भगवती बन्जारा
मंसिरमा सम्पन्न आमनिर्वाचनले लामो समयदेखि रहेको राजनीतिक संक्रमणकालको अन्त्य गर्नेछ भन्ने दलहरूको दाबी यसअघिझैँ झुटो साबित हुने खतरा बढ्दै गएको छ । नेपाली राजनीतिको यो बिडम्बना नै हो कि, जनताले एकको विकल्प अर्को राजनीतिक शक्ति र विचारलाई विश्वास गरे पनि हरेक विकल्पहरू भरपर्दा बन्न सकिरहेका हुँदैनन् । प्रजातन्त्र वा लोकतन्त्रका मूल्य र मान्यताबारे जति नै ठूला व्याख्या राजनीतिक नेतृत्वले गरे पनि वास्तवमा तिनैको अकर्मण्यले नै देशलाई एकपछि अर्को खाडलमा जाक्दै लगेको छ । पार्टी र तिनका नेताका सनकका भरमा गरिएका कतिपय गलत निर्णयका कारण भासिँदै गएको देशको अस्तित्वलाई जोगाउने एउटै बाटो पुराना गल्तीहरूबाट पाठ सिक्दै पार्टी र तिनका नेताहरू आउने दिनमा इमानदारी र सुझबुझपूर्ण व्यवहारका साथ प्रस्तुत हुनु थियो । तर, निर्वाचन र निर्वाचनपछि देखा परेका नयाँ घटनाहरूले नयाँ अन्धकारमय अवस्थालाई संकेत गरिरहेका छन् ।
नेपालको वर्तमान सत्ता राजनीतिसित गाँसिएका पार्टीहरूले आफूलाई जुन वैचारिक र दार्शनिक रङ दिए पनि तिनले सेवा गर्ने वर्ग भने एउटै छ । उनीहरूले आफूलाई जतिसुकै असल बताउँदै आए पनि यो कुरा घामजत्तिकै छर्लंग भइसकेको छ । हालै सम्पन्न निर्वाचनका मूल प्रवृत्तिहरूले पनि यो कुरालाई साबित गरिदिएको छ कि, नेपालको राजनीति अब आधारभूत तहका जनताका निम्ति नभई यो कर्पोरेट व्यवसायजस्तो बनिसकेको छ । राजनीति अब जनता र देशका लागि नभई सीमित मानिसहरूको फाइदाका लागि गरिने पेसा बनेकोे छ । गएको निर्वाचनमा हरेक राजनीतिक दलले पैसा र पावर भएकाहरूलाई उम्मेदवारी दिलाउन हानथाप गरेर लाग्नु यसको ज्वलन्त उदाहरण हो । व्यापारी, ठेकेदार, दलाल र डनहरूको राजनीतिमा आकर्षण हुनु अस्वाभाविक होइन, उनीहरू आफ्नो स्वार्थको संरक्षणका निम्ति शक्तिमा पुग्न चाहन्छन् । तर, मूल्य र मान्यताको कुरा गर्ने, आधारभूत तहका निम्ति लडेका हौँ भन्ने दलहरू त्यस्ता पृष्ठभूमिका मानिसहरूलाई आफ्नो पार्टीमा भित्र्याउन मात्रै होइन, चुनावको उम्मेदवार बनाउनका निम्ति आतुर देखिए । त्यस्ता पृष्ठभूमिका मानिसहरू कतिले चुनाव जिते, कतिले हारे, यो उल्लेखनीय कुरा भएन । तर, यसले नेपाली राजनीतिको जरा कहाँ उभिएको छ र यसको गति र दिशा कतातिर छ भन्ने कुरा सजिलै बुझाउँदछ ।
कुनै पनि प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन अनिवार्य कुरा हो । निर्वाचनकै माध्यमबाट जनताले आफूलाई चाहिने शासक रोज्ने गर्दछन् । जनताले निर्वाचनमार्फत दिएको जनमतका आधारमा सत्ताको गठन हुने गर्दछ र प्रजातन्त्रलाई विश्वास गर्ने दलहरूले जनमतले निर्धारण गरेको आफ्नो स्थानलाई सजिलै स्वीकार गर्दछन् । यो नै प्रजातान्त्रिक विधिको सौन्दर्य पनि हो । तर, हामीकहाँ निर्वाचनले दिएको जनादेशलाई स्वीकार गर्ने पद्धति पनि विकास भएको देखिएन । आफूलाई सबैभन्दा पुरानो प्रजातान्त्रिक शक्तिका रूपमा दाबी गर्दै आएको नेपाली कांग्रेसले यतिखेर सत्तामा बस्ने सबै आधार गुमाइसकेर पनि सत्ता हस्तान्तरण गर्न जुन आनकानी गरिरहेछ, त्यसले नेपाली राजनीतिको अर्को चरित्रलाई राम्ररी देखाउँदछ । त्यो चरित्र नेपाली कांग्रेसको मात्रै होइन, खासमा यो नेपाली राजनीतिको साझा चरित्र हो । नेपाली राजनीतिको विशेषता के हो भने, यो जुनसुकै तरिका प्रयोग गरेर पनि सत्तामा जान चाहन्छ । सत्तामा गएर ऊ आफू र आफूसँग जोडिएकाहरूको स्वार्थसिद्धिका लागि लुट मच्चाउन चाहन्छ । हाम्रा नेता र उनीहरूसित जोडिएका मानिसहरूको जीवनस्तरमा जुन किसिमको आश्चर्यजनक किसिमले उन्नति भइरहेछ, त्यो त सत्ताबाहिर बसेर पक्कै सम्भव छैन । त्यसैले सत्ता, सत्ता अनि सत्ताको खेलमा नेपाली राजनीतिले आफ्नो मूल्य, मान्यतालाई त गुमाइरहेको छ नै, यो गलत खेलमा देश बर्बाद भइरहेको छ । देशको एउटा सिंगो पुस्तालाई यसले नारकीय जीवन भोग्न बाध्य तुल्याएको मात्रै छैन, आउने पुस्ताका निम्ति अझै भयावह भविष्य छाडिदिँदै छ ।
अब नेपाली राजनीतिमा विचार, मूल्यमान्यता र आदर्शहरूको कुनै अर्थ रहेन । सत्ताबाहेक बाँकी सबै कुरा गौण हुन् भन्ने कुरा पछिल्लो निर्वाचनमा देखापरेका अनेक किसिमका गठबन्धहरूले पुष्टि गरिरहेका छन् । अनेक किसिमका बखेडाहरू सिर्जना गरिदिएर आमजनतामा विभाजन सिर्जना गरिदिनेहरू आफ्नो व्यक्तिगत राजनीतिक फाइदाका लागि हिजो शत्रु भनिएकाहरूसित काँधमा काँध मिलाएर नयाँ नेपालको भाषण दिइरहँदा आमजनताले ताली पिटीपिटी स्वागत गर्नुपर्ने यो अवस्था नेपालले अझै ठूला दुर्दिनहरू भोग्नुपर्नेछ भन्ने कुराको संकेत पनि हो ।
केही समय अगाडि निर्वाचनको नाटक देखियो । अनि त्यसपछि समानुपातिक प्रणालीअन्तर्गत दलहरूले चुनाएका तिनका प्रतिनिधि पनि देखियो । आफ्ना नातागोता र परिवारभित्रका र अन्य पहुँचवालालाई चुनिने यो प्रणाली नेताहरूका लागि आरक्षणबाहेक अरू केही देखिएन । यस्तो लाग्छ, भन्नलाई जे भनिए पनि वास्तवमा यो निर्वाचन प्रणालीको लक्ष्य र उद्देश्य यही नै रहेछ । चुनाव हार्नेको अरण्यरोदन र जित्नेको मैमत्तापन पनि देखियो । निर्वाचनले सम्पूर्ण अस्थिरता अन्त्य गर्छ भनेर घोषणा गर्नेहरू यतिखेर चुपचाप छन् र आमजनताले सजिलोसित बुझ्न सकिरहेका छैनन्, आखिर नयाँ सरकार गठन गर्नमा अवरोधचाहिँ कसले सिर्जना गरिरहेछ । खासमा देश जनताको मतका आधारमा चल्ने त होइन रहेछ । अहिले देखिएको गतिरोधले यही कुराको पुष्टि गर्दैन र ? योसँगसँगै उता केन्द्रबाहिर भने आन्दोलनको हुरी चलिसकेको छ । प्रदेशको राजधानी यहाँ र त्यहाँ भनेर जनता जुधिरहेका छन् । केही मानिसहरू नमरी विनाअर्थको यो आन्दोलन टुंगिनेवाला छ भनेर सोच्न सकिँदैन, विगतको इतिहास हेर्ने हो भने पनि ।
प्रदेशको राजधानीमा विवाद, अनि फेरि मुख्यमन्त्रीमा विवाद, फेरि तिनका मन्त्रीहरूमा विवाद ! अनि प्रदेशसभाका सभासद् र तिनले भर्ती गर्ने अनेक किसिमका पदहरूले पाउने सेवा, सुविधाका कुराहरू, सम्झिल्याउँदा मात्रै पनि पहिरो जान्छ । आखिर विदेशीको योजनामा अघि सारिएको संघीयता नामको यो सेतो हात्तीलाई कहिलेसम्म ऋण गरीगरी पाल्न सकिनेछ ।
हाम्रो बिडम्बना नै यो हो कि, हाम्रो राजनीति जनता र देशकेन्द्रित छैन । यो जनउत्तरदायी पटक्कै छैन । राजनीतिक दल र तिनका नेताहरू विदेशीहरूको कब्जामा छन् । तिनका आफ्ना विचार, चिन्तन र देश समृद्धिका आफ्नो माटोअनुकूल कुनै योजना छैनन् । योजना छन् विदेशीका र उनीहरू तिनबाट आफूलाई आउने कमिसनको मात्रै हिसाबकिताब गरिबसेका छन् । तिनै नेताले कार्यकर्तालाई दासजस्तै गरी आफ्नो कब्जामा लिएका छन् र कार्यकर्ताले आमजनतालाई आफ्नो कब्जामा लिएका छन् ।
राजनीतिले आमनेपाली जनताको स्वतन्त्र विचार र सोचाइमा समेत यति डरलाग्दो गरी नियन्त्रणमा लिएको छ कि, नेपालमा स्वतन्त्र जनताको संख्या अत्यन्तै न्यून छ । उनीहरू कुनै न कुनै दलमाथिको सक्रिय पक्षधरता देखाउन विवश छन् । जनतामाथिको यो नियन्त्रण वास्तवमा एक किसिमको मानसिक यातना हो । यो नदेखिने किसिमको निरंकुशता हो । यसले गर्दा नेपाली जनता विभाजित छन् । यो विभाजनले उनीहरूको शक्तिलाई कमजोर तुल्याएको छ र यो कमजोरी नै सत्ता राजनीतिका दल र तिनका नेता कार्यकर्ताहरूको लुटको सबैभन्दा ठूलो हतियार बनेको छ । यस्ता परिदृश्यहरूले नेपाली राजनीतिका आगामी दिनहरू सहज नहुने पुष्टि गर्दछन् ।
प्रतिक्रिया