कसले झ्वाम पा-यो यत्रो रकम ?

काभ्रे, १ चैत । काभ्रेस्थित विभिन्न सहकारी संस्थाका सेयर सदस्यहरूबाट भूकम्पपीडितका लागि भनेर उठाएको करिब १२ लाख रुपैयाँ राहत रकम बेहिसाब बनेको छ । काभ्रेको पनौतीमा करिब ४ महिना अगाडि संकलन गरिएको रकम कहाँ र कहिले कुन ठाउँमा खर्च भयो भन्ने विषयमा जानकारी नपाएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय पनौती नगरपालिकामा अवस्थित ९ वटा सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरूसँग छलफलगरी मिली उठाएको रकमले जस्ता खरिद गरेर वितरण गर्ने भनिएको थियो । तर, हालसम्म कसैलाई पनि जस्ता वितरण नभएपछि स्थानीय सेयर सदस्यहरूले रकम कहाँ गयो भनेर खोज तलास गर्न थालेका हुन् ।

उनीहरूले पनौतीमा रहेका भूकम्पपीडितलाई राहतस्वरूप जस्ता वितरण गर्ने भन्दै स्थानीय सन्ताउन्न केसीको संयोजकत्वमा समिति नै गठन गरेर राहत संकलन गरेका थिए । पनौती नगर सहकारी समन्वय समिति र स्थानीय राजनीति दलको समन्वयमा सहकारीहरूको आर्थिक कारोबारको अवस्था हेरेर रकम संकलन गरेका थिए ।

राहत संकलनका लागि सामुदायिक साकोस पनौती, विन्ध्यवासिनी सहकारी संस्था पनौती, ज्योति मिर्मिरे साकोस पनौती, नवदुर्गा बचत पनौती, गौरी शंकर महिला बचत, लक्ष्मी महिला बचतलगायतका संस्थाको सेयर सदस्यहरूसँग पैसा उठाइएको हो ।

प्रतिक्रिया