दर्दनाक वर्षान्त

२०७२ साल नेपालीका लागि अफापसिद्ध रह्यो । भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, विमान दुर्घटनालगायत घटनाले सालैभरि मुलुकलाई प्रताडित बनायो । सालको अन्तिम दिन अर्थात ३० चैतमा खोटाङमा भएको यात्रुबस दुर्घटनामा २९ जनाको ज्यान गयो । यो घटनाका कारण नेपालीका लागि दर्दनाक वर्षान्त बन्यो । घटनाक्रमले ०७२ साल इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो । सालको सुरुआतमै २ वैशाखमा पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो । त्यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा आप्mनै निवासमा असामयिक निधन भयो । कैलालीमा भएको थारू आन्दोलन र संविधानको विरोधमा मधेसमा भएको आन्दोलनमा सुरक्षाकर्मीसहित करिब ५५ जनाले ज्यान गुमाए । १२ फागुनमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो । त्यसैगरी नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा दुई चालकले ज्यान गुमाए । तीर्थाटनमा आएका केही भारतीय पनि सडक दुर्घटनामा मारिए । अन्य कयौँ सामान्य घटना, दुर्घटना भए, जसका कारण देशले आर्थिक भार बेहोर्नुप¥यो ।

वर्षको सुरुमै १२ वैशाखमा मध्यान्ह करिब ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पु¥यायो । सरकारी तथ्यांकअनुसार भूकम्पबाट ८ हजार ८ सय ५६ जनाको ज्यान गयो । २२ हजारभन्दा बढी घाइते भए । भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेपछि भूकम्पको घाउ अझै आलै छ । त्यति मात्र होइन, गर्मीयाम सुरु भएसँगै तराईका विभिन्न जिल्लामा भीषण आगलागीका घटना भए । यसवर्ष आगलागीका कारण करोडौँको क्षति भइसकेको छ । भूकम्प, नाकाबन्दी र आन्दोलनको पीडामा देश डुबिरहेका बेला फुटबलमा ‘म्याच फिक्सिङ’ प्रकरणले पनि धेरैलाई रुवायो । विगत लामो समयदेखि देशले फुटबल क्षेत्रमा बेहोरेको लज्जास्पद हारको कारण थाहा पाएपछि विश्वसामू नेपालको शिर निहुरिन पुग्यो ।

विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार भूकम्पबाट ६ दशमलव ७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भयो । त्यसपछि नाकाबन्दीका कारण देशलाई अर्बौं घाटा भयो । नाकाबन्दीका कारण ग्यासजस्तो अत्यावश्यक उपभोग्य वस्तु अझै सहज हुन सकेको छैन । यी तमाम घटनाक्रमले वर्ष २०७२ नेपालीका लागि बिर्सनै नसकिने तर बिर्सनलायक वर्ष बन्यो । यति हुँदाहुँदै पनि मानिस आशावादी प्राणी हो । सुखद् भविष्यको आशामै मानिसले अकल्पनीय आविष्कारहरू गरेका छन् । त्यसैले हामी पनि विगतको दुःखद क्षणलाई बिर्सेर आशा गरौँ, ०७३ सालले सबैमा नयाँपन महसुस गर्ने अवसर प्रदान गरोस्, नया“वर्ष २०७३ सबैका लागि शुभ वर्ष बनोस् !

प्रतिक्रिया