सहज बनोस् न्याय सम्पादन

सूचना प्रविधिको व्यापकतासँगै पछिल्लो समय अदालती कामकारबाहीको शैली पनि बदलिँदै गएको छ । सर्वाेच्च अदालतले सूचना प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई मुद्दा दर्ता गरेकै समय फैसला मितिसमेत थाहा पाउने व्यवस्था मिलाएपछि न्याय प्रशासनको ढिलासुस्ती हट्ने विश्वास गरिएको छ । सर्वोच्च अदालतले मुद्दाको फैसला छिटोछरितो र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न सबै उच्च अदालत र जिल्ला अदालतलाई परिपत्र गरेलगत्तै धेरै अदालतमा क्यालेन्डर प्रणाली लागू गरिएको छ । औसतमा एउटा मुद्दा फैसला हुन ५ सय ६८ दिनसम्म लाग्ने गर्दछ । मुद्दाको टुंगो लागिनसक्दै कतिपयको मृत्युसमेत हुने गरेका दृष्टान्त छन् । ढिलो न्याय हुनु न्याय नपाउनुसरह मानिन्छ । नेपालमा समयमै न्याय सम्पादन हुन नसक्दा वादी र प्रतिवादीले मिलापत्र गरेको वर्षौंंपछि फैसला भएका उदाहरण पनि छन् । तर, अब क्यालेन्डर प्रणाली लागू भएपछि दर्ता मुद्दाको फैसला मिति पनि पहिल्यै थाहा पाउन सकिने भएको छ । यसले मुद्दास“ग सम्बन्धित व्यक्तिले आफ्नो मुद्दाबारे पहिल्यै जानकारी पाउन सक्ने हु“दा समय र पैसाको बचत हुने देखिएको छ ।

सर्वोच्च अदालतले तारेख लिन सम्बन्धित अदालत धाउनुनपर्ने व्यवस्था गत वर्षबाटै सुरू गरेको थियो । सूचना प्रविधिको विकाससँगै यसअघि नै अनलाइनमार्फत जुनसुकै जिल्ला अदालतबाट सर्वोच्च र उच्च अदालतको तारेख लिन पाउने सुविधा प्रदान गरिएको थियो । मुद्दा दर्तासँगै मोबाइलमा सम्बन्धित पेसीको अवस्था, आदेश र फैसलाको जानकारी हुने व्यवस्था सर्वोच्चले लागू गरिसकेको छ । सर्वोच्चले निर्माण गरेको सफ्टवेयरमार्फत सर्वोच्चबाटै देशभरका अदालतका मुद्दाको स्थितिसमेत हेर्न सकिने भएको छ । कुन मुद्दा कुन न्यायाधीशको इजलासमा चल्दैछ वा के कारणले स्थगित भयो भन्नेबारे सर्वोच्चबाटै प्रधानन्यायाधीशले अनुगमन गर्न सक्ने सूचना प्रविधि सर्वोच्चले प्रयोगमा ल्याइसकेको छ । समय विवरणसहित दिने पर्चालाई अदालतका अधिकारीले ‘क्यालेन्डर’ नाम दिएका हुन् । परीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरेर देशैभर क्यालेन्डर प्रणाली लागू भएको छ ।

०६८ सालमा भक्तपुर, नवलपरासी र तनहुँ, जिल्लालाई नमुनाको रूपमा लिई मुद्दा कार्यसम्पादनबारे न्यायाधीशहरू सम्मिलित एक अध्ययन टोलीले प्रतिवेदन प्रस्तुत गरेपश्चात् सर्वोच्चले आफ्नो रणनीतिक योजनामै क्यालेन्डर प्रणाली समावेश गरेको हो । ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी, तनहु“ जिल्ला अदालतमा क्यालेन्डर प्रणाली परीक्षण गरिएको थियो । फैसला मिति निर्धारणका लागि कम्प्युटरमा विशेष सफ्टवेयरको प्रयोग गरिएको छ, जसले मुद्दा दर्ता गरेपछि सफ्टवेयरले नै मुद्दाको प्रक्रियाको मिति निर्धारण गरेर क्यालेन्डर निकाल्छ । सोही क्यालेन्डर अदालतले जाहेरीवालालाई तत्कालै प्रदान गर्दछ । आफ्नो मुद्दा कुन दिन फैसला हुन्छ र के विधि प्रक्रिया पूरा गर्नुपर्छ भन्ने पूर्वजानकारी पाएपछि जाहेरीवालाले सोहीबमोजिम योजना बनाउन सक्छ । यसबाट मुद्दा फैसला छिटो हुने र सेवाग्राहीले न्याय पाउने विश्वास
गर्न सकिन्छ ।

प्रतिक्रिया