खोजेरै मनाऔँ संस्कार

अहिले २१औँ शताव्दीको बहाना बनाएर भौतिकता र विज्ञानको समय हो भन्नको लागि संस्कार र संस्कृतिलाई पनि धर्मको पर्याय मान्ने गरिन्छ । जसले गर्दा संस्कार–संस्कृति मनाउने बेलामा यो यति वैज्ञानिक छ भन्ने नाममा मनाउने वा नमनाउने निर्णय गरिन्छ ।

हामी कति आयातित भइसकेका छौँ भन्ने कुरा त २१औँ शताव्दीमा पनि यस्तो कुरा गर्ने भन्ने मानिसको धारणाबाट प्रष्ट हुन्छ । सन् २००० पछि मात्र २१औँ शताव्दी भन्ने हामी विक्रम सम्वत मान्नेहरू ५६ वर्षअघि नै २१ शताव्दीमा आएका थियौँ तर उतिबेलै हामी २१औँ शताव्दीमा छौँ भन्न सकेनौँ । अझ नेपाल सम्वतलाई आधिकारिक मान्ने हो भने हामी कहिले पुगौँला २१औँ शताव्दीमा ? विदेशीले दिएको शब्दमा कतिसम्म खेल्छौँ भन्ने त यसैबाट प्रष्ट हुन्छ ।

त्यसैगरी हरेक हाम्रा मौलिक मूल्य मान्यतामा पनि वैदेशिक फरक मत राख्ने बनेका छौँ । आधुनिकता भनेकै पश्चिमाकरण भन्ने सोचबाट हाम्रो अवचेत मस्तिष्कसमेत प्रभावित भएको छ । अझ विकास भनेको कुन अवस्था हो, कुन गन्तव्य हो र हिँड्ने मार्ग के हो हामीले सबै बिर्सेका छौँ ।

ठूला–ठूला भवन, सहर र हतियारको मार्गलाई विकास, बलको प्रचुरतालाई सभ्यता भन्ने साढेँ जुधाइकै हैसियतका ठूलाठालुहरू केको मानवीयताको पथमा हिँड्थे ? मानवीयताको सवालमा हाम्रा धर्म जति अवैज्ञानिक भने पनि यत्तिको समाधान अन्यत्रमा पाइँदैन । खै त हामीले नतिजाको कसीमा जोखेर हेरेको ? तर, हामी विकासको नाममा अरूको नक्कलमा मस्त छौँ । त्यसको फाइदा हाम्रो मौलिकतामाथि आयातित मौलिकता (धर्म–निरपेक्षताको धार्मिकता भनेकै अरूको मौलिकतामा आफ्नो मान्यता लाद्नु हो । त्यस्ता मान्यतालाई आयातीत भए पनि मौलिकता भन्नुपरेको छ ।) हावी भएको भन्ने कुरा हाम्रा धार्मिक गतिविधिलाई विभिन्न आरोप लगाई आफ्ना धर्मसंस्कारको प्रवद्र्धनमा गरेको सहयोगको तुलनाबाट थाहा लाग्छ ।

अब उठान गर्न खोजेको विषयका २ प्रश्नमा प्रवेश गरौँ । के संस्कार वैज्ञानिक कसीमा नाप जाँच गर्नैपर्छ ? के हाम्रा संस्कार तुलनात्मक रूपमा भौतिक विकास गर्नेहरूकोभन्दा त्याज्य नै छन् त ? पहिलो प्रश्नको उत्तर दिनको लागि ‘संयुक्त सहर र स्थानीय सरकार’ (ग्लष्तभम ऋष्तष्भक बलम ीयअब िन्यखभचलmभलत) भन्ने संस्थाको संस्कृतिसम्बन्धी एजेन्डा २१ को व्यवस्थाको बुझाइ नै काफी छ जस्तो लाग्छ ।

संस्कृतिसम्बन्धी एजेन्डा २१ भनेको के हो ?
यो संस्कार र संस्कृतिको कस्तो महत्व छ र त्यो बचाउ गर्ने विधि के हुनसक्छ भनेर सन् मे ८, २००४ मा ३ सयभन्दा बढी सहरबाट स्वीकृत अन्तर्राष्ट्रिय दस्तावेज हो । मानव सभ्यतामा संस्कृतिको महत्व वातावरणीय आवश्यकताजत्तिकै छ भन्ने बुझाइस्वरूप यसको नाम पनि वातावरणसम्बन्धी प्रसिद्ध सम्मेलन सन् १९९२ को रियो द जेनेरियोमा पारित ‘एजेन्डा २१’को नामको निरन्तरताको क्रम हो । यसले संस्कार आफैँमा कत्तिको वैज्ञानिक छ भन्ने कुराभन्दा मानव कल्याणमा यसको भूमिका वैज्ञानिक महत्वको रहेको हुन्छ भन्न खोजेको छ ।

युनेस्कोबाट दर्शाइएको महत्वलाई साभार गर्दै यसले संस्कार एकल मात्र भन्दा यसमा विविधता भएमा अति नै सन्तुलित र सभ्य हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेको छ । संस्कारलाई बौद्धिक, भावनात्मक, नैतिक र आध्यात्मिक सन्तुष्टि दिने उपायको रूपमा व्याख्या गरेको छ । जसले समाज वा सिमानालाई गतिशील सम्बन्ध स्थापित गराउन भूमिका खेल्छ ।

संस्कार-संस्कृतिलाई आर्थिक व्यवस्था, मानवअधिकार, सामाजिक समावेशीकरण, दिगो विकास र अन्तरदेशीय सीमाहरू तथा सरकार (विशेष स्थानीय सरकार)को मौलिक कार्यजस्ता ५ आयाममा कसरी सहायता गर्छ भनेर अति सरल तरिकाले व्याख्या गरेको छ । मानवअधिकारको कोणबाट मौलिक अधिकारको संरक्षणमा, वैयक्तिक स्वतन्त्रतामा समेत फरक मार्ग बाँच्न पाउने र प्रदान गर्न सक्ने विविधतामा (विकल्प) संस्कृतिको आवश्यकता प्रष्ट्याइएको छ ।

स्थानीय सरकारको गुणस्तरमा संस्कृतिको पक्षबाट समेत मूल्यांकन गर्ने मापकको रूपमा लिन सकिने, वैधानिकताको लागि सांस्कृतिक सुझबुझ ख्याल गर्दा सहज हुने र शासन गर्दा संस्कृतिको ख्याल गरेमा कसरी मानवीय जीवन प्रदान गर्न सकिन्छ भन्नेमा समेत कसरी भूमिका खेल्छ भन्ने प्रष्ट्याइएको छ । दीगो विकासमा संवाद, सहअस्तित्व र अन्तर सांस्कृतिककरणका आधारभूत सिद्धान्तको निर्माणमा संस्कृतिलाई साधनको रूपमा प्रस्तुत गर्दै सांस्कृतिक विविधतालाई जैविक विविधताकै स्थानको महत्व प्रदान गरेको छ ।

सामाजिक समावेशीकरणमा समेत संस्कृतिले सहज सहयोग गर्न सक्छ भन्ने मान्यता स्थापित गर्न खोजेको छ । संस्कृतिलाई आर्थिक स्रोत निर्माणमा समेत प्रयोग गर्न सकिन्छ भनेर वैज्ञानिकता र अवैज्ञानिकताको खोजीभन्दा मानव समाजलाई जीवन्तता प्रदान गर्ने उपयुक्त उपकरणको रूपमा लिएको पाइन्छ ।

हाम्रा संस्कारहरू पनि सबै देश र समाजका जत्तिकै महत्व राख्ने महत्वका छन् तर किन हामी त्यसको बेवास्ता गरेका छौँ । सबै देश र समाजको विकास दीगो रूपमा हुन नसकेको अहिलेको समस्यामा मूल कारण भनेकै सोही देश, समाज र व्यक्तिको मौलिकतालाई वास्ता नगर्दा हो भन्ने कुरा बुझेर पनि हामी अन्धानुकरणमा लागेकोले हाम्रै पहिचानसमेत अरूले बनाएर ओडाइदिने अवस्था आएको छ ।

पहिलो प्रश्नको उत्तरमा आएका ती ओझिलो उत्तरबाट के प्रष्ट भएको छ भने विश्वव्यापी रूपमा अरूको मौलिकता खाँदै हिँड्दा कम क्षमताका संस्कृति हराएर जानेछन्, लोप हुनेछन् । जसले गर्दा कथित विकसित भन्नेहरूले के–के आरोप लगाएर परिवर्तन गरिएका, लादिएका धर्म परिवर्तनले के सांस्कृतिक विविधता जोगाउला ? अब एउटा प्रश्न आउँछ, के अतिवादमा चलेका संस्कतिलाई सांस्कृतिक विविधताको नाउँमा राख्न सकिन्छ ? पक्कै सकिँदैन र परिवर्तन आवश्यक हुन्छ । संस्कारमा परिवर्तन तब सम्भव छ, जब हामीमा उक्त संस्कारप्रति उच्च सम्मान राखिन्छ । संस्कारमा सम्मान छ भने त्यसले सम्यक परिवर्तनको लागि सधैँ बाटो खुला राख्छ र संस्कारमा सम्मान राखेनौँ भने परिवर्तनभन्दा पनि विस्थापनको शिकार हुन पुग्ने हँुदा प्रथम रूपमा आफ्नो संस्कारलाई सम्मान गर्न सिकौँ र सम्यक परिवर्तनको लागि तयार होऔँ ।

दोस्रो प्रश्न : के हाम्रा संस्कार तुलनात्मक रूपमा विकसित राष्ट्रको भन्दा त्याज्य नै छन् त ? भन्ने हो । यसको उत्तरमा छोटो भूमिका राख्न जरुरी ठानेको छु । हाम्रै गाउँ ठाउँमा भन्ने गर्छन्– साँच्चै हाम्रो संस्कार संस्कति नै अविकासलाई प्रश्रय गर्ने खालको भएर हामी विकसित नभएका हौँ । यस्तो गलत सोच व्याप्त छ आम मानिसमा । अझ उदाहरण दिएरै भन्ने हो भने त विल गेट्सले लक्ष्मीको पूजा नगरी त्यत्तिका धनी भए सम्म भन्ने गरेको पाइन्छ । माथि नै भनियो संस्कारलाई आर्थिक स्रोतको निर्माणमा लगाउन सकिन्छ भनेर । तर कसैले पनि संस्कारलाई आर्थिक स्रोतको थुप्रो हो त भनेको होइन नि ! किन हामी सामान्य कुरामा पनि अन्धानुकरण गर्दैछौँ के यो पनि डलरकै प्रभाव हो ? सोच्ने बेला आएर पनि जान लागिसक्यो ।

त्यस्तै अर्को उदाहरण : हाम्रो संस्कृति बढी वैज्ञानिक छ भनेर प्रमाणित गर्नेहरूको अतिवादबाट समेत हामी आक्रान्त छौँ । प्रत्येक वर्षको हरिबोधनी एकादशीको दिन तुलसीको बढी महिमासहितको वैज्ञानिक कारण देखाउँदै सार्ने गर्दछौँ । के हाम्रो आस्था र सम्मान पनि त्यसैमा बिक्ने हो र ? हरेक गतिविधिमा वैज्ञानिक कारण दिने चलनले आफ्नै जीवन बाँच्नुको वैज्ञानिक कारण के प्रश्न सोध्न सक्छ । त्यसकारण हामीले मान्दै आएका हरेक संस्कार कति वर्षसम्मको सामूहिक विवेक, वातावरणीय सन्तुलनको उपज हो भने आज एक सानो वैज्ञानीक कारण दिन सकेन भनेर दोष लगाएर संस्कार पालना नगर्नु भनेको सामाजिक, व्यनवहारिक रूपमा अवैज्ञानिक कुरा हो ।

के हाम्रा संस्कार-संस्कृति अवैज्ञानिक भएर देश विकास नभएको हो त ? त्यो कदापि होइन । बरु हामीले आफ्नै संस्कारलाई सही सम्मान दिन नसकेकाले विकास नभएको हो । संस्कृतिलाई परिवर्तनभन्दा विस्थापन गर्न खोज्ने हाम्रो सोच नै घटिया भएकाले हो । उदाहरणको लागि दाइजो प्रथाको कुरा गरौँ । के अहिले आधुनिक नारीको पैतृक सम्पत्तिको माग त्यस्तै होइन र ? तर, हामीले दाइजो प्रथा अन्त्य र नारीको पैतृक सम्पत्तिमा हक भन्छौँ । दाइजो र तिलक प्रथा पनि नारीलाई प्राप्त हुने पैतृक सम्पत्ति होइन र ? यदि हामीले यो संस्कारलाई सम्मान गरेको भए प्रगतिशील परिवर्तन आइसक्ने थियो ।

तराईमा दिने तिलक रकम लाखौँको हुन्छ भने त्यही प्रथाबाट नारीको हक लाग्ने गरी आधा रकम नारीको पेवा भनी जीवनपर्यन्त सुरक्षित हुने र त्यसको विनियोजनमा आफ्नै निर्णय लागू हुने गर्न पनि सक्छौँ होला । तर तिलक प्रथा अन्त्य र नारीलाई पैतृक सम्पत्तिको कुरा किन गरेको ? त्यो विदेशी गैरसरकारी संस्थाहरूको भन्ने गरेको काम मात्र हो, हामी त्यही कुरा मान्दैछौँ । अर्को अति नराम्रो भनिएको छाउपडी प्रथामा पनि त्यस्तै परिवर्तनभन्दा पनि विस्थापन गर्नेमै हाम्रो प्रगति देख्नेले त्यसमा भएको सही फाइदा देख्ने कुरै भएन ।

महिला महिनावारी हुँदा आरामसँग बस्ने कुरा सही हो । आजभोलि स्टेफ्रीको विज्ञापनमा बाहेक अन्त महिनावारी हुँदा पनि बढी कसरत गरेको रामै हो भन्ने मैले भेटेको छैन । तर हामी छाउपडीको घर, बसाई अस्वास्थ्यकर र घरबाट टाढा भयो भने त्यसलाई घरनजिकै सफा प्रकाश आउने कोठामा बस्ने र धेरै दिनलाई विस्तारै घटाउने गर्न सक्छौँ । जसले गर्दा हाम्रो संस्कारको सम्मान र विज्ञानबाट प्राप्त ज्ञानको सदुपयोग हुने थियो । तर हामीकहाँ किन संस्कारलाई हेला र विज्ञानको दुरूपयोग भएको छ ? सामाजिक एकतामा, आपसी सद्भावमा संस्कारको ठूलो भूमिका हुन्छ भने एकताको त्यो हतियारलाई भुत्ते नबनाऔँ र समाजलाई संस्कारित र प्रगतिशील बनाउन सबै संस्कार-संस्कृतिको खोजी र पालना गरौँ ।

प्रतिक्रिया