प्रकाशकीय

6th anniversary color copyआजदेखि हामी स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेका छौँ । सिकाइ कहिल्यै अन्त्य हुँदैन भनेजस्तै विगतका पाँच वर्ष हाम्रा लागि सिकाइकै वर्ष रह्यो । कर्तव्यपथमा अघि बढ्ने क्रममा आएका कठिनाइहरू पन्छाउने क्रममा हामीले धेरै अनुभवहरू पनि संगालेका छौँ । अनुभव आफैँमा शिक्षा पनि हो भन्ने कुरा हामीले राम्ररी बुझेका छौँ । विगतका अनुभव आगामी यात्राको पथप्रदर्शक हुने भएकाले केही सहज हुने विश्वास लिएका छौँ ।

कोही कहिल्यै परिपक्क हुँदैन । हामी पनि यो पाँच वर्षमा आफू परिपक्क भएको ठान्दैनौँ र ठान्नु पनि हँुदैन । हामीमा अझै सुधारका गुञ्जाइस् होलान् र छन् । जुनसुकै माध्यमबाट प्राप्त हुने सुझावको हामी सदैव स्वागत गर्दछौँ । यस्ता सुझाव नै हाम्रा लागि मार्गनिर्देश पनि हुन् । सत्य, तथ्य र निष्पक्षजस्ता पत्रकारिताका आधारधुत मान्यताबाट हामी कहिल्यै डगमगाएका छैनौँ । अनुभव र सिकाइको छैठौँ खुट्किलो चढ्दै गर्दा पहिलो खुट्किलोमा पाइला राख्दै गर्दा हामीले गरेका प्रतिवद्धता यहाँ पुनः स्मरण गर्न चाहन्छौँ । हामीले भनेका थियौँ ‘सौर्य दैनिकमा कुनै राजनीतिक वा गैरराजनीतिक शक्तिको छायाँ कहिल्यै पर्ने छैन ।’

अन्त्यमा छैठौँ वर्ष प्रवेशको यस घडीमा यहाँसम्मको यात्रामा हामीलाई प्रत्यक्ष, परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण संस्था, विज्ञापन दाता, पाठक, लेखक तथा शुभेक्षुकहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । पाँच वर्षको यो यात्रामा आएका उकाली, ओरोलीमा सहयात्री बन्नुहुने सौर्य दैनिक परिवारका सम्पूर्ण सदस्यलाई पनि धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूबाट यस्तै साथ, सहयोग र मायाको अपेक्षा गर्दछौँ ।

प्रतिक्रिया