वाम एकतामा मध्यमार्गी बाटो

दुई पार्टीबीचको एकता प्रक्रियामा पार्टीको नेतृत्व, संगठनात्मक संरचना र सिद्धान्त गरी तीन वटा विषयमा छलफल गर्नु आवश्यक देखिन्छ । तर, दुई पार्टी एकतामा यी तीनै विषय मूल समस्याका रूपमा देखा पर्ने सम्भावना देखिएको छ ।

गोकुल निरौला

स्थानीय निर्वाचनमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको एकीकृत नेकपा माओवादी केन्द्रसँग १७ असोजमा नेकपा एमालेले वाम गठबन्धनको घोषणा ग¥यो । मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनले सोचेअनुसार नै परिणाम ल्यायो । स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम ल्याएको नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभामा नराम्रो हार बेहार्नुप¥यो । नेपाली राजनीतिमा ठूलै उथलपुथल भयो । असोज १७ गते वाम गठबन्धनको घोषणा गरेका दुई ठूला पार्टीले निर्वाचनलगत्तै पार्टी एकता गर्ने भनेका थिए । जनताले सोहीअनुरूप मतदान गरेका थिए । त्यो घोषणालाई मूर्तरूप दिन पार्टी एकता संयोजन समितिले काम गर्ने भनिएको थियो ।

गठबन्धनले घोषणामा सार्वजनिक गरिएको सहमतिपत्रको पहिलो बुँदामै उल्लेख भएअनुसार समिति बनेको हो । गठबन्धनले बनाएको उक्त समितिलाई पार्टी एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने जिम्मेवारी दिएको थियो  । तर, चुनावपछि उक्त समितिको एउटै बैठक बस्न सकेको छैन । दुई पार्टी एकताको बैठक बस्नुअघि दुवै दलका अध्यक्षले औपचारिक एजेन्डामा छलफल गर्नुपर्ने हुन्छ । शक्ति सन्तुलनका विषयमा र कार्यकर्ता, संगठनिक संरचना सम्मानजनक समावेशका विषयमा छलफल गर्नुपर्ने हुन्छ ।

तर, दुवै अध्यक्षबीच नै प्रारम्भिक खाकामा सहमति बनेको देखिएको छैन । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको अनौपचारिक छलफल नै लम्बिइरहेको छ । केही दिनयता त अनौपचारिक छलफलसमेत हुन नसकेको समाचार बाहिर आएका छन्  । दुई पार्टीबीचको एकता प्रक्रियामा पार्टीको नेतृत्व, संगठनात्मक संरचना र सिद्धान्त गरी तीन वटा विषयमा छलफल गर्नु आवश्यक देखिन्छ । तर, दुई पार्टी एकतामा यी तीनै विषय मूल समस्याका रूपमा देखा पर्ने सम्भावना देखिएको छ ।

दुई पार्टीमा आपसी समझदारी नबन्दा एकताको ठोस आधार तयार हुन सकेको छैन । दुवै दलका अध्यक्ष र दोस्रो र तेस्रो तहका नेताबीच एकताको सूत्र खोज्ने प्रयास जारी छ । तर, दुवै दलमा एकतापछि आफ्नो पोजिसन बलियो बनाउने स्वार्थका कारण सहमतिको विन्दु तयार भएको छैन । स्थानीय निर्वाचनपछि वाम तालमेलका रूपमा देखिएका एमाले र माओवादी केन्द्रबीच सबभन्दा ठूलो विवाद एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा छ । एमाले आफू ठूलो पार्टी भएकाले उसले पार्टी नेतृत्वसहित प्रधानमन्त्री आफ्नो पोल्टोमा पार्ने खोजेको छ । तर, माओवादी केन्द्रमा भने प्रधानमन्त्री एमालेलाई दिए पार्टी नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने माओवादी केन्द्रका नेताहरूले अभिव्यक्ति दिँदै आएका छन् ।

माओवादीले तत्कालका लागि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई नै प्रस्ताव गरेको छ । यो माओवादीको आफू पार्टी नेतृत्वको बागडोर समात्न खोजेको हो । पर्टीमा दोस्रो तहका नेताहरूले पार्टी एकताका समस्या र समाधानका विषयमा बोल्दै आए पनि ओली र दाहालले यो विषयमा नबोल्नुमा पार्टीको नेतृत्व तहमा एकाताको विषयका कुरा नै नभएको भन्ने बुभिन्छ । माओवादी केन्द्रका नेताहरूको धारण एमालेले मान्ने हो भने प्रधानमन्त्री ठूलो पार्टीको हैसियतले एमालेले पाएपछि पार्टीको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने हुन्छ ।

यो कुरा दुई पार्टीको सहमतिमा हुने कुरा हो र सम्मानजनक एकता गर्ने हो भने दलीय स्वार्थ दुवै पार्टीहरूले त्याग्नुपर्ने हुन्छ । वाम गठबन्धन बनाउने वेला दुई पार्टीबीच सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने सहमति पनि थियो । यसरी सरकारले नेतृत्व आलोपालो गर्ने हो भने वाम गठबन्धनको सरकार होइन कि, एमाले र माओवादी केन्द्रको आलोपाले सरकार बन्नेछ । जनताले गरेको जनमतको वाम गठबन्धनले अपमान गरेको ठहरिनेछ । माओवादी केन्द्रका अध्यक्षको भनाइबाट पार्टी नेतृत्व पनि आलोपालो हुने सम्भावना देखिएको छ । मओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुवै नेता कार्यकारी भूमिकामा रहने धारणा पनि सार्वजनिक गरे ।

प्रचण्डले भनेअनुसार पर्टीमा आलापालो विधिअनुसार ओली प्रधानमन्त्री भएका वेला दाहाल पार्टीको कार्यकारी भूमिकामा र दाहाल प्रधानमन्त्री भएको अवधिमा ओली त्यो जिम्मेवारीमा रहने भन्ने हो । माओवादीले नेतृत्व दाबी गरिरहँदा एमालेभित्र भने प्रधानमन्त्री र पार्टी नेतृत्व पनि ओलीले नै गर्नुपर्ने दबाब उत्तिकै छ । माओवादी केन्द्रले यो कुरामा सहमति जनाउने सम्भावना छैन । दुवै पार्टीमा भएको किचलोले सुल्झाउनका लागि मनोविज्ञानका आधारमा दुवै पार्टीका नेताले संयुक्त रूपमा पार्टी सञ्चालन गर्ने गरी भूमिका निर्धारण गर्नुपर्ने विकल्प आएको हुन सक्छ । माओवादी केन्द्र र एमाले दुई फरक पार्टी भएकाले महाधिवेशन नहुँदासम्म दुई पार्टीका नेताले संयुक्त नेतृत्व गर्ने गरी अघि बढ्नुपर्ने धारणा राख्नु सही भए पनि यो दुवै पार्टीका लागि घातक हुन्छ ।

चुनावी गठबन्धन बनाउन दुई दलका अध्यक्षलाई मुख्य नेता घोषणा गरिएको थियो । चुनावी कमान्ड दुई दलकै अध्यक्षले हाँकेकाले यही विधिलाई महाधिवेशन नभएसम्मका लागि प्रयोग गर्न सकिने विकल्प पनि छ । एमालेभित्र केही नेताहरूले दाहाललाई शंकाको घेरामा राखेका छन् । दाहाल शक्तिको अभ्यास गर्ने शैलीका नेता हुन् । मओवादी केन्द्रका अध्यक्ष ‘दाहालले एकल शैलीमा संगठनको कमान्ड गरेका छन् । त्यसैले, एकीकृत पार्टीमा पनि त्यस्तै अभ्यास गर्न खोजे समस्या आउन सक्छ र अध्यक्ष दाहालले यो प्रवृत्ति अपनाए एकता भएको केही दिनमै पार्टी फुटको सँघारमा आउन सक्ने सम्भावना छ । यो विषयमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूलाई सच्याउनुपर्छ । कार्यकर्ताको विश्वास जित्नु आवश्यक देखिन्छ । पार्टी संरचना र संगठनको व्यवस्थापनले पार्टी एकताका अर्को विकराल रूप लिन सक्ने सम्भावना देखिन्छ ।

अर्को माओवादी केन्द्रले सोच्नुपर्ने कुरा, माओवादी केन्द्रमा केन्द्रीय समिति ठूलो छ तर एममालेमा यति धेरै ठूलो छैन । एमालेको संगठन लोकतान्त्रिक शैलीले महाधिवेशनबाट निर्वाचित भएर आउने अभ्यासबाट निर्माण भएको छ । तर, माओवादीका संगठनहरूमा त्यस्तो अभ्यास छैन । एकातिर माओवादी केन्द्रका अध्यक्ष दहालले जनयुद्धकालदेखि नै निरन्तर रूपमा पार्टीको कमान्ड सम्हालिरहेका छन् । अर्को अध्यक्षसम्म बनाउन माओवादी केन्द्रले सोच्नसम्म सकेको छैन । एमालेमा दहालले सञ्चालन गर्ने पार्टी संरचना सञ्चालन पद्धतिको पनि डर छ । माओवादी केन्द्र र एमाले एकातामा जानुभन्दा पहिले नै तत्कालका लागि भने दुवै पार्टीका केन्द्रीय समितिहरू भंग गरेर एउटै चुस्त खालको संगठन बनाउनुपर्ने हुन्छ । यसरी दुवै पार्टीका केन्द्रीय समिति भंग गरी एउटै केन्द्रीय कमिटी बनाउँदा दुवै पार्टी सम्मानजनक तरिकाले एकता भएको मान्न सकिन्छ । यसका लागि दुवै पार्टी नेताहरू सहमतिमा आई पार्टीको नेतृत्वकर्ता सहितको मूल नेताहरूको समिति बनाउने र त्यसपछि अलिक ठूलो केन्द्रीय समिति बनाउने मोडलमा जाने सम्भावना रहन्छ  । एमाले र माओवादी केन्द्र दुई अलग–अलग सिद्धान्त मान्ने पार्टी हुन् । एमालेले ‘जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै आएको छ । माओवादीले माओवाद सिद्धान्त मान्ने गर्छ । अब एकतापछि कुन सिद्धान्त अपनाउने भन्ने विषयले दुवै दलमा तरंग ल्याउन सक्छ ।

पार्टी एकतामा सिद्धान्त मूल तह चुनौतीका रूपमा खडा नहोला भन्न सकिँदैन । आ–आफ्नै सिद्धान्त र संसद्मा प्रतिनिधित्व गरिसकेका पार्टीहरू एकता हँुदा दुवै पार्टीले सिद्धान्तलाई जोड्दै बीचको बाटो अपनाउनु जरुरी हुन्छ र यो बाटो अपनाउँदा दुवै पार्टीका केही नेताहरू अलग पार्टी गठन नगर्लान् भन्न सकिँदैन । किनभने वामपन्थी दलहरू सबैभन्दा फुटको राजनीतिमा लागेका छन् नेपालमा । एमालेले जनताको बहुदलीय जनवाद छोड्ने हो र माओवादी केन्द्रले माओवाद छोड्ने हो भने जनताको बहुदलीय जनवाद र माओवादबीचको बाटो अपनाउँदा दुवै पार्टीले खतराको सामना गर्नुपर्ने हुन्छ । पार्टी एकतामा लैजाँदै गर्दा दुवै दलका नेताहरूले ‘विगतको कम्युनिस्ट आन्दोलनहरूबाट हासिल उपलब्धिहरूलाई स्विकार्दै संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि सँगै अघि बढ्ने वाचा र विश्वासका साथ पार्टी एकता गर्न सके मात्रै वाम गठबन्धनको उपलब्धि मानिन्छ ।

दुवै दलका नेताहरूले भन्ने गरेका वाम एकता जरुरी छ भन्दैमा देशको विकास हुन्छ, देश समृद्धिको बाटोतिर जान्छ भन्ने होइन । माओवादी शान्तिप्रक्रियामा आएपछि संविधानसभाको निर्वाचनमा गिरिजाप्रसाद कोइरालाले अब देशको विकासमा लागी सबै पार्टीको सहकार्य १५ वर्षभन्दा बढी चल्नुपर्छ भनेका थिए । पछि राष्ट्रपति को बन्ने, कसको बन्ने भन्ने विषयमा सबै पार्टी अलग भए र सहकार्य टुटेको थियो । विगतमा राजनीतिक दलहरूमा भएको सहमति र सहकार्य हेर्दा जनताले वाम गठबन्धनलाई पनि शंकाले हेरेका छन् । वाम गठबन्धनले अब पार्टी एकतामा जाँदै गर्दा विगतमा भएका सम्झौता सफल, असफल सबैलाई मनन गर्दै जनताको बहुलवाद, जनवाद र माओवादको मध्यमार्गी बाटो अपनाई पार्टी एकता गर्नु नै बेस ।

प्रतिक्रिया