प्रधानमन्त्री केपी शर्मा ओलीले ७ फागुनमा भारत भ्रमण गर्दै छन् । नाकाबन्दी नखुली भारत भ्रमण नगर्ने अडान लिएका कारण प्रधानमन्त्रीको यो भ्रमणलाई सबैले विशेष चासोका साथ हेर्नेछन् । अहिले एक हदसम्म राष्ट्रियताका सवालमा प्रधानमन्त्री ओलीको नाका नखुली भारत नजाने अडान सफल भएको छ । त्यसो त प्रधानमन्त्रीको भ्रमणले द्विपक्षीय राजनीति र कूटनीतिमा विशेष महत्व राख्ने नै छ । नेपालको आन्तरिक राजनीतिमा चासो सधैँ गहिरो चासो राख्ने भारतले नयाँ संविधानको अन्तरवस्तुप्रति असन्तुष्टि जनाउँदै नेपालमाथि ५ महिना लामो अघोषित नाकाबन्दी ग¥यो । असल छिमेकी राष्ट्रको मान्यता तोड्दै भारतले यस्तो कदम चालेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना उत्पन्न भयो । भारतले अघोषित नाकाबन्दी गरेपछि नेपाली जनतामा एकाएक भारतविरोधी भावना पैदा भयो । भारतले नाकाबन्दीजस्तो अमानवीय काम गरेका कारण नेपाली युुवामा भारतप्रति नकारात्मक भावना जागृत भयो । यसलाई नेपाली युवाहरूको स्वाभाविक प्रतिक्रिका रूपमा लिनुपर्दछ ।
नाकाबन्दीका कारण मुलुकले भोग्नुपरेको चरम अभाव र आर्थिक संकटको लेखाजोखा हुन सकेको छैन । इन्धन अभावले सर्वसाधारणको चुलोदेखि अत्यावश्यकीय औषधिसमेत आयात हुन नसक्दा नेपालले भोग्नुपरेको मानवीय संकटबारे विश्वसमुदायले मुख खोल्यो । मुलुकमा आत्मनिर्भरता बढ्न नसक्दा सामान्य दैनिकीसमेत कति कष्टप्रद हुँदोरहेछ भन्ने ज्वलन्त उदाहरण हामीले भोग्यौँ । भारतसँग एकल परनिर्भरता कति पीडादायी बन्यो भन्ने आभाष हरेक नेपाली जनताले महसुस गरेका छन् । अहिले आएर अघोषित रूपमा लगाइएको नाकाबन्दी अघोषित रूपमै हटेको छ । तर, पनि सर्वसाधारण जनता भारतप्रति विश्वस्त हुन सकेको पाइँदैन । भारतले पटकपटक नाकाबन्दीको अस्त्र प्रयोग गरेका कारण नेपाली जनता भारतप्रति विश्वस्त सकिरहेका छैनन् । यो भ्रमणले भारतलाई आफूले अमावनीय गल्ती गरेको महसुस गराउनु सक्नुपर्दछ । यो भ्रमणले नेपालीको शिरलाई उँचो बनाउन सक्नुपर्दछ ।
प्रधानमन्त्रीको भ्रमण कति फलदायी हुने भन्ने कुरा उनले अघि सार्ने एजेन्डा र छलफलमा उनले लिने अडानले निर्धारण गर्नेछ । हाम्रो रोटीबेटीको सम्बन्ध छ भनेर मात्रै समस्या सम्बोधन हुन सक्दैन । जबसम्म व्यावसायिक सम्बन्ध मजबुत रूपमा अघि बढ्न सक्दैन, तबसम्म मुलुकले परनिर्भरता बेहोर्नुपर्दछ । प्रधानमन्त्रीको भारत भ्रमण बहुपक्षीय व्यावसायिक सम्बन्ध बढाउन केन्द्रित हुनुपर्छ । नेपालले नाकाबन्दी बेहोर्नुपर्दा कूटनीतिक रूपमा सम्बन्ध सुधारको प्रयत्न हुन सकेन । ओलीको भ्रमण ग्यास, इन्धनलगायत अत्यावश्यक सामग्रीको सहज आयातका लागि याचनामा सीमित हुनुहुँदैन । रोटीबेटी र सांस्कृतिक सम्बन्ध सुधारका लागि भ्रमण सीमित हुनुहँदैन । नेपालले कृषि, जलविद्युत्लगायत थुप्रै क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने योजना प्रस्तुत गर्नुपर्छ । नेपालको बिजुली भारतमा निर्यात गर्न सकिने प्रशस्त सम्भावना छन् । त्यही कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको बिजुलीले भारतमा उज्यालो दिने प्रसंग उठाएका थिए । प्रधानमन्त्री ओली जलविद्युत् आयोजना समयमै सम्पन्न गर्ने योजना प्रस्तुत गरी व्यावसायिक रूपमा सम्झौता गर्न सक्नुपर्छ । प्रधानमन्त्रीको भ्रमण व्यावहारिक र व्यावसायिक सम्बन्ध विकसित दिशामा केन्द्रित हुनुपर्दछ । केही ऋण र केही सहुलियतको आश्वासन लिनु मात्रै ‘भ्रमणको उपलब्धी’ नबनोस् ।
प्रतिक्रिया