काठमाडौं । भारतीय वायुसेनाले पछिल्लो समय भारत र पाकिस्तानको युद्धविरामपछि पनि ‘अपरेशन सिन्दूर’ जारी रहेको बताएको छ ।
केही दिनदेखि यी दुई देशबीचको द्वन्द्व शनिबार साँझ दुवै देशको सहमतिपछि युद्धविराम घोषणा भएको छ । तर, युद्धविरामपछि पनि भारतीय वायुसेनाले ‘अपरेशन सिन्दूूर’ जारी रहेको बताएको हो ।
भारतीय वायुसेनाले सामाजिक सञ्जाल वेबसाइट ‘एक्स’ मापोस्ट गरेको छ, ‘यसको सञ्चालन अझै पनि जारी छ र समय आएपछि थप जानकारी प्रदान गरिनेछ ।’
वायुसेनाले आइतबार दिउँसो एक्समा लेखेको छ, ‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा आफ्नो तोकिएको कार्यहरू सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्यो, यी अपरेशनहरू राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएका थिए ।’
‘अपरेशनहरू अझै जारी छन्, त्यसैले थप जानकारी पछि प्रदान गरिनेछ, भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गर्दछ’, उसले भनेको छ ।
गत २२ अप्रीलमा पहलगाम आक्रमणपछि, भारतले मे ६–७ को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो । त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।
जम्मू-कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंककारी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नाम दिएर सैन्य कारबाही थालेको थियो । त्यसपछि पाकिस्तानले पनि शनिबार (मे १०) भारतविरुद्ध ‘अपरेशन बुन्यान-अन-मार्सुस’ घोषणा गरेको थियो ।
त्यसपछि दुवै देशले एकअर्काको सैन्य अड्डाहरूमा आक्रमण गर्ने कुरा गरेका थिए भने शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका हुन् ।
प्रतिक्रिया