असोजदेखि काठमाडौंमा मेलम्चीको पानीे ःदैनिक २८ करोड लिटर आउँदै

Melamchi_khanapaneकाठमाडौं, ७ फागुन । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आएपछि काठमाडौं उपत्याकाबासीले दैनिक २८ करोड लिटर पानी उपभोग गर्न पाउने भएका छन् । दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं आउनेछ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयकुकेएल)ले औषतमा वितरण गर्ने गरेको ११ करोड लिटर पानीसमेत गरेर २८ करोड लिटर पानी वितरण हुने भएको हो । कुनै प्राविधिक गडबडी नभए आगामी असोजसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने आयोजनाले दाबी गरेको छ । मेलम्चीको पानी आइसकेपछि २८ करोड लिटर पानी २ लाख ४ हजार धारामा एक साथ वितरण गरिने केयुकेएलका महाप्रवन्धक महेश भट्टराईले बताए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाप्रवन्धक भट्टराईले नयाँ नेटवर्क र पुरानो नेटवर्क जोडेर एकीकृत गर्ने योजना भइरहेको बताए । वितरण सञ्जाल सुधारअन्तर्गत उपत्यकाका विभिन्न भागमा विछ्याउनुपर्ने ६ सय ७० किमी पाइपमध्ये ५ सय ३३ किमी पाइप बिछ्याउने काम सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशपसाद खत्रीले बताए । थोक वितरण प्रणालीअन्तर्गत विछ्याउनुपर्ने ६० किमी पाइपलाइन मध्ये हालसम्म ३९ किमी विछ्याइसकिएको निर्देशनालयले जनाएको छ ।
कुल ५ करोड लिटर पानी भण्डारण क्षमताका ६ वटा पोखरीको ८० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ । मेलम्चीको सुरूङ खन्ने काम सक्नुभन्दा पहिल्यै काठमाडौंमा पाइप बिछ्याउने र धारा जोड्ने काम सक्नेसमेत निर्देशनालयले जनाएको छ । यसका लागि उपत्यकाका ४० ठाउँमा १२ सय कामदारले चौबीसै घन्टा काम गरिरहेका छन् । आयोजनाको पहिलो चरणअन्तर्गत ८५ हजार नयाँ धाराहरू र अहिले रहेका धाराहरूमार्फत उपत्यकाको चक्रपथभित्र १३ लाख मानिसलाई खानेपानीको आपूर्ति गर्ने खत्रीले बताए । आयोजनाका कारण काठमाडौंको मुल सडक र सहायक सडक गरी फुटपाथबाहेक २ सय किलोमिटर सडकमा पाइप बिछ्याउन सडक खन्नुपर्छ । अहिलेसम्म १ सय ५० किमी सडक खन्ने काम भएको छ । फागुन पहिलो सातादेखि पाइप बिछ्याउँदा भत्किएका सडकको पुनस्थापना गर्ने काम सुरू भएको आयोजना निर्देशक खत्रीले बताए । उनका अनुसार जेठ मसान्तसम्म मेलम्चीका कारण भत्किएका सबै सडकहरूको पुननिर्माण भइसक्नेछ ।
काठमाडौंका सडक भत्काइएका कारण प्रदूषण बढेको भनिए पनि मेलम्चीको कारण १५ देखि २० प्रतिशत मात्रै प्रदूषण बढेको उनले बताए । यसलाई पनि कम गर्ने प्रयास भइरहेको उनले बताए । उपत्यकामा पाइप बिछ्याउने, धारा जोड्ने, पोखरी खन्नेलगायत कामको लागि २६ अर्ब अनुमान गरिएको छ । अहिलेसम्म १२ अर्ब रूपैयाँ खर्च भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया