लोकतान्त्रिक व्यवहार देखाऊ

तराई–मधेसमा आन्दोलनरत मधेसी मोर्चाले अन्य पार्टीका गतिविधि घोषितरूपमै निषेध गर्ने रणनीति अख्तियार गरेको छ । सोही अनुरूप उसले कांग्रेसको गाउँ र नगर अधिवेशन ठाउँठाउँमा बिथोल्ने प्रयास गरेको छ । एमालेका विद्यार्थीसमेतलाई कोठे बैठक गर्न नदिएर आक्रमणको प्रयास गरेको छ । एमाओवादीको कार्यक्रममा हस्तक्षेप गरेको छ । त्यति मात्र होइन उनीहरूलाई नै समर्थन गर्दै सभा गर्ने नयाँशक्तिको कार्यक्रममा पनि हस्तक्षेप गरेको छ । मधेस केन्द्रित दल बाहेकलाई मधेसमा कार्यक्रम गर्न दिइएको छैन । आफ्ना कुरा राख्नै दिइएको छैन । यस्ता कार्यलाई अतिवादबाहेक केही भन्न सकिँदैन । तर, मोर्चाका नेता, कार्यकर्ता आफूलाई लोकतान्त्रिक भन्न छुटाउँदैनन् । उनीहरूको व्यवहार र बोलाइमा विरोधाभास देखिएको छ । यसलाई किमार्थ राम्रो मान्न सकिँदैन र सभ्य समाजमा यस्ता कार्य पच्दैनन् ।

मधेसमा सञ्चार माध्यमलाई एकतर्फी बनाइएको छ । फरक विचारलाई निषेध मात्र होइन, फरक विचार राख्नेहरूले जनतालाई चाडवाड र विभिन्न अवसरमा दिएका शुभकामनालाई पनि निषेध गरिएको छ । फरक विचार राख्ने राजनीतिक दलका नेताले दिएका शुभकामना प्रकासन, प्रसारण गरे ती सञ्चार माध्यममाथि आक्रमण र तोडफोड गर्ने गरिएको छ । यस्तो कार्य अतिवादीलाई मात्र सुहाउँछन् । राष्ट्र बिखण्डनको कुरा र गतिविधि गर्ने सिके राउतलाई राज्यले कारबाही गर्न खोज्दा अभिव्यक्ति स्ततन्त्रताको चर्को स्वर गर्ने मोर्चाका नेता र मधेसी बुद्धिजीवीहरू मधेसमा फरक विचारलाई निषेध गर्दा सही थापिरहेका छन् । होइन भने कांग्रेसको अधिवेशन बिथोलिँदा, एमालेका विद्यार्थी नेतामाथि आक्रमण हुँदा, बाबुराम भट्टराईको मञ्च जलाइँदा, राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दुव्र्यवहार हुँदा बुद्धिजीवी भनाउँदा सिके लाल, दिपेन्द्र झा, खगेन्द्र संग्रौला किन चुँसम्म बोल्दैनन् । अभिव्यक्ति स्वतन्त्रता मान्छे पिच्छे फरक हुने विषय हो ? अतिवादी व्यवहारले स्वयंलाई सिध्याउँछ भन्ने नबुझेका मान्छे बुद्धिजीवी कहलिएका पक्कै होइनन् होला ।

अतिवादीहरूले फरक विचार आपूm मात्रै सुन्छन् र जनतालाई सुन्न दिदैनन् । जनतालाई उनीहरू आफ्नो विचार र योजना मात्र सुनाउँछन् । उनीहरू जनतालाई एउटै पाठ पढाएर नशाले जस्तो लठ्ठ पारी मर्न र मार्न नडराउने बनाउँछन् । हिजो माओवादीले जनयुद्धका नाममा यस्तै कार्य गरेको थियो । बोकोहराम र तालिवानीहरू यस्तै गर्दै छन् । मधेसी मोर्चाले पनि यही सिकेको हुनुपर्छ । यो सिकाई सबै ठाउँमा गलत सावित भइसकेको छ भन्ने मोर्चाका नेता कार्यकर्ताले किन नबुझेका होलान् । आम मधेसी जनताले जब नेताहरूको यो खेल बुझ्नेछन् त्यतिबेला ‘जिसकी लाठी उसकी सर’ हुनेछ र मोर्चाले यो नियति भोगेर पनि दोहो¥याउँदै छ । पहिलो र दोस्रो मधेस आन्दोलनको रापतापले पहिलो संविधान सभामा खहरे खोला झैं ह्वात्तै बढेको मधेस केन्द्रित दलको सिट संख्या नेताको व्यवहारले गर्दा दोस्रो संविधानसभामा स्वात्तै घटेको छ । दोस्रोमा पनि लाज पचाएर श्रीमती, प्रेमिका र डाक बढाबढबाट सांसद बनाएकाले झन खस्केको उनीहरूको साख अधिकारको आन्दोलनका नाममा उठाउन खोजेको सोझा मधेसीले अहिले नै बुझेका छैनन् । फरक विचारलाई सुन्न दिने हो भने तीनै जनताले आफ्नो शरीरमा एक धरो लगौंटी पनि रहन दिने छैनन् भन्ने नेताहरूले बुझेका छन् । त्योबाहेक अर्को कुनै कारण हुन सक्दैन फरक विचारलाई निषेध गर्ने ।

मोर्चाका नेता यदी मधेसी जनताका हित रक्षाका लागि मधेसी जनतालाई साथमा लिएर लडेका हुन् भने फरक विचारलाई निषेध गर्नै पर्दैन । उनीहरूका माग सही छन् भने मधेसी जनताले सबैका विचार सुनेर स्वयं निर्णय गर्नेछन् । नेताले धेरै उराली रहनै पर्दैन । साच्चै लोकतान्त्रिक हुन् भने जनकपुरको बाह्रविघा मैदानमा एउटै मञ्चमा केपी ओली र राजेन्द्र महतोलाई उभ्याउने काम गर्नु राम्रो हुन्छ । मधेस केन्द्रित दलका कार्यकर्ताभन्दा अन्य दलका कार्यकर्ता मधेसमै कम छैनन् । उनीहरूले सहेका छन्, सहनु कायरता होइन भन्ने स्वयं मधेसी नेता विमलेन्द्र निधीले बताइसकेका छन् । सहनुको पनि सीमा हुन्छ भन्ने कुरालाई मोर्चाका नेताले हेक्का राख्नै पर्छ । त्यसैले सबैले लोकतान्त्रिक चरित्र व्यवहारमा प्रदर्शित गर्नै पर्छ ।

प्रतिक्रिया