सम्मानित सर्वोच्च अदालतले हालै धामीझाँक्री एवं बोक्सीप्रथालाई नियन्त्रण गर्न सरकारका नाममा आदेश मात्र दिएको छैन, धामीझाँक्री र बोक्सी संलग्नलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँदै उक्त कार्य एक मूर्खतापूर्ण संस्कार भएको जनाएको छ । यस्तै, बाराको गढिमाईलगायत अन्य मठमन्दिरमा बलिप्रथा रोकी पाउँ भन्ने सन्दर्भमा परेको रिट निवेदनमा तत्कालको सामाजिक सन्दर्भ र सांस्कृतिक परिवेशअनुसार तत्काल बलिप्रथा रोक्न परमादेश जारी नमिल्ने ठह¥याए पनि धार्मिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, नैतिक एवं तार्किक कुनै हिसाबले पनि बलिप्रथा कायम रहनु उचित नभएकोले सामाजिक सचेतनाद्वारा यसलाई निरुत्साहित गरी अन्ततः बलिप्रथा रोक्ने रणनीतिक योजना बनाई यो प्रथाको समूल नियन्त्रण गर्ने कानुन निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
उक्त मुद्दामा व्याख्या गर्दै सर्वोच्चले भनेको छ, पशुमा पनि जीवन र प्राण रहने भएकाले दया, करुणाजस्ता मानवीय मूल्य–मान्यताको व्यवहार आवश्यक पर्छ । पशुलाई गरिने यस्ता व्यवहारले मानव सभ्यताकै प्रवर्धन हुने, यो सभ्यतालाई असलशासन प्रणालीमा पनि आत्मसात गरिनुपर्ने, घर्म, परम्पराका नाममा पशुहरूको निर्घात हत्या गर्ने कार्य आधुनिक समाजका लागि सुहाउने विषय नभएकोले यसको नियन्त्रण, बन्द गर्नु आवश्यक रहेको बताएको छ । खासगरी अदालतलाई समाजको प्रगतिशील सूचकको रूपमा, सभ्यताको जगको रूपमा एवं राज्यको तेस्रो अाँखाको रूपमा चित्रण गरिन्छ । अदालतले न्यायिक समर्पण, सद्ज्ञान एवं सद्विवेकको आधारमा सामाजिक न्यायको यथार्थपरक, वास्तविक साँचो, जीवन व्यवहारको दिशानिर्देश गरी न्यायिक सक्रियताको माध्यमले सामाजिक व्यवहारमा लुकी बसेको अन्याय, कुरीतिहरू, कुसंस्कारहरू, कुसंस्कृतिहरू, मूर्खतापूर्ण प्रथा परम्पराहरू, गलत मूल्य–मान्यताहरूको नियन्त्रण, व्यवस्थापन एवं सन्तुलनबाट न्यायपूर्ण तथा साँचो सामाजिक व्यवहारको उद्बोधन गर्ने भएकाले अदालतलाई समाजको प्रगतिशील सूचकको रूपमा चित्रण गरिएको हो ।
खास गरीकन रुढीवादी भनेका त्यस्ता सामाजिक न्यायविरोधी तगाराहरू हुन्, जसले कसैको प्रत्यक्ष संलग्नताविना नै गलत धारणा र व्यवहारले समाजमा हिंसा, स्वार्थी अमानवीय मनोवृत्ति र त्यसको वातावरण, शोषण, दमन भई सामाजिक शाश्वत् साँचो व्यवहार जीवनपद्धति एवं सदाचारमा ठेस पुगी सामाजिक रूपमा थिचोमिचो अन्याय भई सामाजिक सभ्यता नै तहसनहस भइराखेको हुन्छ । जसको कारणबाट समाजमा भ्रष्टाचार, अस्वस्थ प्रतिस्पर्धा, गुन्डातन्त्र, ठालुवादी भाग्यवादी चलन भई कर्म नगर्ने संस्कार, रुखमा ऐँजेरु लागेजस्तै समाजका अन्य सद्व्यवहार पनि ओझेलमा पर्दछन् । कर्म नगरी व्यक्ति, परिवार समाज तथा राष्ट्रकै विकासपद्धि पछाडि धकेलिरहेको हुन्छ भने व्यक्तिको सर्वांगीण विकासमा बाधा उत्पन्न भराखेको हुन्छ । हाम्रो शास्त्रहरूको अनुशील ग¥यो भने पनि संस्कृति भनेको जसले मानिसको आत्मिक उन्नतिमा मदत गर्छ, जुन क्रियाकलाप गर्दा व्यक्तिगत रूपमा व्यक्तिलाई परिवारलाई समाजलाई, राष्ट्र र विश्वलाई त्यसले केही न केही योगदान पु¥याइरहेको हुन्छ, त्यो नै संस्कृति हो ।
तर, हिजोआज यो किसिमको परिभाषालाई मानिसले बिर्सिएर मानिसले व्यक्तिगत वा सामूहिक रूपमा धर्मसँग सम्बन्धित भएर गर्ने क्रियाकलाप कसैलाई दुःखकष्ट दिने जीवन को शाश्वत् प्रक्रिया रोक्नेजस्ता कुरा संस्कृतिभित्र पर्दै त्यस्तो क्रियाकलापलाई संस्कृतिको परिभाषाभित्र राखेर संस्कृति भन्ने गरेको पाइन्छ । तर, यो ठूलो भुल हो । किनभने, छुवाछुत प्रथा, छाउपडी प्रथा बलि प्रथा देउकी प्रथा पनि यही मान्यता र भावनाको कारण आजसम्म मेटाउन सकिएको छैन । कुनै जमानामा सती प्रथालाई संस्कृति मानी त्यसैलाई निरन्तरता दिइएको थियो । जसका कारण करोडौँ आमा, हजुरआमा, दिदीबहिनीलाई जिउँदै जलाइयो । त्यसलाई पनि समाजका केही तह–तप्काका मानिसले संस्कृतिको बिल्ला भिरादिएको भरमा त्यस्तो कुप्रथालाई अक्षुण्णता दियौँ ।
यस्ता विकृतिपूर्ण रुढीवादीको परिभाषा गर्दा भन्नुपर्ने हुन्छ, संस्कृतिको नाम दिएर चलिरहेका चाडपर्व, जात्रा, संस्कार, रहनसहन आदि जुन मनाउँदा कसैलाई दुःख दिनुपर्ने, कसैको रगत बगाउनुपर्ने, कसैलाई घरबाहिर एकान्त ठाउँमा राख्नुपर्ने, जसको परिपालना गर्दा न आत्मिक उन्नति हुन्छ, न त त्यसले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई मानवताको परिचय दिन्छ, त्यस्तो क्रियाकर्महरूलाई संस्कृति नभनी रुढीवादी विकृति हुन् भनिदिँदा फरक पर्दैन । हिजोआज पनि कैयन यस्तो विकृतिहरू हाम्रो समाजमा छन् । वसुधैव कुटुम्बकम् हाम्रो संस्कृतिको सबभन्दा सबल पक्ष हो ।
तर, अलग–अलग संस्कृतिमा अलग–अलग समूहमा विकृतिजन्य अनेक विधिविधानहरू संस्कृतिको रूप धारण गरेर बस्न पुगेका छन् । कहीँ जाँडरक्सीलाई प्रोत्साहन मिल्ने, कहीँ चुरोट, सुर्ती खान र खुवाउन जुवातास खेलाउनलाई सामान्य सम्झिरहेका छन् । चुरोट, बिँडीजस्ता कुराहरू संसारमा सबभन्दा बढी क्यान्सर रोगको कारकतत्वका रूपमा वैज्ञानिकहरूले स्विकारेका छन् । मोटर, मोटरसाइकल, हुँदाहुँदा मेसिनरी औजार र मोबाइललाई समेत पनि पशु बलि दिएका समाचारहरू बेलाबखत पत्रपत्रिकामा देखिन्छन् । के यो विकृति रुढीवादी हैन ? त्यसैगरी नेपालकै कुनै जिल्लामा मनाङ, मुस्ताङतिर चौँरी गाईको रगत निकालेर पिउन थालेका छन् । यसलाई विकृति भन्ने कि नभन्ने ? जात्रा, पर्वजस्तो भगवान्को आराधना र पूजा गर्नुपर्ने महान् पर्वमा जुवा खेल्नेजस्तो विकृति हुर्किरहेको देखिएको छ । यसलाई यही रूपमा हुर्कन, बढ्न दिने हो भने पछि गएर कसैले यसलाई संस्कृतिको अभिन्न अंग मान्न बेर छैन ।
त्यस्तै, धामी–झाँक्री, देउताको नाममा भकाउने, ढ्यांग्रो ठोक्ने, जुन परम्परा छ, त्यसलाई मद्दत पु¥याइरहेका छौँ । त्यसमा पछि विचार गर्नुपर्ने वेला आएको छ । बौलाहा कुकुरले टोकेको मानिसलाई समेत विष झार्ने नाउँमा धामीझाँक्री लगाउने गरेको पाइन्छ । यसबाट बिरामीले मृत्युवरण गरेका समाचारहरू आइरहेका छन् । बच्चा नपाउनेलाई बच्चा पाउने तुल्याइदिन्छु भन्ने नाउँमा धामीझाँक्रीको भर पर्ने परम्परा चलिरहेको छ, त्यसलाई पनि विकृतिग्रस्त संस्कृतिको नाम दिनुपर्ने हुन्छ । छोरा नहुनेलाई छोरा हुने तुल्याइदिन्छौँ भनी समय र पैसाको नास गराइएको छ । त्यसैले, हाम्रा कतिपय संस्कृतिहरूमा आजको विज्ञानले गरेका उपलब्धिहरू तथा संस्कारलाई शान्त, सुन्दर र आनन्ददायक असली बनाउन बनाउनु आवश्यक छ । त्यसमा हाम्रो संस्कृतिको कस्तो भूमिका रहन्छ ? संस्कृतिको संरक्षण गर्ने विकृति नबढाउने चेतनाको लागि शिक्षा दिक्षाकोसाथै अदालती सक्रियता पनि महत्वपूर्ण छ ।
यसको माध्यमबाट समाजमा परिवर्तन ल्याउन आवश्यक भएको छ । समाज सुसभ्य प्रगतिशील नभईकन खाली अधिकार मात्र खाज्न थालियो भने अधिकार प्राप्तिका लागि नै अराजकता निम्तिन्छ । आफ्नो अधिकारका लागि विभिन्न गुट–उपगुट शक्तिकेन्द्रको निर्माण गर्ने अनि अन्धपरम्परा अन्धविश्वासको आधारमा समाज गयो भने न व्यक्तिको आत्मोन्नति हुन सक्दैन । संस्कारविहीनता र खालि अधिकारको लडाइँले शान्ति र न्यायको कल्पना गर्न सकिँदैन भने समाजको शाश्वत् मूल्यमान्यता पनि कमजोर हँुदै जान्छ । यसबाट मानवताको धरातल एकदमै न्यु हुन पुगी सामाजिक न्याय दुर्लभ हुन पुग्दछ । त्यसैले, समाजको व्यवहारलाई सुसंस्कारित सुसभ्य तथा सिर्जनशील बनाउन अदालतको भूमिका महत्वपूर्ण मानिन्छ ।
कानुन भनेको समाजको अभियन्त्रण गर्ने साधन हो भने अदालत त्यसअनुरूपको न्याय गर्ने राज्यको वैधानिकताको परीक्षण गर्ने अन्तिम अंग हो । कानुनले समाजका उचित सामाजिक मूल्य निधिहरूको प्रवर्धन गर्ने प्रयास गर्नुपर्दछ भने सामाजिक विकृत रुढीवादीग्रस्त मूल्यलाई न्यायपूर्ण बनाउनु पर्दछ । नेपालका प्रथम प्रधानन्यायाधीश स्व. हरिप्रसाद प्रधानले २००८ सालसम्म नै रुढीवादीग्रस्त समाजमा छोरा र छोरी दुवै सन्तान हुन् भन्नेजस्ता प्रगतिशील आदेश दिएर सामाजिक रूपान्तरणमा सकारात्मक भूमिका खेल्नुभएको थियो भने छाउपडी, जातीय छुवाछुतलगायत रुढीवादीविरुद्ध हाम्रो अदालत गए पनि न्यायालयमार्फत नै सक्रिय अनुसन्धान गरी आफैँ रुढीवादीविरुद्ध उभिनु आवश्यक छ ।
प्रतिक्रिया