रवीन्द्र अधिकारी
नेपालको कम्युनिस्ट आन्दोलन एकता र विभाजनको प्रक्रियाबाट गुज्रिएर आएको हो । कहिले विभाजित, कहिले एक हुँदै आएको इतिहास छ । गएको निर्वाचनमा नेपालका कम्युनिस्टहरू त्यसका पनि दुई ठूला पार्टी गठबन्धन बनाएर संयुक्त घोषणापत्र जारी गरी निर्वाचनमा गए । त्यो गठबन्धनको आधार निर्वाचनमा सफलता प्राप्त गर्नका लागि मात्र नभएर भविष्यमा पार्टी एकता गर्नेसम्मको आधारमा भएको थियो । नेपाली जनताले वाम गठबन्धनलाई अनुमोदन गरिदिएका छन् । जनाताले निर्वाचनमा वाम गठबन्धनलाई अनुमोदन गर्नु भनेको कम्युनिस्ट पार्टी एकताका लागि अनुमोदन गरेका हुन् । नेपालका कम्युनिस्टहरूका लागि यो ऐतिहासिक अवसर हो । जनताले दिएको उक्त अवसरलाई हामीले प्रयोग गर्नुपर्छ । यस्ता अवसर चाहेर पनि सधैँ आइरहँदैनन् । यसलाई नेपालका सबै कम्युनिस्ट पार्टीलाई एक बनाउने ठूलो अवसरको रूपमा लिनुपर्छ । आमनेपाली नागरिक र कम्युनिस्ट पार्टीहरूप्रति सकारात्मक सोचाइ राख्ने मान्छेको भावना हो । यो भावनालाई कुठाराघात गर्नु हुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ ।
पार्टी एकता त्यति सजिलो र एकैछिनमा हुने विषय होइन, यो सिद्धान्त, विचार, कार्यशैली, संगठनात्मक स्वरूप, आन्तरिक संगठनका संरचना, भूमिकाका बीचमा व्यापक छलफल हने कुरा हो । यसका लागि एकताका पक्षबीचमा घनीभूत रूपमा छलफल गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । यी सबै कुरालाई पूरा गरेर गरिने एकताको उद्देश्य भनेको नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने मात्र होइन । ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टीले नेपालको आर्थिक सामाजिक रूपान्तरण, मुलुकको आर्थिक विकास र समृद्धि, मुलुकमा रहेका तमामखाले असमानता र विभेदलाई समाप्त पार्दै समाजवादको बाटोतिर जानु हो ।
यसले मुलुकलाई समृद्धिको बाटोमा हिँडाउन मद्दत पु¥याउँछ । योसँगै यसले राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने, राष्ट्रिय मनोबल बढाउने र मुलुकलाई सबै पक्षलाई विकसित र समृद्ध बनाउनका लागि हो । सुखी नेपाली, समृद्ध नेपाल बनाउनका लागि वाम एकता आजको प्रमुख आवश्यकता हो । पार्टी एकता यी उदेश्य पूरा गर्ने प्रतिबद्धताका साथ हुन आवश्यक छ । पार्टी एकता गरिरहँदा आज वाम गठबन्धन बन्यो, संसद्मा एकै ठाउँमा आइपुगेका छौँ । दुई पार्टीलाई अत्यधिक बहुमत छ, हामी सरकार बनाउने अवस्थामा छौँ र सरकारलाई ठीक ढंगले दिशानिर्देश गर्नुपर्ने छ भन्नेजस्ता कुरा भुल्नुहुँदैन । कम्युनिस्टहरूले बनाउने सरकार देश र जनताका पक्षमा काम गर्ने इमानदार हुनुपर्छ । केन्द्रीयदेखि प्रदेशसम्म वाम गठबन्धनको सरकार बन्दै छ । स्थानीय तहमा अत्यधिक स्थानमा वामपन्थीको नेतृत्वमा स्थानीय सरकार बनेको छ । ती सबै सरकारलाई संयोजन गरेर संविधानलाई कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पनि वामपन्थीहरूको काँधमा आएको छ । यो जिम्मेवारी पूरा गर्नका लागि एकीकृत पार्टी बनाएर एउटै दिशाबाट जान सकियो भने सबैभन्दा राम्रो हुनेछ । यसो गर्न सकिएन भने जनताका पक्षमा काम गर्न सकिँदैन ।
पार्टी एकता गरिरहँदा आउने केही सैद्धान्तिक प्रश्नहरू पनि छन् । एकता भइसकेपछि माओवादीले हिजो गरेको जनयुद्धलाई कसरी हेरिन्छ ? एमालेको मुख्य सिद्धान्त जनाताको बहुदलीय जनवाद (जबज)लाई कसरी हेरिन्छ ? माओवादलाई हेर्ने दृष्टिकोण, माक्सवाद लेनिनवादलाई हर्ने दृष्टिकोण कस्ता हुने ? विगतमा दुवै पार्टीले गरेका काम र लिएका सैद्धान्तिक विचारलाई कसरी हेरिएला ? यस्ता तमान प्रश्न छन् । आउने दिनमा संगठनात्मक संरचना कस्ता हुने ? पार्टीभित्र सिद्धान्तलाई कसरी व्यवस्थित गरिएला ?, कार्यशैली कस्ता होलान् ? जस्ता धेरै प्रश्न कार्यकर्ताका बीचमा छन् । यो सबैको जवाफ भोलिका दिनमा अपनाइने शैली र काम गर्ने तरिकाले पनि देला । तर, सबै विषयमा पार्टी नेतृत्व प्रस्ट हुनुपर्छ ।
जिज्ञासाहरू मेट्न यसबीचमा विगतमा भएका कामहरूको राम्रो समीक्षा गर्दै आउने बाटो तय गर्नुपर्छ । हामीलाई मार्गनिर्देश गर्ने भनेको जनताको बहुदलीय जनवादले नै हो । यो नै अहिलेको समाजको मार्गनिर्देशक सिद्धान्त हो । यसले शान्तिपूर्ण रूपमा बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थालाई स्थापित गर्छ । यसले जनताको मतलाई निर्णायक बनाउने कानुनको शासन, संविधानको सर्वोच्चता, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष, शक्ति पृथकीकरणजस्ता सिद्धान्तका आधारमा नै अबका दिनमा अघि बढ्नुपर्छ र यसले शान्तिपूर्ण र संवैधानिक बाटोबाट समाजवादमा पुग्नेछौँ ।
यी सबै कुरा पूरा गर्नाका लागि हामीबीच आपसी समानता आवश्यक छ । अबको बाटो भनेको बहुदलीय प्रतिस्पर्धाको बाटो हो । यसलाई जनताको बहुदलीय जनवाद भनौँ वा २१औँ शताब्दीको जनवाद, यसैले निर्देशन गर्ने हो । अहिले हामी त्यही चरणमा छौँ । सामान्यतया जनताको बहुदलीय जनवादकै आधारमा बुझ्ने हो भने, एउटा चरण भनेको सामन्तवादलाई अन्त्य गर्दै जनवादी व्यवस्थालाई सुदृढ पारेर समाजवादतर्फ अघि बढ्ने चरण हो । जबजको जनवादी व्यवस्थालाई व्यवस्थित गर्दै समाजवादमा जाने चरणमा हामी प्रवेश गरेका छौँ । यो प्रवेशलाई चाहेर पनि कसैले रोक्न सक्दैन ।
आजको सन्दर्भमा यही सिद्धान्तले समाजलाई अगुवाइ गर्छ । नीति र सिद्धान्त कहिल्यै पनि कसैको निजी हुँदैनन् । राम्रा कुरा सबैले अपनाउनुपर्छ । राम्रो सिद्धान्त र विचरलाई साझा विचारको रूपमा सबैले बुझ्नुपर्छ । संसारका वैज्ञानिक आविष्कारहरू कसले गरे भन्ने एउटा कुरा होला । तर, ती राम्रा कुरालाई सबैले प्रयोग गर्छन् । वैज्ञानिक सिद्धान्त कहिल्यै कसैको पेवा हुँदैनन्, सबैका साझा हुन्छन् । समाज त्यही विज्ञानका आधारमा विकास हुँदै चल्ने हो ।
हामी पार्टी एकता गर्न गइरहेको छौँ । कस्ता संगठन बनाउने, कस्तो कमिटी चलाउने भन्ने विषयमा नेतृत्व गम्भीर हुनुपर्छ । एकतापछि साना र छरिता कमिटीहरू बनाइनुपर्छ । भद्दा कमिटी बनाएर बैठक नै बस्न नसक्ने अवस्था बनाइनुहुँदैन । पार्टीका सीमित नेताहरूको मनोमानीमा पार्टी चल्ने अवस्थामा पार्टीलाई पु¥याइनुहुँदैन, बनाइनुहुँदैन । नीति, सिद्धान्तका आधारमा चल्ने व्यवस्थित कमिटी बनाएर चलाउनुपर्छ । स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समितिदेखि मातहतका कमिटीहरूलाई चुस्त र दुरुस्त बनाइनुपर्छ । पार्टीका हरेक कमिटीमा सैद्धान्तिक, वैचारिक, संगठनात्मक विषयमा रचनात्मक कामका विषयमा केन्द्रदेखि स्थानीय सरकार सञ्चालनका विषयमा छलफल गरेर अघि नै सुझाब तयार पारिनुपर्छ ।
जिम्मेवारी दिने, नेता–कार्यकर्तालाई काम लगाउनेजस्ता विषयमा ठीक ढंगले कमिटी परिचालन हुनुपर्छ । नेतृत्वलाई जे ठीक लाग्यो, त्यसैअनुसार संगठन चल्नुपर्छ भन्ने मान्यता सबैले त्याग्नुपर्छ । यसो गर्न सकिएन भने एकताको अर्थ नरहन सक्छ । यसले फेरि समस्या उत्पन्न गराएर एक–आपसमा मनमुटावको वातावरण बनाउनेजस्ता नकारात्मक कुराको विकास गराउँछ । दुवै पार्टीका शीर्ष नेताले गम्भीर रूपमा सोचेर ठूलो कम्युनिस्ट पार्टी चलाउने, धेरै सदस्य भएको कम्युनिस्ट पार्टी बनाउनेतिर सोच्नुपर्छ । त्यस्तो पद्धति बनाउन खाँचो छ । त्यसो गर्न सकियो भने हामी सफल हुनेछौँ ।
पार्टी नेताले चलाउने, नेताले अगुवाइ गर्ने, नेतृत्व गर्ने हो । अबका पार्टी व्यक्तिले होइन पद्धतिले, सिस्टमले चलाउने बनाउनुपर्छ । त्यही कुरालाई भोलिका दिनमा पनि स्थापित गराउन सकियो भने कम्युनिस्ट पार्टी राम्रो बन्छ र यसले मुलुकलाई अघि बढाउने कुरामा सफलता हासिल गर्छ । नेकपा एमाले हिजो पनि यिनै कुराका आधारमा चलेको थियो । जबजले पनि सांगठानत्मक रूपमा त्यही कुरालाई स्थापित गराउँछ । र, भोलि पनि यही कुरालाई स्थापित गराउनुपर्छ ।
पार्टी एकता गरिसकेको अवस्थामा ध्यन दिनुपर्ने केही कुरा छन् । पार्टीका केन्द्रदेखि मातहतका कमिटीलाई लामो समयसम्म तदर्थ बनाएर राख्नुहुँदैन । यसैगरी, स्थानीय सरकारलाई जनताका हितमा काम गर्ने गरी प्रभावकारी बनाइनुपर्छ । यसमा सबैले सकारात्मक रूपमा सोचेर अघि बढ्नुपर्छ । यसैगरी, प्रदेशको सरकारलाई पनि प्रभावकारी बनाउनुपर्छ । पार्टीले हिजो निर्वाचनका वेला जारी गरेको घोषणापत्र कार्यान्वयनमा ध्यान दिनुपर्छ ।
अब मुलुक कम्युनिस्टहरूले चलाउने हो । यसरी मुलुक चलाउने क्रममा समजका बौद्धिक मान्छेहरूलाई साथमा लिएर उनीहरूका अनुभव, क्षमता र सुझाबका आधारमा सरकार चलाउने काम गर्नुपर्छ । पार्टी र पार्टीका सदस्य मात्र सम्पूर्ण कुरा हो भन्ने ठान्यौँ भने त्यो गलत हुनेछ । हिजो कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मत दिने वा नदिने आमनागरिक, जो यो देशलाई समृद्ध बनाउन चाहन्छन्, ती सबैलाई साथमा लिएर अघि बढ्नुपर्छ । हाम्रो एकताको उद्देश्य त्यो दिशामा पनि अग्रसर हुनुपर्दछ ।
हामीले प्रतिपक्षलाई पनि राम्रोसँग संवैधानिक अभ्यासमा ल्याउन सक्ने वातावरण बनाउँदै संसदीय परिपाटीलाई राम्रो बनाउनुपर्छ । संविधानमा अभ्यास हुँदै आएका खराब पक्षलाई संशोधन गर्दै राम्रा कुराहरूलाई स्थापित गरी अघि बढनुपर्छ । त्यो चरणमा हामी छौँ । ती सबै कुरालाई आत्मसात गर्ने कुरामा सबै इमानदार भएर लाग्नुपर्छ ।
पार्टी एकतापछि को नेता हुने ? कसले के पद पाउने ? जस्ता कुरामा विवाद गरिनुहुँदैन । एकताको महान् अभियानमा यस्ता कुरालाई गौण बनाउनुपर्छ । स्थायी सरकार, समृद्ध मलुक बनाउनका लागि वामपन्थीलाई नेपाली जनताले जनादेश दिएका छन् । जनताको त्यो जनादेशलाई सम्मान गर्दै अगाडि बढ्नु सबैको साझा दायित्व हो । यतिवेला सबैले मिलेर संयुक्त रूपमा पार्टी र सरकार चलाउनुपर्छ । पार्टीको महाधिवेशनपछि एउटा नेतृत्व निर्माण गरेर जानुपर्छ । एकतामा सबैलाई सम्मान हुने गरी अगाडि बढ्नुपर्छ ।
हाम्रो धरातल के हो र हाम्रो अवस्था कस्तो छ भन्ने कुरा कसैले पनि बिर्सनुहुँदैन । त्यसो गर्न सकिएन भने एकतामा समस्या आउन सक्छ । धरातलीय एकतालाई केपी ओलीदेखि प्रचण्डसम्मले सम्मान गर्नुपर्छ । माओवादी एमाले दुवै पार्टीका नेता–कार्यकर्तादेखि शुभचिन्तकसम्मले यो कुरामा मुलुकको भविष्यलाई हितमा राखेर सोच्नुपर्छ । यो एकता आजका लागि गर्न लागिरहेका छैनौँ, मुलुकको भविष्य र समृद्धिका लागि गरिरहेका छौँ । यो मुलुकको सुन्दर भविष्यका लागि एकता गरिरहँदा कैयौँ आफ्ना निजी स्वार्थहरू र क्षणिक स्वार्थहरूले एकता प्रक्रियालाई कमजोर बनाउन सक्छन् । स्वार्थप्रेरित भएका भित्र वा बाहिरका खेलहरूलाई पराजित गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । त्यो गर्न सकियो भने मात्र समृद्ध नेपाल, सुखी नेपाल बनाउन सकिन्छ, यसले हामी सबैको सपना पूरा गर्न सक्छ । यो आजको आवश्यकता पनि हो । (अधिकारीसँग सौर्यकर्मी चमिना भट्टराईले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया