भारतको नियत के ?

भर्खरै युरोप र अमेरिकाको भ्रमण गरेर फर्किएका नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बाहिर ल्याएका कुरा मुलुकका लागि निकै पेचिला छन् । उनले भारतले नेपालविरुद्ध योजनाबद्ध र संगठित रूपमा भ्रम छर्दैछ भन्ने कुरा दवावका साथ भने । आफूले ती भ्रम निवारण गरेको उनको भनाइ थियो । कुरा यत्तिकैमा सिद्धिँदैन । जसको भूमिले नेपाललाई तीनतिरबाट घेरेको छ, जसको नेपालमा लगानी अन्य देशकोभन्दा बढी छ । उसले नेपालविरुद्ध यदि उपप्रम कमल थापाले भनेजस्तो योजनाबद्ध र संगठित रूपमा भ्रम छर्न थालेको हो भने कुरा गम्भीर छ । नेपालसँग जसको शक्ति, सामथ्र्य, जनसंख्या कुनै कुरामा तुलना हुन सक्दैन । त्यस्तो मुलुक नेपालजस्तो सानो र अल्पविकसित देशविरुद्ध यसरी लाग्नुको कारण के हो ? उसले के चाहेको र के नभएको कुरा पुष्ट हुनुपर्छ । आखिर दुःख पाउने आमनेपाली जनताले नै हो भने जनताले यसबारे प्रष्ट बुझ्न र जान्न पाउनु पर्छ । होइन भने जिब्रो चपाएर जनतालाई अँध्यारोमा राखेर राष्ट्रवादको एकोहोरो नारा फलाक्नु अधिनायकवादकै अर्को रुप हो ।

पहिलो संविधानसभा गठन भएपछि संविधान निर्माणप्रक्रिया अत्यन्त जटिल मोडहरुबाट गुज्रदै थियो । दक्षिणी छिमेक बोलेको थिएन । मानौँ उसलाई यसबारे थाहा थिएन । जातैपिच्छे प्रदेशको माग हुँदा होस्, कि मधेसमा एक वा दुई र पहाड, हिमालमा चिरैचिरा हुँदा उसले अर्ति उपदेश दिन आवश्यक ठानेन । त्यतिखेर उसलाई नेपालबाट हुनसक्ने कुने खतरा शायद थिएन । जब दोस्रो संविधानसभाको निर्वाचन भयो अनि कांग्रेस र एमाले मिल्दा दुईतिहाइ बहुमत हुने भयो अनि उसले अर्ति दिन थाल्यो । भारतका प्रधानमन्त्रीले नेपाली संसद्मा नेपाली जनप्रतिनिधिलाई ‘ऋषि मन’ बनाउन उपदेश दिए । आखिर उनी नेपालका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको भूमिका न थिए । त्यसैले उनको त्यो भाषणमा नेपालका सांसद्ले बेस्सरी ताली पिटे । जब नेपाली जनताले एकथान संविधान पाउनै लगभग निश्चित भयो उसको छटपटी सुरु भयो । संविधानको रुपरेखा तयारै नभएको कस्तो लेखिन्छ के लेखिन्छ भन्ने यकिन नै नभएको अवस्थामा उसले एकथरिलाई संविधान बन्ने प्रक्रियाबाटै अलग गरायो । सुझाव संकलन भाँड्न सकेको कोसिस ग¥यो । यति गर्दा पनि जब संविधान जारी हुने नै भयो, अनि त्यसलाई रोक्न विशेषदूतै पठायो । संविधान जारी भएको दिन सातसमुन्द्र पारीकाले बधाई दिए सबैभन्दा नजिकको छिमेकीले जानकारी मात्रै पायो । त्यसको भोलिपल्ट सचेत गरायो तेस्रो दिनदेखि नाकाबन्दी नै लगायो । त्यहीबीच नयाँ संविधान बमोजिम प्रधानमन्त्रीको छनौट हुने भो त्यसमा उसले सक्रिय सहभागिता जनायो । नयाँ सरकारको अनेकौ कोसिस र अन्तर्राष्ट्रिय दवावमा उसले नाकाबन्दी त खोल्यो तर, बेलायत र इयुसँगको उसको संयुक्त विज्ञप्ति तथा अन्तर्राष्ट्रिय फोरममा उसका अभिव्यक्तिले उसको उद्देश्य अझै पूरा भएको छैन भन्ने प्रष्ट छ ।

भारतसँग वर्तमान सरकारका परराष्ट्रमन्त्री, प्रधानमन्त्रीले धेरै कुरा गरिसकेका छन् । यी दुईले भारतका आफ्ना समकक्षीसँग ‘वान टु वान’ कुरा पनि धेरैपटक गरेको समाचार आएका छन् । नेपालीपक्ष हरेकपटक भारतको भ्रम निवारण गरियो भन्छ । तर, भारतले आफ्नो पहिले कै भनाइ बोल्न छाडेको छैन । अझ अब उसले अन्तर्राष्ट्रिय फोरम प्रयोग गर्दैछ र आफ्नो पक्षमा पार्दैछ । तर, नेपालीपक्ष चाहे प्रधानमन्त्री केपी ओली हुन् वा परराष्ट्रमन्त्री कमल थापा कुनैले पनि आखिर भारतले के चाहेको हो ? खोल्न चाहदैनन् । यसअघिका सरकारभन्दा अहिलेको सरकार एउटा सार्वभौमसत्तासम्पन्न स्वाधीन मुलुकका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीजस्तो गरी प्रस्तुत त हुने गरेका छन् । तर, उनीहरूसँगको ‘वान टु वान’मा भारतीय पक्षले कुरा त राख्यो होला । त्यो के हो ? आखिर भारतले नेपाल कस्तो देख्न चाहेको छ ? यसको प्रष्ट कुरा जनसमक्ष राख्न अब ढिलाई भइसकेको छ । यो कुरा प्रष्ट राखिँदैन भने उनीहरूले पढाउने राष्ट्रियताको पाठभित्र पनि निहित स्वार्थ र छलछाम छन् भन्ने बुझ्नुपर्ने हुन्छ । अबका नेपाली जनता धूर्तहरूले जे बोले त्यही ठीक भन्ने पक्षमा छैनन् । नेपाली जनता यसको उत्तर खोजिरहेका छन् । आखिर भारतको नियत के हो ?

प्रतिक्रिया