वार्ताको विकल्प छैन

मोरङमा यस साता भएको घटनाले नेपालीलाई फेरी एकपटक चिन्तामा डुबाएको छ । घटनाको कारण र घटना हुनुमा कुन पात्रको जिम्मेवारी बढी थियो भन्ने टाढाको प्रश्न हो । घटना दुःखद हो । बारम्बार शान्तिप्रिय र सचेत जिन्दगी बिताउन चाहने नेपालीका लागि यो अर्को मर्माहत हो । अहिलेको पुस्ताले लगातार पाँच वर्ष शान्तिपूर्ण र सहज जिन्दगी बिताउन पाएका छैनन् । हरेक राजनीतिक परिवर्तनपछि शान्तिको आशा गर्ने नेपाली निराश भएका छन् ।

शान्तिपूर्वक जीवनयापन मात्र होइन, नेपालको वर्तमान परिस्थिति अझ केही समय अघि बढे अबको भविष्य के हुने भन्ने चिन्ता त छँदै छ । असोजदेखि हालसम्मको अवस्थाले नेपालको अर्थतन्त्र तहसनहस भइसक्यो भन्नेमा कसैको विमती रहने छैन । वर्षको सुरुआतमा गएको भूकम्पका कारण नौ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाए । यति मात्र भूकम्पको प्रभाव होइन । जनजीवनमा पारेको असर त छँदै छ । देशको आर्थिक अवस्था तहसनहस छ । लगातारको राजनीतिक अस्थिरता, दैवी विपत्ती, कुशासन र विद्रोहको पर्याय बनेको नेपालमा पछिल्लोसमय सरकार र विद्रोही पक्षको वार्ता हुने समाचारले धेरैलाई खुसी तुल्याएको थियो । धेरैले भूकम्पका कारण उत्पन्न मानसिक सन्त्रास बिर्सिए । धेरै नेपालीले यस बीचमा इन्धन र ग्यास अभावको कारण उत्पन्न समस्या पनि बिर्सिए । सबै नेपाली अब केही दिनमा नै सम्पूर्ण समस्याको समाधान हुने आशा र विश्वास राखेका थिए । यही आशा र विश्वासबीच नेपालीले फेरी एकपटक शान्तिपूर्वक जीवन र सुखद भविष्यको परिकल्पना गर्न थालिसकेका थिए । यसै बीचमा रंगेली घटना भयो । रंगेलीको घटनाले एकातिर शान्ति सुरक्षा र शान्तिपूर्वक बाच्न पाउने अधिकार नेपालीले फेरी गुमाएको महसुस भएको छ । लामो समयदेखिको अघोषित नाकाबन्दी खुल्ने र जनजीवन सामान्य बन्ने अपेक्षा धेरैको थियो । फेरी एकपटक सबैको आशा गुमेको छ । निराशा बढाएको छ । यस्तो अवस्था अब कति दिन सहने ? भन्ने प्रश्न उठन् थालेको छ । आमव्यक्तिको बसमा यतिखेर सही कुराको चाहना राख्नुबाहेक केही पनि छैन । नेपालीले अहिले चाहने यति मात्र हो कि जनजीवन सहज बनोस् ।

संविधानमा संशोधन भएपछि फेरी वार्ता र समस्याको समाधान हुनेमा आमनागरिक आशावादी हुनु स्वाभाविक हो । यस बीचमा कसैले कसैलाई हिलो छ्याप्ने कामभन्दा पनि बढी समस्याको समाधान उन्मुख हुनुको विकल्प त छँदै छैन । आमनेपालीको चाहना छ, फेरी एकपटक देशमा शान्ति छाओस्, जनजीवन सामान्य बनोस् र निर्धक्क बाँच्न पाइयोस् । योभन्दा बढी प्राथमिकता अन्य केही हुन सक्दैन । विगत जे भए पनि त्यसबाट पाठ सिक्ने हो । विगत फर्केर आउँदा पनि आउँदैन । यसकारण सरकार र तराईमा आन्दोलत पक्षसँग आमनेपालीले वार्ता र समस्याको समाधान बाहेक अर्को अपेक्षा राख्न सक्दैनन् ।

प्रतिक्रिया