सामन्ती व्यवहार सच्याऔँ

राष्ट्रपति विद्यादेवी भण्डारी छिन्नमस्ता भगवतीको दर्शन गर्न जाँदा केही सैनिकले जुत्ता बोकेको तस्बिर सार्वजनिक भएको छ । यी जुत्ता राष्ट्रपति भण्डारी र उनका छोरीहरूको भएको र सेनाकै अधिकारीहरूको आदेशमा ती सैनिकले एक ठाउँबाट अर्को ठाउँमा लगेको श्रव्य तथा दृश्य समग्री सञ्चारमाध्यममा देख्न सकिन्छ । सुरक्षा निकायमा हुने, देखिने गरेका यी र यस्ता दृश्य नौला होइनन् । केही महिना पहिले सशस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको खुट्टामा लगाएको जुत्ताको तुना बाँधी दिँदै गरेको तस्बिर सार्वजनिक भएको थियो । त्यस्तै अख्तियार प्रमुख लोकमानसिंह कार्कीको खुट्टा धुन सुरक्षा निकायका एक व्यक्तिले पानी हालिदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यस्ता ‘अपमानजनक’ तस्बिर सार्वजनिक हुँदा आमनागरिबाट आउने तीतो प्रतिक्रिया सायद सम्बन्धितसम्म पुग्दैन वा सुन्दैनन् ।

यी त देखिएका वा सञ्चारमाध्यमको नजरमा परेका प्रतिनिधिमूलक दृश्य भए । नदेखिएका यस्ता कुरामा बहालवाला र पूर्वअधिकृतहरूका घरमा पनि तालिमप्राप्त सुरक्षा कर्मीलाई सुसारे बनाउने सामन्ती चलन लोकतान्त्रिक गणतन्त्र नेपालमा समेत कायमै छ । २१औँ शताब्दीमा आइपुग्दा पनि राज्यका विभिन्न अंग विशेषगरी सुरक्षा निकायमा मध्ययुगीन सामन्ती सोच र अभ्यास कायमै रहनु दुःखद विडम्बना हो । कठोर अनुशासनका कारण नेपाली सेनालगायत सुरक्षा निकायका परम्परामा परिवर्तन हुन ढिलो हुनु अस्वाभाविक होइन । तर, मानवीय संकटबाहेक अरू बेलामा कसैको जुत्ता बोकाउनेजस्तो काम राष्ट्रका सुरक्षाकर्मी सैनिक वा प्रहरीलाई गराउनु आपत्तिजनक मात्र होइन अमानवीय व्यवहार पनि हो । यसैगरी, सुरक्षाकर्मीलाई टहलुवा वा सुसारे बनाउने सोच र अभ्यास पनि अलोकतान्त्रिक एवं अमानवीय हो । संगठनको परम्परा वा अरू कुनै पनि नाममा यस्ता कार्यको औचित्य सिद्ध हुँदैन । हुनत, राष्ट्रका सुरक्षाकर्मीको यस्तो अपहेलना कुनै स्वाभिमानी नागरिकका लागि प्रिय र स्वीकार्य नहुनु पर्ने हो । तर, आफूले सुरक्षाकर्मीलाई कजाउन सुरक्षा निकायका सामन्ती सोच, संस्कार र विचार भएका अधिकृतहरूले अरूलाई पनि त्यस्तै व्यवहार गराउँछन् ।

राष्ट्रपतिले आदेश दिएर सुरक्षा निकायका मानिसले उनका र छोरीहरूका जुत्ता बोकेका होइनन् भन्ने सौचौँ । तर, एउटा ढोकामा खोलिएका जुत्ताचप्पल अर्को ढोका आफैँ पुगेनन् भनेर पक्कै सोचिन होलिन् अझ सञ्चार माध्यममा प्रकाशन÷प्रसारण भएपछि पक्कै थाहा नपाउने कुरा रहेन । राष्ट्रपति भण्डारी लोकप्रिय नेता मदन भण्डारीकी पत्नी भएर मात्र सो पदमा आसिन हुन पुगेकी हैनन् । उनी आफै पनि कम्युनिष्ट पार्टीको लामो र कठोर भूमिगत जीवन भोगेकी नेतृ हुन् । उनले आगामी दिनमा यस्ता घटना दाहोरिन दिने छैनन् भन्ने आमजनताले आश गर्नु स्वभाविक हुन्छ । त्यति मात्र होइन उनले सुरक्षा निकायभित्रका यस्ता सामन्ती प्रवृति निरुत्साहित गर्न आदेश दिन सक्छिन् । यदी उनका कारणले सुरक्षा निकायभित्र रहेको यस्ता सामन्ती प्रवृतिमा परिवर्तन भयो भने इतिहासले यही कामको लागि पनि उनलाई सधैँ सम्झनेछ ।

प्रतिक्रिया