नयाँबजार कप राष्ट्रिय खुला भलिबल दिप्सन फुड्स जापानलाई उपाधि

main news

काठमाडौं । दिप्सन फुड्स जापानले चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारस्थित टाउन प्लानिङमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल आर्मीलाई स्तब्ध बनाउँदै दिप्सन फुड्स जापानले उपाधि उचाल्यो । दिप्सन फुड्स जापानले आर्मीलाई ३–१ को सेटमा हराउँदै यसअघि समूह चरणमा बेहोरेको हारको बदलासमेत लियो । समूह चरणमा भने दिप्सन आर्मीसँग ३–१ को सेटमा पराजित भएको थियो ।
भारतीय खेलाडीले भरिएको दिप्सन फुड्स जापानले पहिलो सेटको सुरुवातदेखि नै आर्मीमाथि दबाब सिर्जना गर्ने क्रममा उत्कृष्ट सर्भिस, स्पाइक र ब्लक प्रस्तुत ग¥यो । दिप्सनले पहिलो सेट २५–१७ र दोस्रो २५–१७ ले आफ्नो पक्षमा पार्दै आर्मीमाथि दबाब सिर्जना ग¥यो । तर निकै रोमाञ्चक रहेको तेस्रो सेट २६–२४ ले आफ्नो बनाएपछि आर्मी खेलमा फर्कने प्रयास ग¥यो । यद्यपि चौथो सेटमा आर्मीले खराब प्रदर्शन गरेपछि २५–१४ ले सेट गुमाएसँगै उपाधिबाट वञ्चित बन्यो । दिप्सनको जितमा भारतीय खेलाडी विनीतकुमार र नेपाली खेलाडी सञ्जुविक्रम शाहले उत्कृष्ट प्रदर्शन गरे ।
उपाधि विजेता दिप्सनका प्रशिक्षक राजकुमार गुरुङले आफ्नो खेलाडीको उत्कृष्ट तालमेलले बलियो टोली आर्मीलाई सहजै पराजित गर्न सफल भएको बताए । उनले भने, ‘समूह चरणको तुलनामा अहिले टिम सेट भयो । रणनीतिअनुरूप आर्मीका खेलाडीको स्पाइक सुरुआतदेखि नै ब्लक गर्न हामी सफल भयौँ । जसले गर्दा हाम्रो टिम हाबी भए ।’ आर्मीका प्रशिक्षक जगदीश भट्टले खेलाडीलाई आवश्यक मात्रामा आराम नमिल्दा सोचेअनुरूप खेल्न नसकेको बताए । उनले भने, ‘विपक्षी टिमलाई हाइट एडभ्यान्टेज पनि थियो । जसमा हाम्रो रिसिभ पनि खराब रह्यो । जसले गर्दा स्पाइकर चल्न सकेनन् ।’ उपाधि विजेता दिप्सनले ट्रफिसँगै एक लाख ७५ हजार एक सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता मै चित्त बुझाएको आर्मीले ट्रफि, नगद ९० हजार एक सय ११ र मेडल प्राप्त ग¥यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–२ ले हरायो । पुलिसले एपिएफमाथि २१–२५,२५–१४, २१–२५, २५–१५ र १५–१२ को जित निकाल्यो । तेस्रो बनेको पुलिसले ट्रफि, नगद ५१ हजार एक सय ११ र मेडबल तथा चौथो मै सीमित एपिएफले २५ हजार एक सय ११ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनेका दिप्सन फुड्सका विनीतकुमारले ट्रफी प्राप्त गरे । विधागत उत्कृष्टतर्फ स्पाइकरमा आर्मीका मानबहादुर श्रेष्ठ, सर्भरमा आर्मीका दिल सुनार, ब्लकर दिप्सनका सुप राव, डिफेन्स दिप्सनकै सुदीप थापा, सेटरमा पुलिसका इम राना, क्विकर एपिएफका महेन्द्र श्रेष्ठ र वेस्ट कोच दिप्सनकै राजकुमार गुरुङ घोषित भए । उनीहरूले सबै ट्रफि हात पारे । प्रतियोगिताका विजेता खेलाडीलाई वनमन्त्री शंकर भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया