च्यारिटी खेलमा नेपाल–११ विजयी

dpl
धनगढी । धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करणको अवसरमा धनगढीमा भएको च्यारिटी खेलमा नेपाल–११ ले धनगढी–११ माथि जित निकालेको छ । आइतबार भएको खेलमा तीन महिनापछि मैदान फर्केका पारस खड्काको अर्धशतकको मद्दतले नेपाल–११ ले ३१ रनको जित हात पा¥यो । यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल–११ ले कप्तान पारसले सर्वाधिक ६८ रन बनाएपछि नेपाल–११ ले ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
बिक्रम ठगुन्नाले पहिलो ओभरमा २ ओपनरलाई आउट गरेपछि नेपाल–११ दबाबमा परेको थियो । पारसले ४४ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका वसन्तले ४४, शदर भेषवाकरले १९ र महबुबले १० रन बनाए । ओपनर सागर पुन र दीलिप नाथले खाता खोल्न सकेनन् । सोमपाल २ रनमा रनआउट भए । विक्रमले ४ ओभरमा २१ रन दिएर र ४ विकेट लिएका थिए । जवाफी लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो । शक्ति गौचनले ३, सोमपाल कामीले २ तथा महबुब आलम, सन्दीप लामिछाने र अभिनाष कर्णले समान १ विकेट लिँदै धनगढीको पारी धरासायी पारेका थिए । धनगढीका लागि ओपनस सुनील धमलाले सर्वाधिक ३४, दीपेन्द्र सिंह ऐरीले २६, रोशन अधिकारीले १७, विजय रानले १३ रन बनाए ।
खेलबाट उठेको पैसा धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ । डिपिएलको खेलहरू भने सोमबारदेखि हुनेछन् । सोमबार हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र वसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् भिड्नेछन् । सोमबार नै शक्ति गौचन नेतृत्वको रूपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमनेसामने हुनेछन् । टी–२० ढाँचामा सञ्चालन हुने प्रतियोगिताको लिग चरणका खेल ४ वैशाखमा सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरू सुरु हुनेछन् । प्रतियोगिताको फाइनल खेल ९ वैशाखमा हुनेछ ।

प्रतिक्रिया