मदन भण्डारी मर्दा म किन रोएँ ?

निनाम लोवात्ती कुलुङ    हो, ०५० वैशाख ४ गते बिहानै कान्तिपुर दैनिकमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी मुग्लिन–नारायणगढ सडक खण्डको दासढुंगा भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको समाचार पढ्नेबित्तिकै म रोएको (भक्कानो छाडेर ग्वाँ–ग्वाँ नरोए पनि आँसु झारेको) थिएँ ।

हुन त त्यो वेला म राजनीतिक रूपमा परिपक्व थिइन । तापनि म लगाम लगाएको घोडासरह नेकपा एमाले बाहेक दायाँ–बायाँ केही देख्दिनथेँ ! त्यसो त म धेरैपछिसम्म एमालेको संगठित सदस्य त के साधारण सदस्यसमेत थिइन । तापनि म स्वतःस्फुर्त रूपमा एमालेको कट्टर समर्थक थिएँ ! त्यसैले त त्यो वेला एमालेनिकट साप्ताहिक पत्रपत्रिकाहरू खासगरी दृष्टि साप्ताहिक, छलफल साप्ताहिक, प्रकाश साप्ताहिक, जनधारणा साप्ताहिक आदि भेटेसम्म नछुटाई पढ्थेँ ।

जे होस्, एक किसिमले भन्ने हो भने, म आफू स्वयम् नै लगाम लगाएको घोडासरह नेकपा एमालेबाहेक अरु कुनै राजनीतिक पार्टी देख्दिन थिएँ ! कसैले नेकपा एमाले र एमालेका कुनै नेताको आलोचना वा विरोध गरेको सुनेमा तिनीहरूलाई कुटौँझैँ लाग्थ्यो ! यस विषयमा सम्झिँदा अहिले पनि एउटा रोचक प्रसंगको याद आउँछ । ओखलढुंगा जिल्लाका नेपाली कांग्रेसका नेता महेश कोर्मोचा (जो ०५४ को स्थानीय निकायको निर्वाचनपछि जिल्ला विकास समितिका सभापति भएका थिए भने २०६२ पछि तत्कालीन राजा ज्ञानेन्द्रले जिविस ओखलढुंगाको सभापति बनाएका थिए ।

उनी केही समय अघिसम्म नयाँ शक्ति नेपालमा थिए भने लोकतान्त्रिक फोरम हुँदै पुनः नेपाली कांग्रेसमा आबद्ध भएका छन् ।) उनै कोर्मोचाको गाउँकी भाउजु (लक्ष्मी दिदी हाल बितिसकिन्) ले काठमाडौंको खिचापोखरीमा चलाएको ‘लक्ष्मी लज’मा काम गर्दा ताका एकदिन मैले ‘सुझो न बुझो टिकी ट्याँस–ट्याँस’ भनेझै र, कति नै जान्ने सुन्ने भएझैँ गरेर प्रसंगवश नेपाली कांग्रेसलाई तथानाम गाली गरेँ !यो सुनेर महेश कोर्मोचा दाइलाई सही नसक्नु भएछ क्यारे, त्यसमाथि केही नजान्ने फुच्चेले नेपाली कांग्रेसजस्तो पार्टीलाई गाली गर्ने ! मलाई हत्त न पत्त ए मणि, तिमीले के राजनीति बुझेको छौँ र कांग्रेसलाई गाली गर्छौ ?

लु भन त, तिम्रो एमालेलेचाहिँ के गरेको छ ? अनि एमालेचाहिँ कुन गतिलो पार्टी हो ?  फेरि एमालेको सिद्धान्त के हो ? तिमीलाई थाहा छ ? बेकारमा जान्ने भइटोपल्छ लु भन त एमालेको सिद्धान्त के हो ? त्यसपछि म वास्तवमै नाजावाफ भएको थिएँ । तर, म त मदन भण्डारीको भाषण सुनेर न एमाले भएको थिएँ । न त मलाई त्यो वेला एमालेको सिद्धान्त र विचार के हो भन्ने नै थाहा थियो, न त एमाले कस्तो पार्टी हो भन्ने नै थाहा थियो ? तापनि म पक्का एमाले थिएँ ! माथि नै उल्लेख गरिसकिएको छ कि म लगाम लगाएको घोडासरह एमालेबाहेक केही देख्दिनथेँ ।

पछि त ललितपुर उपमहानगर पालिका (हाल महानगरपलिका) को १४ नम्बर वडामा संगठित भएरै एमालेमा लागियो ।  कतिसम्म भने, ०५४ को स्थानीय निर्वाचनमा देवराज राईलाई एमालेको तर्फबाट १४ नम्बर वटाबाट जिताउन महत्वपूर्ण भूमिका मैले नै खेँले ! त्यो कसरी भने, नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारभन्दा विद्रोही उम्मेदवार जो केसी थरका क्षेत्री थिए, उनी तगडा थिए । एक त ०४९ को स्थानीय निकायको निर्वाचनमा पनि वडाध्यक्ष उनैले जितेका थिए भने विद्रोही उम्मेदवार भएर उठेका भए तापनि फेरि पनि उनैले जित्ने पक्काजस्तै थियो ।

निर्वाचन हुने दिन बिहानैदेखि मतदान हुने स्थान उमामहेश्वर स्कुलमा चहलपहल सुरु भयो । स्वतन्त्र प्यानलबाट सदस्यमा उठेकी महिला सदस्यलाई दिउँसो हामीले गरेको कडी कडाऊ मन परेको थिएन । एक त उनीहरूले स्थानीयताको धाक–धक्कु लगाएका थिए भने हामीलाई बाहिरिया भन्थे । दिउँसो हामीले गरेको कडी कडाऊकै वेला ती महिला उम्मेदारले भरे हेरौँला भनेकी थिइन । नभन्दै मतदान सकिने वेलामा स्वतन्त्रबाट उठेकी ती महिलाले गुन्डा (ससाना भाइहरू) लाई हामीमाथि आक्रमणको संकेत गरेछिन् कि क्या हो ! हेर्दा बच्चाजस्तो लाग्ने ती फुच्चे केटाहरूले आक्रमण गरिहाले ।

तर, म सीधै मतदान भइरहेको स्थल उमामेश्वर स्कुलको ग्राउन्डतिर हाम फालेँ । अर्को एक राई केटो जो खोटाङका हुन्, भने स्कुलको पूर्वतर्फको चौरतिर भागेछ । गुन्डा केटाहरूले लखेटेर शरीरमा जताभावी छुरा हानेछन् । अहिले सम्झँदा दुःख लाग्छ । म त लाटो भए पनि मतदान भएतिरै हाम फालेको हुनाले सुरुमा हानेको एक मुक्काको चोट आँखामा लागेको बाहेक केही भएन (हालसम्म पनि उक्त चोटको निशानी छ) । तर, पर्सिपल्ट हङकङ जानु पर्ने आइडीवाला राई केटोलाई ‘अर्थ न बर्थ गोविन्द गाई’ भनेझैँ राजनीतिको भूत चढेपछि के गरोस् ! प्यारालाइसिस नै भएर बाँचेका थिए÷बाँचेका छन् ।

यसरी उनको सुन्दर भविष्य नै डाँवाडोल भयो । हुन त उक्त घटनापछि बल्लतल्ल ५ हो वा ७ भोटको अन्तरले एमालेका उम्मेदवार देवराज राईले जिते । (उनी संघीय समाजवादी नेपालमा लागेर ०७० मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा खोटाङबाट संघीय समजवादी पार्टीको उम्मेदवार पनि भएका थिए भने हाल उनी संघीय समाजवादी फोरममै छन्) हुन पनि केसीवालाहरूले उखरमाउलो गरी स्थानीयताको नारा उचालेका थिए । त्यतिमात्रै होइन, देवराजको घर खोटाङ हो, १४ नम्बर वडामा उसको घर त के घडेरीसमेत छैन । भनी हौवा फैलाएका थिए ।

तर, उनीहरूले नै गरेको गुन्डागर्र्दीपछि मतदान गर्न लाइनमा बाँकी रहेका १२÷१५ जना मध्ये अधिकांसले जो धेरै जसो केसी मतदाता ठानिएको थियो, उनीहरूले केसीको भोट राईतिर सहानुभूतिस्वरूप हालेछन् । यसरी हामी दुई जना जिउँदो सहिदमा दरियौँ भने देवराज राईले वडा अध्क्षय जिते । नत्रभने अरु सदस्यमा एमालेले जिते पनि वडा अध्यक्षमा सजिलै केसीले जित्नेवाला थिए । जे होस्, पछिसम्म देवराजले मलाई जहाँ देखे÷भेटे पनि ‘जिउँदो सहिद कमरेड’ भनी सम्बोधन गर्थे । अर्को, म एमाले हुनुको कारण ०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको नौ महिने सरकारले गरेको केही सुधारात्मक कामले गर्दा पनि हो ।

तर, मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको नौ महिने सरकारको पालामा एमालेका नेताहरूले सत्ताको चास्नी यस्तरी चाखे कि, उनीहरूका लागि दुलोमा लुकेर बस्नुपर्ने पञ्चहरूसँग मिलेर सत्ता सहकार्य नगरी नहुने भो ! जसरी पनि सत्तामा जानैपर्ने भो । नत्रभने एमालेका नेताहरूका लागि आकाशै खस्ने भो ! धरती नै फाट्ने भो ! त्यो वेला केन्द्रबाट एमाले किन लोकेन्द्रबहादुर चन्द (लोचन) को नेतृत्वमा संयुक्त सरकारमा जाने ? त्यसरी जाँदा केके फाइदा हुन्छ ?

आदि बारे कार्यकर्तालाई बुझाउन÷प्रशिक्षण दिन आएका नेता सुरेन्द्र पाण्डेलाई ‘होइन, दुलोमा लुकेर बस्नुपर्ने पञ्चहरूलाई प्रधानमन्त्री दिएर कसरी सरकारमा जाने ?’ भनी यो पंक्तिकारले प्रश्न गर्दा ‘पञ्चहरूमा पनि उदारवादी र अनुदारवादी छन् । वामदेव कमरेडले गृहमन्त्री पाउँछन् । गृहमन्त्री आफ्नो पार्टीको भएपछि स्थानीय चुनावमा ६० प्रतिशतभन्दा बढी सिट जित्न सकिन्छ । स्थानीय सत्ता कब्जा गर्नका लागि पनि लोचनलाई प्रधानमन्त्री बनाउनै पर्ने भनी तर्क÷व्याख्या गरेका थिए’ सुरेन्द्र पाण्डेले । नभन्दै त्यस्तै भयो ।

त्यसपछि गिरिजाप्रसाद कोइरालाले पनि एमालेको नजरमा अनुदारवादी खेमा मानिएका÷दरबारिया भनी चिनिएका सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । अहिले आएर एमालेको जसरी पनि सत्तामा जानै पर्ने, सत्ता कब्जा गर्नै पर्ने नीति हेर्दा÷सम्झँदा त्यो वेला (मदन भण्डारी मर्दा) बेकारमा रोइएछ ! झैँ लाग्छ । हुन त यस मामलामा मदन–आश्रितको के दोष र ? सायद उनीहरू जीवितै रहेको भए एमाले पार्टी र पार्टीका नेताहरूमा यो हदसम्मको सत्ताको भोक लाग्न दिँदैन थिए कि !

अनि केही महिनाअघि सकिएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं र ललितपुर महानगरको प्रमुख र उपप्रमुखमा सबैभन्दा पहिले राप्रपासँग चुनावी तालमेल गर्ने घोषणा गरेर सिम्बोलिक तालमेल गरेको भन्ने र, यसो नगरेको भए चारैतिरबाट एमालेमाथि प्रहार हुनेवाला थियो भन्ने हालका एमालेका नेताहरूलाई माथि (स्वर्ग) बाट मदन–आश्रितले कस्तो जवाफ दिए होलान ? त्यस्तै कुनै वेला तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता रहेका, प्रधानमन्त्रीसमेत भएका तथा हाल नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक रहेका डाक्टर बाबुराम भट्टराईले एमालेलाई दिएको तेस्रो लिंगीको पहिचानलाई मदन आश्रितले सही मान्दा हुन् कि नमान्दा हुन् ?

यसबारेमा कोमार्फत जानकारी लिने होला ?  साथै त्यो वेला जसरी पनि महाकाली सन्धि पास गर्न खटिएका र महाकाली सन्धि पास हुनसाथ नेपाललाई वार्षिक १ खर्ब २० अर्ब आमदानी हुने भनी नेपाल टेलिभिजनको ‘प्राईम टाइम’मा अन्तर्वार्ता दिएका र, हाल नारायणमान विज्जुक्छे, चित्रबहादर केसी, सिपी मैनाली र कमल थापाभन्दा तीन कदमअगाडि बढेर राष्ट्रवादी भइटोपलेका केपी शर्मा ओलीप्रति पनि मदन–आश्रितद्वयको दृष्किोण कस्तो होला ? [email protected]

 

प्रतिक्रिया