आरबिबी–एनभिए महिला तथा पुरुष भलिबल लिग सुरु नेपाल पुलिसलाई दोहोरो सफलता

volleyball legue suru

काठमाडौं । नेपाल पुलिस क्लबले ‘तेस्रो आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’मा दोहोरो सफलता हात पारेको छ । मंगलवार भएको महिलातर्फको उद्घाटन खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हरायो भने पुरुषतर्फ पुलिसले एपिएफलाई ३–२ को सेटमा रोक्यो । महिलातर्फ पुलिसले पहिलो सेट २५–२१ को जिते पनि दोस्रो सेट जित्नका लागि कोर्टमा निकै सघर्ष गर्नुप¥यो । दोस्रो सेटमा उत्कृष्ट प्रर्दशन गरेका आर्मीले ५ पटकसम्म सेट पोइन्टमा पुगे पनि नतिजामा परिणत गर्न सकेन् । पुलिसका अनुभबी खेलाडीले ३४–३२ ले सेट खोस्दै २–० को अग्रता लिए । तेस्रो सेटमा पुलिसले सुरुआती अग्रता लिँदै २५–१७ ले नतिजा आफ्नो पक्षमा पार्दै ३ अंक जोड्यो ।
त्यसैगरी पुरुषतर्फकोे खेलमा प्ुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि ३–२ कोे रोमाञ्चक जित निकाल्दै २ अंक बटुल्यो । उत्कृष्ट प्रदर्शन गरेर हार बेहोरे पनि एपिएफ १ अंक खोस्न सफल भयो । पुलिसले एपिएफमाथि २५–१७, २५–१६, २३–२५, २१–२५ र १६–१४ को रोमाञ्चक जित निकालेको थियो । पुरुषकै अन्य खेलमा नेपाल आर्मीले ढोरपाटन स्पोट्र्स क्लबलाई २५–११,२५–१० र २५–१७ को सोझो सेटमा हराउँदै ३ अंक जोड्न सफल भयो । पुरुषमै हेल्प नेपालले ढोरपाटनमाथि २५–१२, २५–१८ र २५–१८ को सोझो सेटमा जित निकाल्यो ।
महिलातर्फ नै एपिएफले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–७, २५–७ र २५–४ ले हराउँदै तीन अंक बटुल्न सफल भयो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशवकुमार विष्टले गरे । सो अवसरमा आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टिमका उपकप्तान एवं प्रभावशाली खेलाडी हाल मकाउ बसोबास गर्दै आएका दीपक थापाले लिगको लागि ५० हजार नगद प्रायोजन गरे । थापाले नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मालाई नगद प्रायोजन रकम हस्तान्तरण गरे ।
लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी ४ वैशाखसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोट्र्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ न्यु डायमन्ड क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोट्र्स क्लबको सहभागिता रहेको छ ।
कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

प्रतिक्रिया