धौलागिरि आधार शिविरको फोहोर हटाउन पहल

म्याग्दी २५ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीस्थित धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहोर हटाउन स्थानीय युवाले पहल थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो हिमालका रूपमा रहेको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहोर सामग्रीले धौलागिरि आधार शिविर क्षेत्र प्रदूषित भएको हो । आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पर्यटक गाइड तथा तिनका सहयोगीले प्रयोग गरेर फालेका फोहोर वर्षौंदेखि थुप्रिएका कारण त्यसलाई हटाउन पहल थालिएको राउन्ड धौलागिरि युवा क्लबका अध्यक्ष दिलबहादुर पुनले बताए ।
उनले बस्तीदेखि तीन दिन लामो पैदल दुरीपछि मात्रै धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगिने र त्यहाँ सरकारी निकायबाट अनुगमन नहुँदा पर्यटकले जथाभावी फोहोर फाल्ने क्रम बढेको बताए । धौलागिरि हिमालको आधार शिविर पदयात्राको अन्तिम मानव बस्तीका रूपमा रहेको बगरको सो क्लबका नौ जनाको टोलीले पाँच दिन लामो पदयात्रामार्फत धौलागिरि आधार शिविर क्षेत्रमा थुप्रिँदै गएको फोहोरको अनुगमन गरेको र आधार शिविरमा अहिले पनि दुर्घटनाग्रस्त हेलिकोप्टरका पाटपुर्जादेखि पर्यटकले प्रयोग गरेर यत्रतत्र फालेका फोहोर अत्यधिक मात्रामा भेटिएको क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले बताए ।
सो क्लवले फोहोरलाई तत्काल व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन जिल्ला समन्वय समिति र धौलागिरि गाउँपालिका कार्यालयमा लिखितरूपमा आग्रह गरिसकेको छ ।
‘पर्यटकीय क्षेत्रमा बढेको फोहोरले आरोहीहरूमा नकारात्मक सन्देश प्रवाह गर्नुका साथै प्रदूषण बढदै जाने भएकाले फोहोर हटाउन सरकारले आर्थिक सहयोग गरे त्यसको नेतृत्व गर्न हामी तयार छौँ,’ क्लबका सहसचिव खिमबहादुर बुढामगरले भने । स्थानीयवासीले पनि धौलागिरि आधार शिविर क्षेत्रमा फालिएको फोहोर व्यवस्थापन गर्न र पर्यटकलाई यस क्षेत्रमा जथाभावीरूपमा फोहोर फ्याँक्न रोक लगाउनुपर्ने माग गर्दै आएका छन् । आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरूका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिन्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकँुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट, प्लास्टिकलगायतको फोहोर थुप्रिएको छ ।

प्रतिक्रिया