पीडाको दस्तावेज : जीवन गति

coverझापा । मोफसल छोडेका भए सायद उनीसँग धेरै थोक हुन सक्थ्यो अहिले । धन सम्पत्ति, प्रतिष्ठा, अबसर, योग्यता आदि । पत्रकारिताको करियरकै कुरा गर्ने हो भने उनले पत्रकारिता सुरु गर्दा जन्मेको बालक अहिले बिस बर्षको लक्का जवान भै सकेका छ । तर, नेपालको सूदूर पूर्वमा रहेर पत्रकारितामा आफ्नो जीवनको उर्जाशिल दुई दशकको समय लगानी गरेका पत्रकार तीर्थ सिग्देलसँग अहिले पनि उनले बिस बर्ष अगाडि समातेको कलम छ । थोरै प्रतिष्ठा छ । र, महत्वपुर्ण कुरा पत्रकारिता प्रतिको उनको लगाव तन्नेरी नै छ । तीनै पत्रकार सिग्देल यसै बर्ष आफ्नो संस्मरणात्मक लेखहरूको सँगालो ‘जीवनको गति’ लिएर आम पाठक माझ आएका छन् । अब उनको परिचय पत्रकारसँग लेखकको रूपमा पनि स्थापित भएको छ ।

जीवनमा दुई दशकको समय भनेको पक्कै पनि थोरै हुँदै होइन । एउटा ब्यक्तिको लागि त अझ यो समय धेरै नै हो । रबर मात्र उत्पादन गर्ने बिकाशोन्मुख मुलुक मलेशिया एउटा बिकासशील मुलुक बन्न केवल २५ बर्ष लागेको थियो । नेपालकै राजनीतिक इतिहासलाई हेर्ने हो भने पनि बितेका दुई–अढाई दशकमा धेरै कुराहरू भएका छन् । प्रजातन्त्रको पुनस्र्थापना, माओबादी युद्धको सुरुवात, राजा बिरन्द्रको बंशनास, नयाँ राजाको अभ्युदय, बृहत शान्ति सम्झौता, दुई सताब्दी अगाडि स्थापना भएको राजतन्त्रको अबसान, गणतन्त्रको स्थापना आदि महत्वपूर्ण राजनीतिक परिबर्तनहरू यिनै दुई दशकमा भएका छन् । राजनीतिक परिबर्तन, राजनीतिको नाममा हज्जारौं मान्छेहरूको बलिदानी, हज्जारौंको शहादत पछि प्राप्त राजनीतिक परिबर्तन लक्षित बर्गसम्म पुग्न सकेको छ कि छैन । त्यसले आम मानिसले देख्न र उपभोग गर्न सक्ने गरी के उपलब्धि र परिणाम ल्याएको छ भन्ने जस्ता आम मानिसमा रहेको प्रश्नको उत्तर त भबिस्यले नै देला । पत्रकार सिग्देलले आफ्नो कृति मार्फत यी आम प्रश्नहरूमाथि एउटा प्राज्ञिक बहस सिर्जना गर्ने कोशिस गरेका छन् ।

नेपालको राजनीतिक परिबर्तनको इतिहासलाई दस्ताबेजीकरण गर्ने क्रममा झापा जिल्ला लाई अलग गर्ने हो भने त्यो इतिहास अपुरो हुन्छ । झापा जिल्ला त्यो भुगोल हो, जहाँबाट नेपालको बामपन्थी आन्दोलनको शुत्रपात भएको छ । २०२८ सालको बर्ग सत्रु खतम पार्ने अभियान मार्फत कम्युनिष्ट आन्दोलनमा होमिएका प्रायः नेताहरू बिभिन्न कालखण्डमा मुलुकको राजनीतिको उच्च ओहदामा पुगिसकेका छन् । यद्यपि झापा कहिल्यै राजनीतिको केन्द्रमा छैन । बरु यो अझै मोफसल नै छ । समयले स्वतः ल्याएको परिबर्तन बाहेक, राजनीतिले जति दिन सक्नु पर्ने हो त्यति यो ऐतिहासिक भूमीले प्राप्त गर्न सकेको छैन । लेखक सिग्देलले पुस्तक मार्फत प्रसस्त आम असन्तुष्टि छताछुल्ल रूपमा पोखेका छन्, जुन स्वभाबिक लाग्छन् ।

महिला र पुरुष बराबर साक्षर भएको जिल्ला भए पनि झापाली जनता गरिवीको रेखा भन्दा माथि छैनन् । सरकारले हरेक बर्ष सार्बजनिक गर्ने बजेटको अर्थ नबुझ्ने, गरिवी , शिक्षाको पहुँच र स्वास्थ्य सेबाबाट बञ्चित हुने जनसमुदायको ठूलै हिस्सा झापामा बसोबास गर्छ । आम मानिसका पीडा सामुहिक प्रकृतिका छन् । आफ्नो कलमलाई प्रायः सिमान्तकृत बर्गको हितमा प्रयोग गर्न रुचाउने दाबी गर्ने पत्रकार सिग्देलका पीडा आफ्नै खाले छन्, जुन मोफसलमा रहेर पत्रकारितालाई निरन्तरता दिन चाहने हरेक पत्रकारका साझा पीडा हुन् । यस अर्थमा सिग्देलको ‘जीवनको गति’ ती आम पत्रकारहरूको प्रतिनिधि कथा हो, जो बिषय बस्तु र स्रोतका हिसाबले केन्द्रमा रहेर पनि सधैं अबसरबाट बञ्चित छन् ।

मोफसलका पत्रकारहरूका लागि दशबर्षे माओबादी द्धन्द्ध सबैभन्दा कहालिलाग्दो समय थियो । यसकारण पनि कि गाँउबाट सहर घेर्ने दीर्घकालिन रणनीति लिएको माओबादी युद्धकालमा युद्धरत पक्षलाई सुचना महत्वपुर्ण कुरा हुन्थ्यो र सुचनाको बलिया स्रोत भनेकै पत्रकार हुन भन्ने कुरा बिद्रोही र राज्य पक्ष दुबैलाई राम्रो सँग थाहा थियो । दुबै पक्षले आफ्नो स्थिती सबल पार्नको लागि पत्रकारहरूलाई प्रयोग गर्ने सम्भाबना नकार्न सकिन्नथ्यो । त्यसको प्रत्यक्ष जोखिममा स्वभाबिकरूपमा पत्रकारहरू पर्थे । यस्तो अबस्थामा मोफसलमा रहेर पत्रकारिता गर्ने कुरा कति कठिन थियो र कति कहाली लाग्दो अबस्थाबाट एउटा पत्रकारका दिन, घण्टा र मिनेटहरू बित्थे भन्ने कुरा लेखकले इमान्दारितापस्र्वक पुस्तकमा उल्लेख गरेका छन् ।

सरसर्ती हेर्दा आञ्चलिक प्रकृतिका बिषय बस्तुले भरिभराउ भराउ जस्तो लागेता पनि पुस्तकले नेपालको एउटा राजनीतिक कालखण्डलाई मोफसलले कसरी हेरिरहेको छ भन्ने कुरालाई शुक्ष्म ढंगले नियाल्ने प्रयत्न गरेको छ । स्वभाबिकरूपमा पूर्वाञ्चल र खासगरि झापा जिल्ला र त्यस आसपासका राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, बुद्धिजिवी, पत्रकार, तत्कालिन सुरक्षाकर्मी र आम सर्बसाधारणको बिगत र बर्तमानलाई तुलनात्मक रूपमा बुझ्न पुस्तकले सहयोग गरेको छ । सतहमा अध्ययन गर्दा कुनै प्रदेश बिशेषको दस्ताबेज जस्तो भान परेता पनि बिषय बस्तुको गाम्भिर्यतालाई हेर्ने हो भने सिग्देलको ‘जीवनको गति’ एउटा मोफसलको कलमजीबिको गरेको संघर्ष र भोगाईको महाकाब्य नै हो भन्न सकिन्छ ।

पुस्तकमा माओबादी जनयुद्धको क्रममा दुबै तर्फबाट ज्यान गुमाएका र बेपत्ता पारिएका झापालीहरूको फेहरिस्त प्रस्तुत मात्र गरिएको छैन बरु युद्धको समाप्ति र शान्तिबार्ता पश्चात सम्बन्धित पक्षलाई युद्धको औचित्यता पुष्टि गर्न समेत चुनौति दिइएको छ । युद्धको दीर्घकालिन मनोसामाजिक असर र त्यसले समाजमा पार्ने दुरगामी असरलाई लेखकले प्रसस्त औल्याएका छन् । लेखकले बेहोरेको भूगोल फरक हुन सक्छ । तर, पूर्बी नेपालको एउटा पत्रकारले भोगेको भोगाई द्धन्द्धग्रस्त क्षेत्रमा रहेको अर्कोे कुनै क्षेत्रको अर्को पत्रकारले भोग्ने भोगाईसँग कुनै न कुनै रूपमा समानता राख्छ ।

आफ्नै आँखा अगाडि अघिल्लो बेलुका एउटै डेस्कमा समाचार सम्पादन गरेको सहकर्मीको बिहान लास देख्नु पर्दा एउटा पत्रकारको मानवीय समबेदना कसरी छताछुल्ल हुन्छ । त्यस्तो घटनाले उसलाई कतिसम्म बिचलित पार्न सक्छ अर्थात हदैसम्म बिक्षिप्त भएर पनि आफ्नै सहकर्मीको हत्याको समाचार आफैले लेख्न पर्दा उसको मनोबिज्ञान कस्तो हुन्छ भन्ने कुरालाई लेखकले अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका छन् ।

सिग्देलको पुस्तक ‘जीवनको गति’ आम सञ्चार क्षेत्रमा सरोकार राख्नेहरूका लागि एउटा महत्वपूर्ण दस्ताबेज अबश्य हो । थप रूपमा राजनीतिशास्त्रका बिद्दयार्थीहरूका लागि यो एउटा शन्दर्भ ग्रन्थ नै हो । यसर्थ पनि कि एउटै पुस्तक भित्र राजनीतिको बिशेष कालखण्डमा बिशेष भूमिका निर्बाह गरेका हस्तिदेखि सामान्य कार्यकर्ता समेतको शुक्ष्म परिचय दिने जुन चुनौीत लेखकले रोजेका छन् । त्यो अबश्य पनि सजिलो कार्य पक्कै थिएन । लेखकले धेरै कुरा छोडेर, ब्यक्तिगत जीवनका धेरै सम्भाबनाहरूलाई तिलाञ्जली दिएर मोफसललाई चिनाउने प्रयत्न गरेका छन् । जुन आफैमा ठूलो उपलब्धि हो ।

प्रतिक्रिया