नेपालगञ्जमा राष्ट्रिय झन्डा महोत्सव

नेपालगञ्ज, १ वैशाख । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको उपस्थितिमा बुधबार नेपालगन्ज रंगशालामा राष्ट्रिय झन्डा महोत्सव आयोजना गरियो । ‘सयौँ थुंगा पूmलका हामी एउटै माला नेपाली…’ बोलको राष्ट्रिय गानसँगै महोत्सव सुरु भएको हो ।

अन्तराल संस्थाको संयोजन तथा व्यवस्थापनमा आयोजित महोत्सवमा सहभागीले राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय स्वाभिमान र एकताको सन्देश प्रवाह गरेका थिए । महोत्सवमा राष्ट्रिय सेवा दलका ‘क्याडेट’द्वारा राष्ट्रिय झन्डासहित मार्चपास्ट र खुकुरी खेल प्रस्तुत गरिएको थियो । प्रा. राजकुमार सुवेदीले राष्ट्रिय झन्डाको ऐतिहासिक महत्व र यसको पृष्ठभूमिका बारेका जानकारी गराएका थिए । प्रहरी तथा प्रशासनका पदाधिकारी, पत्रकार, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, हिन्दू र मुसलमान धर्मगुरु तथा नागरिक समाजका अगुवाको सहभागिता रहेको महोत्सवमा साहित्यकार माइलालाई नागरिकका तर्पmबाट अभिनन्दनसमेत गरिएको थियो ।

त्यस अवसरमा स्थानीय कलाकारले राष्ट्रिय भावना ओतपोत हुने नृत्य, संगीत प्रस्तुत गरेका थिए । धर्मगुरु चन्द्रनाथ योगी र जियाउल मुस्तफा, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल र बाँकेका प्रजिअ रविलाल पन्थीले राष्ट्रिय झन्डालाई सबै नेपालीले शिरमा राख्न सके मात्र मुलुक र देशवासीको स्वाभिमानको रक्षा हुने धारणा राखे । सरकारीस्तरबाट राष्ट्रिय झन्डा दिवस मनाउन दबाब दिन पनि महोत्सव आयोजना गरिएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले बताए ।

प्रतिक्रिया