्तिजनक आक्षेप पनि हेरियो, सुनियो । हामी यतिवेला संविधान कार्यान्वयनको चरणमा छौँ । नयाँ संविधानले इतिहासको वलिदानीपूर्ण संघर्षलाई सम्मान र आदर गर्दै नेपालको अखण्डता, सार्वभौमिकता, नेपाल र नेपाली जनताबीचको एकतालाई संविधानको आत्माको रूपमा सम्बोधन गरेको छ । हामी सबैले इमान्दारीपूर्वक यो संविधान कार्यान्वयन गर्नसके मुलुकले फड्को मार्नेछ ।

मुलुकको सर्वांगिण विकास, तीव्र आर्थिक वृद्धि, समानुपातिक वितरण सहितको सम्पन्न र समृद्ध राष्ट्र निर्माण यतिवेला नेपाली जनताका मुख्य चाहना हुन् । यही चाहना पूरा गर्न राजनेता केपी ओली लागिरहेको तथ्य सबैले बुझेकै विषय हो । यो यथार्थलाई ढाकछोप गर्दै कानुन पढेका नाममा कसैको मानमर्दन गर्ने अधिकार कसैलाई छैन । सिंगो जीवन जनताका लागि अर्पण गरेका नेतामाथि सञ्चार माध्यममा नाम छपाउने वा लेखाउनकै लागि गरिने आक्रमण नेपाली समाजले पचाउन सक्दैन ।

जसलाई जे मन लाग्यो, आक्षेप लगाउने कुरा सभ्य र लोकतान्त्रिक समाजमा कल्पना गर्न सकिन्न । यद्यपि, लोकतन्त्रको आडमा मुलुकलाई सधैँभरि गरिब बनाइराख्नका लागि यस्ता टपरटुइयाँको जन्म हुन्छ भन्ने इतिहासका धेरै घटनाले देखाइसकेको छ । ती घटनाबाट नेपाली समाजले पाठ पनि सिकेको छ ।

संविधान जारी गर्ने वेला र संविधान जारी भएपछि कार्यान्वयनको नेतृत्व गर्दा राजनेता केपी ओलीले देशका लागि केसम्म गर्न पछि पर्दैनन् भन्ने सत्यबोध नेपाली जनता र विश्व समुदायलाई गराइसक्नुभएको छ । पहिला देश र जनता, त्यसपछि अरू भन्ने राजनेता ओलीको मान्यतामा आज सबै एकमत भइसकेका छन् ।

आमनिर्वाचनमार्फत ओलीको त्यो विचारलाई अनुमोदन गर्दै नेपाली जनताले ओलीकै नेतृत्वमा स्थिर सरकार निर्माण गरी समृद्धितर्फ उन्मुख हुन वाम गठबन्धनलाई दुई तिहाइको हाराहारीमा मत दिएका हुन् । सबैलाई जानकारी भएकै विषय हो, संविधान घोषणापछि नेपालमाथि के भयो ? कति शिखण्डी जन्मिए ? राजनेता ओलीमाथि कस्ता कस्ता भए ? यस विषयमा अब थप व्याख्या गरिरहन जरुरी छैन । ओलीले आफ्नो नेतृत्वको सरकारमा रहँदा गरेको काम र छिमेकी मित्रराष्ट्र चीन र भारतसँगको सन्तुलित सम्बन्ध नै काफी छ । ओलीकै कारण संविधान घोषणापछि तराई–मधेसको असन्तुष्टि साम्य भएको हो ।

संविधान घोषणा गर्न नदिने, संविधानसभालाई पुनः विफल पार्ने र नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी समृद्धितर्फ जाने बाटोमा पर्खाल लगाउने कामलाई पनि ओली नेतेत्वकै सरकारले असफल बनाउँदै दुवै छिमेकीलाई नेपाली जनताको भावनाअनुसार व्यवहार गर्ने बाटोमा हिँडाएको हो । अनि संविधान घोषणालगत्तै नपुग र छुटेको मुद्दालाई तत्कालै सम्बोधन गर्ने नायक पनि ओली नै हुन् ।

नाकाबन्दी हटाएर भारत भ्रमण गरी नेपालको हितमा अर्काे बन्दरगाह खोल्ने नायक पनि ओली नै हुन् । भारत भ्रमणमा नेपालको स्वाभिमानलाई उच्च राखी विद्युत् व्यापार सम्झौतालगायत भूपरिवेष्ठित राष्ट्रको पारवाहन अधिकारको लागि विशाखपटनमा बन्दरगाह प्रयोगको अधिकार स्थापना गरेर फर्केका थिए ओली । भारतसँग भएका असमान सन्धि सम्झौताहरूको पुनरावलोकन गर्न दुई पक्षीय प्रबुद्ध समूह गठन गरेर राष्ट्रको शिर उच्च राख्न सफल व्यक्तित्व अरू कोही नभएर केपी ओली नै हुन् ।

इतिहासमा कसैले कहिल्यै गर्न नसकेको मित्रराष्ट्र चीनसँग व्यापार पारवहन सम्झौता, पेट्रोलियम पदार्थ आयात, रेल मार्ग जोड्ने सम्झौता पनि उनै अधिवक्ता महासयले अयोग्य भनेका केपी ओलीले नै गरेका हुन् । भारत वेष्ठित मुलुकलाई भूपरिवेष्ठित मुलुकका रूपमा स्थिपित गरेर दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गर्ने व्यक्ति पनि ओली नै हुन् ।

नेपालको राष्ट्रिय अखण्डता, सार्मभौमिकताको रक्षा र नेपाली जनताको संविधान बनाउने र संशोधन गर्ने हक पनि नेपालको सार्वभौम संसद्मा मात्रै छ भनेर स्थापित गर्ने व्यक्ति पनि उनै हुन् । यसैगरी, बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विश्वसामु स्थापित गराउने काम पनि ओली नेतृत्वको सरकारबाटै भयो ।

यतिवेला केपी ओली एमालेको अध्यक्ष मात्रै नभएर आम निर्वाचनमा अत्यधिक बहुमतले विजयी वाम गठबन्धनको साझा नेता हुन् । अबको निकट भविष्यमा उहाँ फेरि प्रधानमन्त्री हुँदै हुनुहुन्छ । यो घाम जत्तिकै छर्लंग छ । केपी ओली प्रधानमन्त्री हुन अयोग्य हुन्, पार्टी अध्यक्ष हुन आयोग्य हुन्, अब हामी सडकबाट ओलीलाई प्रधानमन्त्री हुन दिँदैनौँ भन्ने कुरा कतैबाट निर्देशित र भावावेश मात्रै हुन् ।

भर्खरै पनि निर्वाचन हुन नदिन हजारौँ षड्यन्त्रलाई चिर्ने नायक ओली नै हुन् । निर्वाचन आयोगको षड्यन्त्र र मिलोमतोमा समानुपातिक निर्वाचनको परिणाम घोषणा भएको छैन । तथापि, गणितीय हिसाबमा वाम गठबन्धनले २ सय ७५ सिटमध्ये १ सय ७७ सिट प्रतिनिधिसभामा जित हासिल गरेको छ ।

प्रदेश सरकार गठनमा पनि प्रदेश २ बाहेक सबै प्रदेशमा अत्यधिक बहुमत छ । नेपाली जनताले राजनेता केपी ओलीलाई फेरि सरकारमा पु¥याएर देश बनाउनका लागि वाम गठबन्धनलाई यति धेरै बहुमतका साथ विजयी गराएका हुन् । अनि ‘स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, सुशासन र समृद्धिको लागि वामपन्थी सरकार’ भन्ने एमाले–माओवादीको साझा घोषणापत्रको अनुमोदन गरेका हुन् ।

राष्ट्र निर्माणको सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धिको लागि दिगो र स्थिर वामपन्थी सरकारका लागि भोट मागेर जनताबाट अनुमोदित भएको वाम गठबन्धनका नेता केपी ओली कसैले भन्दैमा अयोग्य हुन्छ ? जनताले सबैभन्दा योग्य ठहर गरिसकेका छन् । सडकमा कसैको इसारामा कोही बोल्दैमा केही हुनेवाला छैन ।

राजनेता केपी ओली साच्चै अयोग्य थिए कसैको नजरमा । हिजो निरंकुश राजतन्त्र र पञ्चायत ढाल्ने झापा संघर्ष गरी १४ वर्ष जेलजीवन बिताउँदा ओली राजतन्त्र र पञ्चायतका लागि अयोग्य नै थिए । तर, राजतन्त्र र पञ्चायत विरोधीका लागि नायक थिए उनी । ०४६ को जनआन्दोलनमा तत्कालीन मालेको नेताको हैसियतमा पञ्चायतविरोधी आन्दोलनमा भूमिगत भएर नेपालका कुना कन्दरामा जनतालाई संगठित गर्दै पञ्चायतविरुद्ध आन्दोलन गर्दा संयुक्त संघर्षको नेता वामपन्थीहरूलाई निरंकुशतन्त्रका हिमायती पञ्चहरू ओलीलाई अयोग्य भन्थे ।

अबको युग लोकतन्त्रको युग हो । शान्तिपूर्ण आन्दोलनको युग हो । मानिसले शान्तिपूर्ण जीवन जिउन पाउनु पर्दछ भन्दा निरंकुशतन्त्र र र हतियारधारीहरू केपी ओलीलाई अयोग्य भन्थे । निरंकुश राजतन्त्रका पक्षधरको लागि अयोग्य भए । मुलुकलाई विघटन गर्नु पर्दछ भन्ने नेतृत्वकर्ताको अगाडि अयोग्य भए । सामाजिक सद्भाव र राष्ट्रिय एकताविरोधीका लागि उनी अयोग्य भए । हिमाल, पहाड तराईको अन्तरनिहित र अन्तरसम्बन्ध कायम गर्न र सामाजिक सद्भाव अक्षुण्ण राख्नुपर्दछ भन्दा फुटाएर नेपालको विनाश चाहनेहरूका लागि ओली अयोग्य भए ।

नेपालको संविधान कार्यान्वयन गर्नु पर्दछ र मुलुकलाई स्वाधीन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समृद्ध बनाउनु पर्दछ भन्दा यसका विरोधीका लागि ओली निश्चय नै अयोग्य छन् । तर, देश र जनताका लागि ओली सबैभन्दा योग्य छन् भन्ने तथ्य गाउँका जनतासामु पुगेकै दिन यथार्थबोध हुन्छ ।

मुलुक सानो हुन सक्दछ तर मुलुक र जनताको स्वाभिमान राष्ट्रको स्वाभिमान र सार्वभौमिकता सानो ठूलो हुँदैन । अब चीन र भारतको अगाडि हामी बराबर छौँ । हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौकिता, स्वाभिमान राष्ट्रियतामा सानो ठूलो हुँदैन । राष्ट्रहरू बराबरी हुन् भन्दा सधँै दासका रूपमा नेपाल र नेपालीलाई देख्न चाहनेका लागि ओली अयोग्य हुन सक्दछन् । मुलुकबाट गरिबी, विषमता, अन्याय, अत्याचार, थिचोमिचो, शोषण, भ्रष्टाचार, कुशासन, असमानताबाट मुलुकमुक्त हुनुपर्दछ भन्दा त्यस प्रवृत्तिलाई बाचइराख्न चाहने पात्रका लागि ओली अयोग्य हुन सक्दछन् ।

संविधान, कानुन, नियम, मूल्य, मान्यता, लोकतान्त्रिक संस्था, विधि र पद्धति कानुनसम्मत लागू हुनुपर्दछ । भीड र हुलमा प्रजातन्त्र, विधि र नियम पद्धतिको उल्लंघन गर्नु हुँदैन । विधिको शासन कायम हुनुपर्दछ भन्दा अराजकहरूका लागि ओली अयोग्य हुन सक्छन् । अहिले मुलुकमा संविधान कार्यान्वयन हुन नदिन, निरंकुशता फिर्ता गर्न चाहने, नसके राष्ट्र टुक्र्याउने भनेर घोषित÷अघोषित साँठगाँठ गर्ने प्रतिक्रियावादी तत्वले केपी ओलीलाई देख्न सक्दैनन् । उनका लागि ओली अयोग्य हुन् । तर, राजनीतिक नेता र नीतिको अनुमोदन जनताको अभिमतबाट हुन्छ । आवधिक निर्वाचन हुन्छ ।

अहिले भर्खरै ओली नेतृत्वको वाम गठबन्धनले झन्डै दुई तिहाइको लागि केबल ७ मत मात्र कम सिट प्राप्त गरी विजय भएको छ । विजयपछि तत्कालै नयाँ सरकार निर्माणको बाटो सरकार पक्ष र निर्वाचन आयोगले खोल्नुपर्ने हो, खोलेको छैन । आज बाहिरी तत्वको इसारामा शेरबहादुर देउवा र निर्वाचन आयोगको मिलोमतोमा सरकार बनाउन नदिने षड्यन्त्र भइरहेको छ । त्यसको जगमा उभिएर एकजना वक्ता ओलीलाई रोक्ने भाषा बोलिरहेका छन् ।

ओलीलाई अयोग्य देख्ने आँखा र अभिव्यतिm केवल धेरै देशद्रोही, संविधानद्रोही, लोकतन्त्रद्रोही, राष्ट्र, राष्ट्रियता र अखण्डताद्रोही, स्वाधीन आत्मनिर्भर अर्थतन्त्र र समृद्धिविरुद्ध झुसिलो डकारसिवाय केही होइन । राजनेता ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भइसकेका छन् । अब पनि केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री हुनेछन् । यही नै यथार्थ हो, यही नै वाम गठबन्धन भित्रको अन्तरनिहित तथ्य हो । कोही सडकमा प्रतिक्रियावादीको एजेन्ट बनेर बर्बराउनुको कुनै अर्थ छैन ।

 

प्रतिक्रिया