हिजोआज नेपाली समाजमा दिनप्रतिदिन सामाजिक अपराधका अकल्पनीय घटनाहरू हुन थालेको छ । यही कारण नागरिक समाज चिन्तित बन्न थालेको छ । पूर्वी चितवनमा गतवर्ष एक वृद्ध आमालाई आप्mनै छोराबुहारीले हत्या गरेका थिए र हालैमात्र ती दुवैलाई सर्वस्वसहित २० वर्ष कैदको फैसला चितवन जिल्ला अदालतबाट भएको छ । यो आफैँमा अत्यन्त भयावह घटना हो । उक्त घटना मानव सभ्यताको भयंकर कलंक थियो । यस्तै अर्को एक घटनामा आफ्नो ज्यूँदो पतिलाई मरेको भनी गाविस र अस्पतालबाट मृत्युको प्रमाणपत्र बोकेर सम्पत्तिको हकदाबीको माग गर्दै पूर्वीचितवन कुमरोज–८ की एक महिला अदालत पुगिन् । अनुसन्धान गर्दै जाँदा उनको पति ज्यूँदै भएको प्रमाणित भएपछि अहिले पत्नीलाई किर्ते गरेको अभियोगमा मुद्दा चलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
चितवनमै भए यी दुवै घटना आफ्ना अत्यन्त निकट व्यक्तिबाट पैसाकै लोभमा भएको पाइन्छ । पैसाले जन्माएको यी दुई अपराधका घटना उदाहरण मात्र हुन् । नेपाली समाजमा यो द्रव्यपिसाची रोगले थाहै नपाउने गरी नराम्रोसँग जरा गाडिसकेको छ । ‘मै खाऊँ मै लाऊँ’ को व्यक्तिवादी र स्वार्थी चिन्तन क्रमशः हावी हुँदै गएका कारण समयमै यसलाई निराकरण गर्नु अत्यावश्यक भइसकेको अनुभव गरिएको छ । वर्तमान अवस्थामा पनि सामाजिक अपराधका घटनाहरू नयाँनयाँ शैलीमा जन्मँदै गएका छन् । यो नेपाली समाजका लागि साझा चिन्ताको विषय बनेको छ । चितवन मात्र नभएर देशका विभिन्न जिल्लामा हत्या, बलात्कार, ठगी, मानव बेचबिखन र लागुऔषधका कारोबारीहरूको संख्या डरलाग्दो रूपमा बढ्दै गएको छ । कानुन, अदालत, प्रहरी र कारागारसमेतको पूर्वाग्रह नगरी रातारात करोडपति बन्ने धुनमा केही व्यक्तिहरू लागेको पाइन्छ । यसैगरी, वैदेशिक रोजगारीको नाममा भइरहेको ठगीका घटना र भूमाफियाले सोझा र इमानदार नागरिकको चरम शोषण गरिरहेका घटनाहरू पनि दिनदिनै सार्वजनिक भइरहेका छन् ।
महँगो जीवनशैली र देखासिकी प्रवृत्तिले पनि अपराध जन्माउन सहयोगी भूमिकाको काम गरेको पाइन्छ । पढेलेखेका र नियमकानुन जानेका व्यक्तिबाट पनि जानाजानी नियमकानुन मिच्ने काम भएको छ । उदाहरणका रूपमा बैंकिङ कसुर गरेको अभियोगमा नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष गत बिहीबार काठमाडौंमा पक्राउ परेको घटनालाई लिन सकिन्छ । चितवनको रत्ननगरमा प्रधान कार्यालय रहेको सो बैंकका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठसमेतको मिलोमतोमा बैंकमा जम्मा भएको जनताको निक्षेप रकम २३ करोड ७२ लाख हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो । अहिले महाप्रबन्धक श्रेष्ठ र अध्यक्षलाई थुनामा राखी कारबाही प्रक्रिया अगाडि बढेको छ । पैसाले कहिल्यै पनि कसैलाई पनि सन्तुष्ट बनाएको उदाहरण समाजमा हामी पाउन सक्तैनौँ । अपराधीहरूले भने कटु वास्तविकतालाई नबुभेर ठाडो रूपमा नियमकानुनको उल्लंघन गरिरहेका छन् । पृष्ठभूमिमा पैसाको भूमिका रहने गरेका अपराधका तमाम घटनाले सभ्य समाजलाई निरन्तर चुनौति दिइरहेका कारण अपराध र सजायको पुनरावलोकन हुनु जरूरी देखिएको छ ।
प्रतिक्रिया