होलीलाई मर्यादित बनाऊ

होलीसँग सम्बन्धित स्थान विशेषका अनेकौँ कथा, कहानी र मिथक भए पनि यो एक वसन्त ऋतुको आगमनको अवसरमा मनाइने पर्व रहेकामा कसैको दुई मत छैन । वसन्त ऋतुको स्वागत गर्दै मनाइने होली हिजोआज विकृत बन्दै गएको छ । जबर्जस्ती रंग दल्ने छ्याप्ने र लोला हान्ने प्रवृत्ती बढेको छ । नेपाल एक बहु जातीय, बहु धार्मिक, बहु सांस्कृतिक देश भएकाले स्वभावैले यहाँ होली सबैको साझा पर्व होइन । यो हिन्दू धर्म मान्नेहरूको एक पर्व हो । किनभने सबैजसो पौराणिक कथाले यसलाई हिन्दू धर्म र यसका देवतासँग जोडेको छ । सडकमा हिँड्ने जो सुकैलाई रङ दल्ने, छ्याप्ने वा लोला हान्ने गर्दा ती जो सुकै पर्न सक्छन् । अर्को हिन्दू धर्ममा पनि ‘शौच’बारेका पर्न सक्छन् । जसका लागि यो अपराध शिवाय केही होइन । विकृतिले होलीलाई कुरूप मात्र पारेको छैन यसको सामाजिक तथा धार्मिक पक्षलाई घटाउँदै लगेको छ ।

होली कहिलेदेखि र किन मनाउन थालियो भन्ने कुरामा अलगअलग मत भए पनि रंग, उल्लास र शृंगारिक पर्वका रूपमा मनाइँदै आइएको छ । भक्त प्रह्लादलाई मार्ने षडयन्त्र गर्दा, षडयन्त्रकारी होलिका नै जलेर भष्म भएकाले त्यसैको खुसियालीमा होली पर्व सुरु भएको मान्नेको ठूलो संख्या रहेको छ । राम–सीता, राधा–कृष्णको अर्कै कथा छ । भक्तपुरमा मनाइने होली यौनसँग सम्बन्धित छ भने यो पर्व मान्छेले कृषि पेसामा प्रवेश गरेपछि सुरु भएको मान्नेको संख्या पनि कम छैन । हिन्दू धर्मअनुसार हरेक पर्वलाई देवताको लीला, असुरहरूको नास तथा देवताका विजयसँग जोडने गरिएको र सोही अनुसारका कथा पनि लेखिएको पाइन्छ । तर, खासमा होली एक सामाजिक पर्व हो । पर्व मनाइने तरिका र पर्व विशेषमा गरिने क्रियाकलापले यो कृषि तथा यौनसँग सम्बन्धित पर्व भएको प्रसस्त प्रमाण छन् । यो सबै हिन्दूहरूले मनाउने पर्व भए पनि तरिका फरक छन् । यसको उल्लास पहाडभन्दा तराई–मधेसमा बढी हुने गर्छ । तराई–मधेस कृषिका लागि उर्वरभूमि पनि हो । यो मौसममा तराईमा हिउँदे बाली भित्र्याइँदै गरेको समय हो । होलीका विशेष परिकार भनेका दहीबारा, दालपुरी र मालपुवा हुन् । बारा मासको दालबाट बन्छ भने दालपुरी चनालगायतका दाल, मैदा वा गहुँको पिठोबाट बन्छ । त्यसैगरी मालपुवा मैदा वा गहुँको पिठो, सख्खर र तेलबाट बन्दछ । दलहन वा गहुँ, जौ तथा तेलहनमा तोरी, सस्यूँ यही समयमा पाक्ने गर्छ । यसले गर्दा हिउँदेवाली पाकेर भित्र्याएको खुसियालीमा मनाउने गरिएको पर्व हो होलीभन्दा यो कृषिसँग सम्बन्धित हुन पुग्दछ ।

यसपर्वमा प्रयोग हुने रातो रंग र खासगरी तराईमा भाउजू, साली, भिनाजु, पतिपत्नीबीच रङ, अबिर लगाउने चलन छ । यसपर्वमा ब्यंग्य, ठट्टा, हस्यौली गरिन्छ र भनिन्छ ‘बुरा न मानो होली है’ अर्थात् गलत नमान होली हो । यसपर्वमा तराईका जिल्लामा मुर्ख, महामुर्ख सम्मेलनको आयोजन हुन्छ र सभाका सबैभन्दा बुज्रकलाई मुर्ख वा महामुर्खको उपाधि दिइन्छ । यसलाई उनीहरू हस्यौलीका रूपमा सहर्ष स्वीकार गर्छन् । तराईमा पर्व विशेषमा समाजमा भएका बेथिती, विकृतीमाथि कठोर ब्यंगवाण प्रहार गरिन्छ तर, ठट्टाकै रूपमा । आफूभन्दा ठूला र मान्यजनलाई सानाले झुकेर पाउमा अबिर हाल्ने, ठूला वा मान्यजनले सानालाई प्रेमपूर्वक अनुहारमा अबिर लगाएर आर्शीवाद दिने, दौतरीसँग एकअर्कालाई अबिर दलेर गलामिल्ने पर्वको प्रचलन छ । जुन तराईमा अद्यापि देख्न पाइन्छ । अचेल जुनसुकै पर्व परम्परा विमुख भएका छन् । तिहारमा खेलिने द्योसीभैलोमा विकृती आएजस्तै होलीमा पनि विकृती भित्रिएको छ । पर्वहरू मनाउने तरिकामा भित्रिएका विकृती कानुनले मात्र हटाउन नसक्ने रहेछ भन्ने देखिसकिएकै छ । आजका युवा पुस्तामा पर्वहरूको धार्मिक तथा सामाजिक महत्वको ज्ञान कम भएकाले र अन्य संस्कृतिको हस्तक्षेपले हाम्रा मौलिक पर्व र संस्कृतिमा विकृति भित्रिएकाले यसलाई सफा गर्न आवश्यक छ । यसका लागि कानुनभन्दा पर्वहरूको सामाजिक महत्व, यसले समाजमा पार्ने सकारात्मक प्रभाव र जीवनमा ल्याउने सहजतालाई बुझाउन आवश्यक छ । यसले होली मात्र होइन हाम्रा पर्वहरू मर्यादित र अझ उल्लासपूर्ण हुनेछन् ।

प्रतिक्रिया