अराजक नहोऊ

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय गठबन्धनको बिहीबार बसेको बैठकले संसद्को दोस्रो ठूलो दल नेकपा एमालेविरुद्ध नै आन्दोलन गर्ने निर्णय गरेको छ । ‘संविधान संशोधनको विरोधका नाममा नेकपा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय÷सामाजिक सहिष्णुतालाई भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मुुख कार्य गरेकोले राष्ट्रिय एकतालाई कमजोर गरी मुलुकलाई अनिश्चितकालीन गृहयुद्धतर्फ धकेल्ने एमालेको यस प्रकारका प्रतिगमनकारी गतिविधिको हामी घोर भ्रत्सना गर्दछौं, तसर्थ, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिहरुलाई धरापमा पारी मुुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न आग्रह गर्दछौं,’ गठबन्धनको निर्णयमै भनिएको छ ।

नेकपा एमालेले पछिल्ला दिनमा देखाएको गतिविधिका बारेमा गठबन्धनले औपचारिक निर्णय गर्दै एमालेको विरोधमा उत्रने संकेत गरेको छ । प्रमुख प्रतिपक्षी, संसद्को सबैभन्दा ठूलो दलका विषयमा यसरी निर्णय गर्दा यसको राजनीतिक असर पक्कै पनि पर्नेछ । यसरी औपचारिक रुपमा गरिएको निर्णय तल्लोतहसम्म पुग्दा यसको संदेश पक्कै पनि राम्रो जाने छैन । यसले मुलुकमा झडपको स्थिति पैदा हुन सक्छ । संविधान संशोधन, स्थानीय निकायको निर्वाचन लगायतमा सहमति जुटाउने बेलामा राजनीतिक दलहरु औपचारिक निर्णय गरेर एउटा अर्कोविरुद्ध उत्रने हो त्यो लोकतान्त्रिक परिधीभित्र पर्दै पर्दैन । यस विषयमा जर्मन दार्शनिक भोःतेयरले भनेका कुरा स्मरण लायक छन् । उनले भनेका छन्, ‘म तिम्रा विचारसंग सहमत छुइन । तर, आफ्ना विचार राख्ने पाउने तिम्रो अधिकारका लागि जीवज पर्यन्त दडिरहनेछु ।’ यसको सिधा अर्थ हो लोकतन्त्रमा आफ्ना विचार राख्न पाइन्छ । आफ्ना विचारको प्रचार –प्रसार गर्न पाइन्छ । चित्त नबुझेका विषयमा शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनलगायतका कार्यक्रम पनि गर्न पाइन्छ । विचार राखेकै आधारमा कोही कारवाहीको भागी हुनु पर्दैन । अनि विचारको प्रतिवाद विचारबाट र जनमतको प्रतिवाद जनमतबाठै गरिन्छ । तर, ती सबै सीमाभित्र रहेर शान्तिपूर्ण हुनै पर्दछ । लोकतन्त्रको सुन्दर पक्ष भनेको नै यही हो । यहाँ सबै फूल निर्वाध फूल्न पाउँछन् ।

उपेन्द्र गठवन्धनलाई पनि एमालेको विचारसंग सहमत हुन करचाप छैन । हुनु पनि हुँदैन । उसले यसको विरोध गर्न पाउँछ । तर, विचार राख्दा वा विरोध गर्दा त्यो मर्यादित र शान्तिपूर्ण हुनै पर्छ । उपेन्द्र गठवन्धनका नेताले राष्ट्रपतिले बोलाएको बैठकमै विखण्डनको कुरा गर्ने, दुई राष्ट्रियताको वकालत गर्ने, माग पुरा गराउन नाकाबन्दी गर्ने, उग्र जातिय कुरा गरेर सदुभाव विथोल्ने काम गर्दा हुने अनि अरु दलले ‘राष्ट्रघात’ भन्न पनि नपाउने कुरा लोकन्त्र विरोधि कुरा हुन् । मधेस आन्दोलनमा खास भाषी र समुदाय भएकै आधारमा खेप्नु परेका पीडा र ज्यादती धेरैजसो वाहिर आएका छैनन् । फेरि पनि संगै मिलेर बस्नु पर्छ भन्न खातिर, सद्भाव विथोलिएर गृहयुद्ध हुनसक्छ भन्नका खातिर सहेर पनि ती कुरा वाहिर नल्याएको हो । मधेसमै पहाडि वाहुल्य भएका ठाउँमा सरकारी सेवा सुविधा दिनु हुदैन भनेर आन्दोलन गर्न उक्साउदा“ र समर्थनमा व्यक्तवाजी गर्दा उपेन्द्रको सद्भाव मोह कहाँ गएको थियो ? उनकै पार्टीका नेताले ‘बाहुन क्षेत्री काटिन्छ, आलो रगत चाटिन्छ’ भन्दा उवेन्द्र कहाँ थिए ? मैले जे बोल्छु त्यही ठिक हो, अरुले खुरुखुरु त्यसको अनुसरण गर्नु पर्छ भन्ने छैन । विचार राखेकै आधारमा प्रतिवाद गर्ने औपचारिक धम्की दिनु अराजकता वाहेक केही होइन । यस्तो राजनीतिक अराकताको तत्काल उपचार नभए पनि अन्त्यमा हानी भने उसैलाई हुने हो । अराजक अभिव्यक्तिले आफ्नै कद घटाउने हुनाले स्वयं सचेत हुनु आवश्यक छ । अन्यता जनताले दिने सजाय त छदैंछ ।

प्रतिक्रिया