पर्सा, ११ असोज । नेपालको एकमात्र रेल सेवा सुविधा सम्पन्न वीरगञ्जको सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको २ महिनामा ३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ ।
आव ०७३÷७४ को साउन र भदौ महिनाका लागि भान्सार विभागले सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई ३ अर्ब ४१ करोड २९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले ३ अर्ब ५९ करोड ४७ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । संकलित राजस्व लक्ष्यको तुलनामा ११५ दशमलव ३२ प्रतिशत बढी अर्थात् लक्ष्यभन्दा १८ करोड १७ लाख ७२ हजार रुपैयाँ बढी रहेकोे सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
भन्सार विभागले साउन महिनाका लागि १ अर्ब ५१ करोड ३ लाख ४१ हजार रुपैयाँ राजस्व लक्ष्य दिएकामा कार्यालयले लक्ष्यभन्दा ११ करोड ३५ लाख ६० हजार अर्थात् १ अर्ब ६१ करोड ३९ लाख १ हजार रुपैयाँ संकलन गर्न सफल भएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख देवीप्रसाद भण्डारीले जानकारी दिए ।
उनले विभागले भदौ महिनाका लागि कार्यालयलाई १ अर्ब ९० करोड २५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा कार्यालयले १ अर्ब ९८ करोड ८ लाख ४ हजार रुपैयाँ अर्थात् लक्ष्यको तुलनामा ७ करोड ८२ लाख २ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको बताए ।
भारतको कोलकता बन्दरगाहबाट रेलमार्फत नेपालका लागि औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न आयातमा वृद्धि भएकाले सुख्खा बन्दरगाह भन्सारको राजस्व संकलन सन्तोषजनक भएको भन्सार प्रमुख भण्डारीको भनाइ रहेको छ ।
भारत तथा तेस्रो मुलुकबाट नेपालका लागि आयात गरिएका वस्तु रेलमार्फत सहज रूपमा आयात हुन थालेपछि सुख्खा बन्दरगाहमार्फत माल वस्तु आयात गर्ने आयातकर्ताको समेत संख्या बढेको प्रमुख भण्डारीले बताए ।
उनले रेलमार्फत वस्तु ढुवानी गर्दा भाडा कम लाग्ने र वस्तु सुरक्षित तथा समयमा आयात गर्न सकिने भएकाले आयातकर्ताको रोजाइमा वीरगञ्जको सुख्खा बन्दरगाह परेको जानकारी दिए ।
प्रतिक्रिया