लोकतन्त्र कमजोर नपारौँ

लोकतन्त्र मजबुत बनाउन पार्टीहरू मजबुत हुनुपर्छ । जहाँ पार्टीप्रति जनताको भरोसा उठ्छ त्यहीँबाट निरंकुशताको जन्म हुन्छ । त्यसैले भनिन्छ पार्टी बलिया भए भने लोकतन्त्र पनि बलियो हुन्छ । लोकतन्त्रमा जनताको प्रतिनिधित्व पार्टीहरूले गर्छन् भन्ने मान्यता छ । पार्टीहरूप्रति जनताको भरोसा समाप्त भयो भने निराश जनताको भावनामा अन्यले खेल्न पाउँछन् र ‘जनताको चाहना तथा भावना बमोजिम’ भन्दै लोकतन्त्र विरोधि तत्वले गलत फाइदा उठाउन सक्छ । नेपालकै सन्दर्भमा पनि यो कुरा सत्य सावित भइसकेको छ । सांसद खरिदबिक्री, लगातार सरकारको फेरबदल । पार्टीहरूभित्र पनि गुटउपगुट । आफ्नै पार्टीको सरकार आफै गिराउने कारणले पार्टीहरूप्रति जनताको वितृष्णा बढेको । सत्ता लम्ब्याउन, आफ्नो कुर्सी जोगाउन लोकतन्त्रमाथि पटकपटकको बलात्कारका कारण राजाले सत्ता आफ्नो हातमा लिएको नेपालकै इतिहास धेरै पुरानो भएको छैन । वर्तमानलाई हेर्दा पार्टीका नेताहरूले अझै नचेतेको प्रतित हुन्छ । अहिले पनि मुख्य राजनीतिक दलहरू भित्रको आन्तरिक लोकतन्त्र कमजोर छ । एउटै पार्टीभित्र स्थायी प्रकृतिका गुट छन् । ती गुटहरू आपसमा यसरी प्रहार गर्छन कि विरोधि वा शत्रुलाई पनि त्यस्तो प्रहार गरिँदैन । यस्तो प्रकारको अवस्था कांग्रेस, एमाले र एमाओवादीलगायत मधेसवादी भनिने दलहरूमा अझ विशेष छ । यसले लोकतन्त्रमा नजाँनिदो पाराले धमिरा लागेजस्तो भएको छ ।

पार्टीभित्र स्थायी गुट त्यो पार्टीकै लागि घातक हो । लोकतन्त्रमा स्थायी गुटलाई अराजकताबाहेक केही भन्न सकिँदैन । एउटै पार्टीभित्र विभिन्न विचारका नेताहरू हुनुलाई सो पार्टीको गहनाका रूपमा लिइन्छ । तर, पार्टीमा एकपटक छलफल भएर निर्णय भइसकेपछि त्यो पार्टीको विचार हुन्छ । त्यही विचार लिएर हिँड्नु नेतादेखि कार्यकर्तासम्मको कर्तव्य हुन्छ । नेपालका सन्दर्भमा कुनै पनि पार्टीमा यस्तो अभ्यास रहेको पाइँदैन । स्थायी गुटका कारणले नेताहरू स्वार्थी हुन्छन् । पार्टीभित्रको उच्च पद हत्याउन कार्यकर्ता आफ्नो हुनुपर्छ । आफ्ना कार्यकर्ता बनाउन उनीहरूका माग पूरा गरिदिनुपर्ने हुन्छ । यसले कार्यकर्तामा ‘गणेश’ प्रवृतिलाई जन्माउँछ । राम्रा र स्वाभिमानी कार्यकर्ता पाखा लाग्छन् र राम्रोभन्दा हाम्रोले अवसर पाउँछ । असल कार्यकर्तामा वितृष्णा बढ्छ । खराब तत्वले अवसर पाउँदा राम्रो गर्छ भन्ने प्रश्नै उठदैन । यसले जनतामा निराशा ल्याउँछ र अन्त्यमा लोकतन्त्र समाप्तीको बाटोमा जान्छ ।

नेपालका साना–ठूला हरेक पार्टीमा अहिले यस्ता प्रवृत्ति मौलाउन थालेको छ । यो शुभ संकेत होइन । हरेक पार्टीमा ‘हाम्रा’भन्दा ‘राम्रा’ले अवसर पाउने परिपाटीको विकास हुनुपर्छ । पार्टी कमिटीहरूमा एजेन्डा विशेषमा मतविभाजनको स्थिति बन्नुपर्छ । पार्टीहरूबीचको प्रतिष्पर्धा देश विकासका एजेन्डामा हुनुपर्छ । अनि मात्र पार्टीहरू बलिया हुन्छन् र बलिया पार्टीले मात्र लोकतन्त्रको रक्षा गर्न सक्छन् । त्यसैले बेलैमा पार्टीहरूले यसतर्फ सोच्नुपर्छ ।

प्रतिक्रिया