नेपालको रिङरोडमा नयाँ महानगर बस चलेको छ । एप्सबाट सबै कुराको जानकारी पाउने, वाइफाई तथा टिभी सुविधा भएको महानगर बस सञ्चालनमा आएकोमा आमनागरिकमा खुसी छाएको छ । खासमा पछिल्लोसमय नेपालमा सरकारी सुविधाको आमनागरिकले प्रयोग नै गर्न पाएका छैनन् । आममानिसमा सरकारी शिक्षण संस्थामा विश्वास जाग्न छाडेको छ । कोही आफन्त बिमारी हुँदा सरकारी अस्पतालमा भर पर्न छाडेका छन् । नेपालीको मनमा एउटा कुराले गहिरो बास गरेको छ, सरकारी भनेको नराम्रो नै हुन्छ । मानौँ, आमनेपालीलाई राज्यलाई कर तिर्नुको कारण नै थाहा हुन छाडिसकेको छ । आपूmले तिरेको करको मूल्य र अर्थ बुझ्न पनि नेपालीले छाडिसकेका छन् । राज्यले नागरिकलाई कुनै सुविधा नै दिँदैन भन्नेमा आक्रोश नै देखिन छाडेको छ । मानौँ राज्यबाट केही नपाउँदा पनि आमनागरिकका लागि यो चासोको विषय बन्न छाडिसकेको छ । सरकारी कार्यालयमा जाँदा ती काम गर्ने कर्मचारीले हामीले तिर्ने करबाट तलब खाने र यसैखाले कामका लागि हामीले कर तिर्ने गरेका हौँ भन्ने पनि नेपालीले बिर्सिसकेको तथ्य हो । प्रायः नेपाली त कर्मचारीले टेबलमुनिबाट दिएको रकम स्वीकारेर थप ‘बार्गेनिङ’ नगर्दा खुसी नै हुन्छ । मानौँ सिंगो राज्यको संरचना आमव्यक्तिका लागि हो भन्ने नेपालीले बिर्सिसके ।
राज्य आमव्यक्तिका लागि धेरै कामयाव नभइरहेको समयमा महानगर बस सुरु भएको छ । एकपटक विदेशी भूमिमा पाइला टेकेको नेपालीमा पनि एक खाले देशप्रतिको निराशा पैदा हुने गरेको छ । नेपालको महानगरमा पनि सामान्य कुराको अभाव भए पनि यो निराशा स्वभाविक नै हो । यसबीचमा आएको यो अवधारणाले धेरैले सकरात्मक रूपमा लिएका छन् । पहिलो दिन नै यसमा धेरै समस्या आयो । धेरै गुनासो पनि सुनिएको छ । तयारीविना बससेवा सुरु भएको प्रष्ट पनि भइसकेको छ । तर, पहिलो दिनको यो घटना नै सबै चिज भने होइन । यसमा सुधार हुन पनि सक्ला । सुधारसहित पूर्वघोषित सबै सुविधा पूरा भयो भने यसले आमनेपालीलाई खुसी दिनेछ । तर, विगतको इतिहास हेर्नेका लागि यो सुविधा कति समयका लागि भन्ने प्रश्न तेर्सिएको छ ।
नेपालमा ट्रलीबस भित्रिएपछि यसले आम व्यक्तिलाई धेरै नै सुविधा दिएको थियो । लामो समयपछि यो सुविधा नेपालीलेले पाउन छाडेका छन् । विदेशीको सहयोगबाट प्राप्त ट्रलीबससमेत नेपालले पूरा गर्न सकेन । नेपालको साझा यातायात पछिल्लोसमय प्रभावकारी हुन छाड्यो । साझा यातायात काठमाडौं उपत्यकाका केही बसमा सीमित भएको छ । हवाई यातायातको कुरा गर्दा नेपाल वायुसेवा निगमले त्यति राम्रो उचाइ छुन सकेन । अन्य संघसंस्थाको कुरा त्यस्तै छ । यो सुविधाजन्य बस नेपालको जनजीवनमा त्यति फड्को मार्ने कुरा त होइन, तथापि सरकारी निकायको सकरात्मक सुरुआत हो । विगतको जस्तो कमजोरी भएर, केही दिनमा नै यो पनि भ्रष्टाचारको अखडा बनेर नसकियोस् । सामान्य नागकिरको चाहना यही हो कि यो व्यवस्थित सुविधा सधैँ उपयोग गर्न सकियोस् ।
प्रतिक्रिया