एमाले–माओवादी एकीकरणअघि प्रश्नै–प्रश्न

पार्टी अध्यक्ष पनि हुनुभयो, प्रधानमन्त्री पनि हुनुभयो । आफूलाई आवश्यक सेवा–सुरक्षालगायत सम्मानित जिवीकोपार्जनका सम्पूर्ण आवश्यकता परिपूर्तिको राज्यबाटै ग्यारेन्टी हुने नीति–नियमावलीसमेत बनाइसक्नुभयो । अब केका लागि किर्नासरी कुर्चीमा टाँस्सिरहन चाहछ प्रचण्ड, ओलीलगायत पहिलो पुस्ता ? राजनीतिको मूल एजेन्डा नै विकास र समृद्धि हो भने दोस्रो पुस्ताले देखाएको बुद्घि र जोस–जाँगरलाई किन अवसर दिँदैन पहिलो पुस्ताले ?

गंगासागर पन्त

यो प्रश्न सर्वसाधारणदेखि बौद्घिक सर्कल सबैमा छ अहिले कि एकीकृत कम्युनिस्ट पार्टीको नाम र यथार्थ स्वरूप कस्तो होला ? मूल निर्देशक सिद्घान्त के–के होलान् ? अझै पनि साम्यवाद झुन्डिएला कि समाजवादमा टुंगिएला ?

मालेले मदन भण्डारीको जबज छोड्नुपर्ने र माओवादीले माओवाद छोड्नुपर्ने आवाज आइरहँदा लिनुपर्नेचाहिँ के होला ? अहिलेसम्म अर्थहीन रूपमा, मात्रै आयातित ग्लोबल ब्रान्ड देखाउन राखिएका स्टालिनलगायतका टाउका हटाएर त्यसमा कुनै नेपाली पन दिन सक्ने समय आएको हो त ?

जबज, मतलब मदन भण्डारी त डेट एक्स्पायर भइसकेको आवाज आइरहेको सन्दर्भमा नेपाली कम्युनिस्टहरूले मात्र हैन सबै नेपालीले श्रद्घापूर्वक हेरिने व्यावहारिक रूपमा असल समाजवादी कम्युनिस्ट नेता मनमोहन अधिकारीको स्थान के होला ? प्रचण्डलगायतले नेपाली कम्युनिस्ट आन्दोलनका प्रवद्र्घक पुष्पलाल, मनमोहन अधिकारीकारीलगायतलाई दिने सम्मान कुन दर्जाको होला अबको एकीकृत कम्युनिस्ट पार्टीमा ?

अनि युथ फोर्स र वाइसिएल नि ? तिनलाई एकीकरण गर्ने कि नगर्ने ? पक्कै गर्ने । नामचाहिँ के दिने ? पद विभाजन उही ६०÷४० ? कि विशिष्ट क्रान्ति र विशिष्ट योगदानको को विशेष मूल्यांकन गर्ने ? अर्थात् ५०÷५० ? यस्तै खेलकुद क्षेत्र, सम्पूर्ण प्रकारका मजदुर क्षेत्र, कर्मचारी युनियन, विद्यार्थी युनियन, आदि सबै तह र तप्कामा कसरी मिलाउने होला ? पावर सेयरिङको नाममा ५०÷५० को कुरा पनि उठ्न थालिसकेको छ । नामकरण मिलाउन मात्रै चन्द्रलोकको पण्डित आवश्यक देखिन्छ ।

पृथ्वीको पण्डितबाट होलाजस्तो लाग्दैन । पदीय भागबण्डा तथा काम कर्तव्य र अधिकार आदिको स्पष्ट र स्थायी प्रणालीको खाका तयार गर्न त जरुर पनि अन्तराष्ट्रिय विशेषज्ञ निम्त्याउँदा राम्रो हुनेछ । अन्तराष्ट्रिय विशेषज्ञको आवश्यकता यसकारण पनि देखिएको छ कि नेपालका रानितिज्ञहरू दश वर्ष लगाएर एउटा संविधान लेख्दा पनि ‘पानीबाहिर नजाने र घामभित्र नआउने’ प्रकारको छानो दिएका छन् संविधानलाई । जताततै अस्पस्टता र अन्योलहरू बाँकी नै छन्, लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ मा । कूटनीतिक तथा रणनीतिक निर्णयहरूमा असाध्यै कमजोर देखिएका छन् नेपाली राजनीति फाँटका नेतृत्व ।

अनि कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्व कांग्रेसको जस्तै ‘मर्ते दम तक’ कुर्चीमै रहन लालायित हुने हो ? कि समयको आवश्यकता र दोस्रो पुस्ताको क्षमताको कदर गर्ने हो ? पार्टी अध्यक्ष पनि हुनुभयो, प्रधानमन्त्री पनि हुनुभयो । आफूलाई आवश्यक सेवा–सुरक्षालगायत सम्मानित जिवीकोपार्जनका सम्पूर्ण आवश्यकता परिपूर्तिको राज्यबाटै ग्यारेन्टी हुने नीति–नियमावलीसमेत बनाइसक्नुभयो । अब केका लागि किर्नासरी कुर्चीमा टाँस्सिरहन चाहछ प्रचण्ड, ओलीलगायत पहिलो पुस्ता ? राजनीतिको मूल एजेन्डा नै विकास र समृद्धि हो भने दोस्रो पुस्ताले देखाएको बुद्घि र जोस–जाँगरलाई किन अवसर दिँदैन पहिलो पुस्ताले ?

राजनीतिको मूल एजेन्डा नै विकास र समृद्धि हो भने दोस्रो पुस्ताले देखाएको बुद्घि र जोस–जाँगरलाई किन अवसर दिँदैनन् पहिलो पुस्ताले ? दोस्रो मात्रै हैन एक्काइसौँ शताब्दीको प्रविधिको यथोचित प्रयोगको लागि त तेस्रो पुस्ता अब्बल छ । तेस्रो पुस्ताले पनि राम्ररी बुझेको छ आजको विश्व राजनीति र राष्ट्रिय आवश्यकता ।

उसोभए राजनीतिक पार्टीको मूल लक्ष के हो ? समसामयिक विकास र समृद्धि हो कि फगत कुर्ची रचाजनीति ? भ्रष्ट, कंगाल र परनिर्भर देशको प्रधानमन्त्री भएर त्यसमाथि पनि विकासको बाधक भइरहनभन्दा त सकारात्मक अवसर मिलेको वेलामा क्षमतावान दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर आफूले (पहिलो पुस्ताले) माथिबाट थप रचनात्मक सल्लाह दिँदै विकसित र स्वाधीन मुलुक निर्माणमा योगदान दिने होइन र ? यो विषयमा गम्भीर भएर आत्मादेखि नै आफ्नो सोच र विचार परिवर्तन गर्न आवश्यक छ कि छैन पहिलो पुस्ताले ? बूढापाकाको सम्मान गर्नु युवा पुस्ताको अनुशासन र बडप्पन हो । तर, पचास काटिसकेका प्रखर युवालाई नाबालक नै देखिरहनु बूढापाकाहरूको लघु विचार र लालचीपन हो ।

सत्तरी काटेका ज्येष्ठ नागरिकहरूले मात्रै पार्टी र देश हाँक्न सक्दैनन् अब । शरीर र दिमागको उत्कृष्ट सहकार्य हुुन सक्ने उमेर २५ देखि ५० वर्ष हो । यसैले होला अमेरिका जस्तो आर्थिक तथा सामरिक रूपले सर्वशक्तिमान देशमा धेरै नै कहलिएका राष्ट्रपतिहरू ४०÷५० को हाराहारीका देखिन्छन् (रुजबेल्ट ४२, केलेडी ४३, क्लिनटन ४६, ग्रेन्ट ४६, ओबामा ४७,) ।

आज क्यानडाका प्रधानमन्त्री ४० भन्दा तलका छन् । अस्ट्रियाका चान्स्लर हुनेवाला भनिएका कन्जर्भेटिभ पार्टी नेता सेबेस्टियन कर्ज त मात्र ३१ वर्षका छन् र चर्चाको शिखरमा छन् । यो शरीर र समयको विज्ञानलाई वास्ता नगरेर ज्येष्ठ परम्परालाई मात्र महत्व दिनु पनि हानिकारक हुुनेछ पार्टी र देश दुबैलाई ।

अनि भ्रातृसंगठनहरू किन चुपचाप छन् ? लोकतान्त्रिक अभ्यास गरे हँुदैन र ? आ–आफ्नो तहमा एकता बैठक र छलफल चलाउँदै निष्कर्ष निकाल्दै शीर्ष नेतृत्वको पोल्टामा थमाउँदै गरे हुदैन र ? सकारात्मक अनि रचनात्मक दबाब दिने हैन र ? कि पहिलो पुस्ताको सबै कमजोरीहरू पछिल्ला

पुस्ताहरूले अनिवार्य अपनाउँदै जानुपर्ने हो ? अरूले मिलाइदिएको भन्दा आफैँ मिलेको दिगो हुने हैन र ? अर्थात्, आदेशबाट भएको एकीकरणभन्दा अभ्यासबाट भएको एकीकरण बलियो र भरपर्दो होइन र ?

एकीकरण स्थायी र सर्वमान्य हुन विज्ञानमा आधारित हुुनुपर्छ । अनि वैज्ञानिक एकीकरणको लागि तथ्यमा आधारित भएर अघि बढ्नुपर्छ । राजनीतिमा संख्यात्मक तथ्य मात्रले काम गर्दैन । गुुणात्मक र भावात्मक तथ्यको पनि मूल्यांकन हुनुपर्छ । यही कुरालाई मध्यनजर गर्दै माधव नेपालले केही दिनअघि भनेका थिए, ‘प्रचण्डको योगदानलाई अवमूल्यन गरेमा पार्टी एकता हुन सम्भव छैन ।

अहिले एमालेको संख्यात्मक तथ्य धेरै बलियो भए पनि आजको राजनीतिक परिवर्तन र पछिल्लो उपलब्धिको लागि माओवादीको योगदान धेरै माथि छ । अबको एकीकरण अभ्यासले यी कुराहरूलाई गम्भीर ढंगले आत्मसात गर्न सकेन भने एकता, त्यो पनि स्थायी एकता सम्भव होला र ?

प्रश्न अँझै पेचिलो छ – के नेपाली कम्युनिस्टको ऐतिहासिक चरित्र अब बदलिन लागेकै हो त ? अर्थात्, टुटे–फुटेको छरपस्ट इतिहासबाट जुटेको इतिहास विकसित हुन लागेको हो त ? मानसिक र चारित्रिक परिवर्तन आएकै हो त कम्युनिस्ट नेतृत्वमा ? जनताले मात्रै हैन, नेतृत्वले पनि आफैँलाई सोधेर क्लियर हँुदै अघि बडेमा र देशलाई केन्द्रमा राखेर अघि बढेमा दीर्घकालीन एकीकरण सम्भव छ ।

 

प्रतिक्रिया