सागको शुभकामना

नेपाली खेलकुद क्षेत्र आसन्न सागमा होमिदै छ । यसमा नेपालको सहभागिता कति ठीक भन्ने प्रश्न त आफ्नो ठाउँमा छ । तर, नेपालले सहभागी हुने निर्णय गरिसक्यो र तयारी अन्तिम चरणमा पुगिसकेको छ । नेपाली टोली तयार भइसकेको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापकको टुंगो लागिसकेको छ । यस बीचमा भएका निर्णय ठीक या बेठीक भन्ने साहस गर्ने समय फेरि आउन सक्छ । अहिले नेपालको चासो सागमा देखाउने साख नै हो । विगतदेखि नै नेपाली खेल क्षेत्रको साख पावर खेलले थुग्दै आएका छन् । यस अर्थमा यस साग खेलमा पनि नेपाली खेलकुदमा पावर खेलका खेलाडीसामु थुप्रै जिम्मेवारी छ । यो जिम्मेवारी खेलाडी, प्रशिक्षक र व्यवस्थापकका लागि छँदै छ । आफ्नो क्यारियरलाई स्वर्णिम बनाउने चुनौती र अवसर दुवै पावर गेमका व्यक्तिका लागि अधिक छ नै ।

करातेको अनुपस्थिति आसन्न सागमा नेपालका लागि घातक हो । तथापि, अन्य खेलका खेलाडीले यसको क्षतिपूर्ति कसरी गर्नेछन्, त्यो प्रतिक्षाको विषय हो । यसै साग खेलले नेपाली समाजमा केही नयाँ छाप छाड्नेछ भन्ने पनि धेरैको अपेक्षा छ । सामान्यतया खेलकुदमा लागेकाहरू आमनेपालीकै वर्गका हुन् । वर्गीय मुद्दाका लागि लामोसमय खर्चिएका हरेकका लागि यो साग खेल यसकारण पनि महत्वपूर्ण छ । ठूला महलमा बस्नेहरू छाडेर सामान्य नेपाली स्टार हुने एउटा अवसर पनि यो साग खेल हो । कठोर दैनन्दिनी र विगत भएकाहरू पनि यस साग खेलमा प्रतिस्पर्धा गर्दैछन् । उनीहरूका लागि यो साख खेल स्वर्णिम बनोस् भन्ने चाहना राख्नु स्वभाविक हो । एक खेल अधिकारीले भनेका थिए, ‘विपन्न र निमुखालाई कम्युनिस्ट म्यानोफास्टो मात्र होइन स्पोर्ट्स साइन्स पनि पढाउनु प¥यो ।’ ती अधिकारीको आशय थियो, कम्युनिस्ट म्यानोफास्टोले विपन्नलाई समान बनाउने कुरा गर्छ, स्पोट्र्स साइन्सले अन्यभन्दा समृद्ध बनाउने गर्छ । यसकारण वर्गीय मुद्दामा अल्झिएको नेपाली समाजका लागि खेलकुदमा राम्रो नतिजाको आवश्यक छ नै । यसमा पनि उपलब्धी भएर पनि पुँजीवादी संस्कारले प्रभावित आजको युग, समाज नासिँदै गएर बजारीकरण भएको अवस्था, यसमा केही खेलाडीको जितले नेपाली समाजको ढाँचा परिवर्तन गर्छ भन्ने विश्वास आम विपन्न वर्गले गर्नै पर्छ ।

सबै खेलकुदमा जित हुनु राम्रो हो । तर, यो प्रतियोगिता नेपाली समाजमा एउटा नायक बनाउने प्रतियोगिता पनि हो । तसर्थ, यस्ता खेलाडीको पक्षमा नतिजा आओस् जसको जीवनयापन, शैली आनीबानी र प्रस्तुति आमनेपालीलले आफ्नो प्रतिनिधित्व महसुस गरुन् । मानवीय संवेदना भएको व्यक्ति होस् । नेपाली समाजमा एउटा मान्यता स्थापित होस्, राम्रो खेलाडी असल मान्छे पनि हुन्छ भन्ने सबैलाई लागोस् । यसले निश्चय पनि खेलकर्मीलाई हेर्ने दृष्टकोणमा परिवर्तन हुन्छ नै । कुन खेलका व्यक्ति असल हुन्छन् भन्ने मापन गर्ने समय नेपालीले १२ वैशाखको भूकम्पपछि महसुस गरेका छन् । सबै नेपाली खेलाडीलाई सागको शुभकामना । मानवीय संवेदना बढी भएका खेलका खेलाडीको सफल नतिजाको पर्खाइमा त आमनेपाली रहेका नै छन् ।

प्रतिक्रिया